सोसल मिडिया
Contact Us
युनिकोड
बाजुरा । बाजुराको बडीमालिका नगरपालिकामा विभिन्न कार्यक्रम गर्दै लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान समापन गरिएको छ । परम्परागत संस्कृति झल्किने देउडासहित कार्यक्रम समापन गरिएको हो । नगरपालिकाको महिला बालबालिका शाखाको आयोजना तथा विभिन्न सहयोगी संस्थाको सहयोग तथा संयुक्त साझेदारीमा विविध कार्यक्रम सञ्चालन गर्दै लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान बुधबार सम्पन्न गरिएको हो । अभियान समापनका साथै बडीमालिका नगरपालिकाको वडा.नम्बर ८ लाई छाउपडी गोठमुक्त वडा घोषणा समेत गरिएको छ । बडीमालिका नगरपालिकाले पालिका भित्र रहेका ६ वटा वडालाई यसअघि नै छाउपडी गोठमुक्त वडा घोषणा गरिसकेको छ । बाँकी रहेका १, ७ र ८ नम्वर वडालाई यस आर्थिक बर्षभित्र छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी अनुसार ८ नम्बर वडालाई बुधबार एक कार्यक्रमका बिच छाउपडी गोठमुक्त वडा घोषणा गरिएको हो । यो आर्थिक वर्ष भित्र बाँकी रहेका वडालाई छाउगोठ मुक्त बनाउने अभियान अनुसार ८ नम्वर वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको नगर उप–प्रमुख नन्दा कुमारी थापाले बताएकी छन् । समाजमा व्याप्त कु–प्रथाका रुपमा रहेको छाउपडी प्रथा अन्त्य गर्नका लागी नगरपालिकाले थालेको तीब्र अभियान स्वरुप ८ नम्वर वडालाई सफल रुपमा छाउपडी गोठमुक्त वडा घोषणा गर्न सफल भएको बताएकी छन् । बाँकी रहेका वडामा महिनावारी भएका बेला बस्नका लागि बनाइएका छाउ गोठहरुलाई तत्काल भत्काएर घरभित्रै सुरक्षित तरिकाले बस्न र बसाउनका लागि घरपरिवारलाई सुझाव दिँदै आएको उप–प्रमुख थापाको भनाइ छ । उनका अनुसार,पालिकाको बडीमालिका ७ मा छाउपडी प्रथा बढी रहेको भए पनि अहिले तुलनात्मक रुपमा कमी आएको उनको भनाइ छ । अब बाँकी रहेका वडालाई तत्काल छाउपडी गोठमुक्त वडा घोषणा गरिने उप–प्रमुख थापाले बताइन् । समाजमा जरो गाडेर बसेको छाउपडी प्रथालाई समाजबाटै निर्मुल गर्न आवश्यक रहेको बताउँदै उप–प्रमुख थापाले गोठलाई मात्रै नियन्त्रण गरी छाउपडी प्रथा अन्त्य नहुने भएकोले सम्पूर्ण महिलाहरु शिक्षित र छाउपडी सम्बन्धी जनचेतना फैलाउन आवश्यक रहेको बताइन् । लैङ्गकि हिंसाविरुद्धको १६ दिने अभियान समापन तथा छाउपडी गोठमुक्त कार्यक्रममा लैङ्गकि हिंसा तथा छाउपडी सम्बन्धी बृहत् देउडा कार्यक्रम गरिएको हो । साथै बालविवाह कु–संस्कार,कुरीतिलगायत विपद् जोखिम न्यूनीकरण सम्बन्धी कार्यक्रमहरु पनि सञ्चालन गरिएका थिए । बृहत देउडा प्रतियोगितामा विभिन्न वडाबाट सहभागी महिला समूहहरुबाट छाउपडी,छुवाछुत, कु–संस्कार, कुरिती तथा लैङ्गकि हिंसा बारे देउडामार्फत सवाल–जवाफ गरिएको थियो । देउडा प्रतियोगिताले परम्परागत संस्कृतिको जेगेर्ना संगै लैङ्गकि हिंसा, छुवाछुत तथा छाउपडी प्रथा न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । देउडा प्रतियोगितामा सहभागी ८ टिमहरुलाई उचित पुरस्कारसहित सम्मानित गरिएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान यसबर्ष ‘प्रविधिको सही प्रयोग गरौ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ मनाईएको हो ।