सोसल मिडिया
Contact Us
युनिकोड
धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २३ नं. वडा कार्यालय धापाखेलले आज शुक्रबार उपभोक्ता समितिका पदाधिकारीहरूलाई क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । विकासे कार्यहरू उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्ने प्रचलन रहेको सन्दर्भमा उपभोक्ता समितिका पदाधिकारीहरूलाई पारदर्शिता, जवाफदेहिता, परियोजना व्यवस्थापन, लेखा प्रणालीको ज्ञान जरुरी भएकाले ललितपुर महानगरपालिका २३ नं. वडा कार्यालयले “उपभोक्ता समितिका पदाधिकारीहरूको क्षमता अभिवृद्धि’’ १ दिवसिय कार्यक्रम सम्पन्न गरेको हो । वडाअध्यक्ष जीवन महर्जनले व्यानर पढेर क्षमता अभिबृद्धि कार्यक्रमको उद्घाटन गरे । वडा कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा उपभोक्ता समितिका पदाधिकारीहरूलाई योजना निर्माण, कार्यान्वयन, वित्तीय व्यवस्थापन, पारदर्शिता र अनुगमन प्रणाली सम्बन्धी आवश्यक ज्ञान र सीप प्रदान गरिएको थियो । यस्तै उपभोक्ता समितिको गठन प्रक्रिया, भूमिका र जिम्मेवारी स्पष्ट पारिनुका साथै परियोजना कार्यान्वयनमा आवश्यक लेखा प्रणाली र बजेट व्यवस्थापनबारे ज्ञान, सार्वजनिक लेखा परीक्षण तथा अनुगमन प्रणालीमा जोड, सहभागीहरूबीच अनुभव आदान प्रदान र व्यवहारिक छलफललाई प्रोत्साहन गरिएको थियो । विभिन्न उपभोक्ता समितिका अध्यक्षसहितका पदाधिकारीहरू, गुठीका पदाधिकारी गरी करिब ४० जना सहभागीहरूलाई लेखा तथा बजेट व्यवस्थापनका बारेमा महानगरका सार्वजनिक निर्माण महाशाखाका अधिकृत केशवप्रसाद अर्याल तथा वित्तिय व्यवस्थापन शाखाका अधिकृत भविष्य अर्यालले विज्ञका रुपमा सहभागीहरूलाई उपभोक्ता हक अधिकारलगायतका विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा वडाअध्यक्ष जीवन महर्जनले वडा कार्यालयले अघिल्लो वर्ष पनि यस्तै कार्यक्रम गरेको स्मरण गर्दै यो वर्ष कार्यक्रम तथा योजना सुरु हुनु अगावै उपभोक्ता समितिका पदाधिकारीहरूलाई योजना कार्यान्वयन गर्दा अपनाउनु पर्ने सतर्कताका बारेमा सचेत गराउन कार्यक्रम आयोजना गरिएको जानकारी दिए । कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्दै वडासदस्य राजनमल्ल ठकुरीले उपभोक्ता समितिका पदाधिकारीहरूलाई योजना कार्यान्वयन गर्दा आइपर्ने समस्याका बारेमा अवगत गराउन तथा समाधानको उपाय खोज्नका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिए । वडा कार्यालयका कर्मचारी मनिष विष्टले सञ्चालन गरेको कार्यक्रममा वडासदस्य किरण खड्का, वडासचिव हुमनाथ पौडेल, वडाका प्राविधिक सुमित विष्टसहितका कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो ।