सोसल मिडिया
Contact Us
युनिकोड
तिखिदेवल (ललितपुर) । प्रि मनोपज (रजनोवृत्ति अघि ) र मेनोपज (रजनोवृत्ति)पछि महिलामा स्वास्थ्य समस्या देखिने भएकाले खानपान र जीवनशैलीमा विशेष ध्यान पुर्याउन विज्ञहरुले सुझाव दिएका छन् । ललितपुर महानगर १४ नं. वडाको वडास्तरीय महिला सञ्जालले आयोजना गरेको मेनोपज सम्बन्धी स्वास्थ्य सचेतना कार्यक्रममा विज्ञहरूले उक्त सुझाव दिएका हुन् । ललितपुर महानगर वडा नं. १४ का वडाअध्यक्ष अमृत जंग महतले स्वास्थ्यमा लगानी गर्नु भनेको कमाई गर्नु सरह भएको बताउँदै महिला स्वास्थ्यलाई वडाले प्राथमिकतामा राखेको बताए । उनले भने, ‘पछिल्लो समयमा महिला दिदीबिहनीमा स्वास्थ्य सचेतना केही बढेको छ, त्यो राम्रो कुरा हो ।’ वडाअध्यक्ष महतले आफ्नो स्वास्थ्य र खानपिन र जीवनशैलीलाई महिलाले प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । मेनोपेज अघि र मेनोपजपछि स्वास्थ्यमा विभिन्न समस्या देखिने बताउँदै त्यसको निकारणका लागि विज्ञसहित कार्यक्रम वडाले तय गरेको उनले बताए । डा. विहानी सन्ज्यालले प्रि मेनोपज र मेनोपजका बेलामा महिलाहरुले खानपिन, जीवनशैलीलाई विशेष ध्यान दिनुपर्ने बताइन् । उनले भनिन् ‘इस्ट्रोजन हर्मोनको कमिका कारण विभिन्न समस्याहरु देखिन्छन्, ती समस्या समाधान गर्नका लागि खानपिन र जीवनशैलीलाई ध्यान दिनुपर्छ ।’ समस्या समस्यालाई खानपिन र जीवनशैलीबाटै सम्बोधन गर्न सकिने बताउँदै धेरै समस्या भएन हर्मोनलाई औषधिको रुपमा नियमित खानुपर्ने बताइन् । उनका अनुसार माछा, कुरिलो, आलस हरियो सागसब्जीले प्रि मनोपज र मनोपजका बेलादेखि समस्या निकारण गर्न सहयोग गर्छ । उनले भनिन् ‘तातो र सजिलै पच्ने खानेकुरा खानुपर्छ, जसले तागत दिन्छ, ती खानेकुरा खानुपर्छ ।’ डा. विहानी सन्ज्यालले मनोपज, र प्रि मनोपजमा महिलामा देखिने परिवर्तनलाई परिवारले बुझ्नुपर्ने बताइन् ।
महिलाहरूमा यो बेलामा देखिने समस्या बुझ्नेको लागि ती महिलाको श्रीमानको भूमिका महत्वपूर्ण हुने बताइन् । १२ महिनासम्मा महिनावारी भएन भने त्यसलाई मेनोपज भनिन्छ । दुई तीन महिनासम्म महिनावारी नहुने त्यसपछि रगतका सामान्य छिटाहरु देखिए त्यसलाई महिनावरी भन्न नमिल्ने महिलाहरु बताउँछन् । नेपालको सन्दर्भमा सामान्यतया मेनोपज ४५ देखि ५० वर्षको उमेर समूहका महिलामा हुने गर्छ । तर, कतिपय अवस्थामा यो व्यक्तिपिच्छे, उसको हुकाई र भूगोल, खानपिन र वातावरण अनुसार समेत फरक पर्छ । मेनोपज र प्रि मनोपजको बेलामा मन आत्तिने, पसिना आउने, मन खुशी नहुने, पीडा बोध हुने , मुटुको धड्कन बढेको अनुभूति हुने, योनी सुख्खा हुने, यौन सम्पर्कमा मन नहुने जस्ता लक्षणहरु देखा पर्छन् । स्वतिक अस्पतालका व्यवस्थापक तथा स्वास्थ्यकर्मी मोनिका घिमिरेले सकारात्मक सोच धेरै समस्याको औषधि भएको बताउँदै सकारात्मक बन्न अनुरोध गरिन् । परिवार, समाज र घरलाई सधै समय समय छुट्याउने महिलाले आफ्नो लागि समेत दिनको एक घण्टा छुट्याउनु पर्ने धारणा राखिन् । योग र ध्यानले मेनोपज र प्रि मेनोपजमा देखिने लक्षण र समस्यालाइ घटाउन सहयोग गर्ने बताउँदै योग र ध्यानलाई आफ्नो दिनचर्या बनाउन अनुरोध गरिन् । वडास्तरीय महिला संजालकी संयोजक एवम् वडा नं. १४ की वडासदस्य सहनशीला कार्कीले प्रि मेनोपज र मनोपजका बेलादेखि स्वास्थ्य समस्याका कारण महिलाको स्वास्थ्यमा दीर्घकालीन असर पर्ने बताइन् । वडाकार्यालयले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै उनले भनिन्, ‘ हामी महिला स्वास्थ्यप्रति संवेदनशील छौं, त्यसैले महिला स्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्यक्रम आयोजना गर्छौ ।’ मनोपज र प्रि मेनोपजका बारेमा पुरुषहरुले बुझ्नु अत्यावश्यक भएको बताउँदै यस्ता कार्यक्रममा पुरुषको सहभागितालाई वडाले सधैं प्रेरित गर्ने धारणा राखिन् । कार्यक्रममा वडा सदस्य संगिता आछामी, वडासचिव सुलोचना लुइटेललगायतको उपस्थिति रहेको थियो ।