सोसल मिडिया
Contact Us
युनिकोड
स्वतन्त्रता मानव सभ्यताको आधार, नागरिक अधिकार, मानव डिग्निटी, न्याय र लोकतन्त्रको मूल संरचना हो । यसको सदुपयोगले समाजमा मेलमिलाप, सहजीवन, सहअस्तित्व र मानव मूल्यको संरक्षण सुनिश्चित गर्छ । तारानाथ दाहाल वरिष्ठ पत्रकार
मुख्य रूपमा, स्वतन्त्रताको बारेमा नेपाली समाजमा बुझाइ अझै स्पष्ट छैन । धेरैजसो मान्छेले स्वतन्त्रतालाई केवल स्वच्छन्दता वा अराजकता जस्तो बुझ्ने प्रवृत्ति देखाउँछन् । कतिपयले यसलाई नकरात्मक अर्थमा पनि प्रयोग गर्छन–‘ए, यसलाई त स्वतन्त्रता बढी भयो’ भन्ने जस्तो । तर वास्तविकता यो होइन, स्वतन्त्रता जहिले पनि डिग्निटी र स्वाभिमानसँग जोडिएको हुन्छ र यसका केही मूल्य र सीमा हुन्छन् । नेपालको संविधानले स्वतन्त्रताको हक अन्तर्गत छ वटा आधारभूत विषयलाई संरक्षण गरेको छ । यी आधारभूत स्वतन्त्रताहरूलाई बुझ्न आवश्यक छ, ताकि हामी यसलाई सही रूपमा प्रयोग गर्न सकौँ । स्वतन्त्रता केवल अधिकार मात्र होइन, यसको सिमाभित्र पनि जिम्मेवारी छ । हाम्रो संवैधानिक विकासक्रमको हिसाबले स्वतन्त्रताका मूल्यहरूलाई नेपाली समाजले अंगीकार गरेको छ । पहिलो, स्वतन्त्रता भनेको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता हो । यसले मानिसलाई आफ्ना विचार प्रकट गर्ने, लेख्ने, बोल्ने अधिकार दिन्छ । यसका लागि कानूनले पनि सुरक्षा प्रदान गरेको छ । विचार अभिव्यक्त गर्दा कुनैपनि व्यक्ति दमनमा नपर्नुपर्ने कानुनी संरक्षण यसमा समावेश छ । दोस्रो स्वतन्त्रता भनेको संगठन गर्ने स्वतन्त्रता हो । मानिसले आफूलाई मनपर्ने संघसंस्था, समूह वा समुदायमा आबद्ध हुनसक्ने अधिकार पाउँछ । यसले समाजमा विचार र आवश्यकताहरूको प्रतिनिधित्व सुनिश्चित गर्दछ । तेस्रो, स्वतन्त्रता भनेको राजनीतिक दल खोल्ने स्वतन्त्रता पनि हो । मानिसहरूले राजनीतिक दलमा आबद्ध भएर शासन सञ्चालनमा सहभागी हुन सक्छन् । यसबाट उनीहरूको राजनीतिक आवाजले कानुनी रूपमा मान्यता पाउँछ र लोकतान्त्रिक प्रक्रिया सुदृढ हुन्छ । चौथो स्वतन्त्रता भनेको पेशा व्यवसाय गर्ने स्वतन्त्रता हो । मानिसलाई आफ्नो रुचि, क्षमता र सिमाभित्र समाजमा पेशा वा व्यवसाय गर्ने अधिकार दिइएको छ । यसले व्यक्तिगत विकास र आर्थिक स्वतन्त्रता सुनिश्चित गर्छ । पाँचौं, स्वतन्त्रता भनेको घुमफिर गर्ने स्वतन्त्रता हो । नेपाली नागरिकको रूपमा देशभर स्वतन्त्र रूपमा आवतजावत गर्न सक्ने अधिकार यसमा पर्दछ । ताप्लेजुङदेखि दार्चुला, महेन्द्रनगरदेखि झापा, सबै स्थानमा समान अधिकार सुनिश्चित हुन्छ र छैठौं स्वतन्त्रता भनेको भेला हुन र सामूहिक रूपमा अभिव्यक्त हुन पाउने स्वतन्त्रता हो । जसले मानिसलाई प्रदर्शन, सभा, छलफल, र विचार आदानप्रदानको कानुनी अधिकार दिएको हुन्छ । यी छ वटा आधारभूत स्वतन्त्रता सँगसँगै राजनीतिक, सांस्कृतिक र व्यक्तिगत स्वतन्त्रता पनि अविभाज्य रूपमा जोडिएको छ । स्वतन्त्रता केवल अधिकार मात्र नभई जिम्मेवारी पनि हो । यसलाई सही उपयोग गरे समाज रुपान्तरण र विकासमा योगदान पुर्याउन सक्छ । स्वतन्त्रताको सही बुझाइ र प्रयोगले मात्र नेपाली समाजमा स्थायित्व, न्याय र समृद्धि सुनिश्चित छ । नागरिकले आफ्नो अधिकारको सदुपयोग गर्दै अरूको स्वतन्त्रता सम्मान गर्नुपर्छ । यही आधारभूत मूल्य र जिम्मेवारी बुझ्दा मात्रै लोकतन्त्रको वास्तविक अर्थ कायम रहन्छ । मानिसलाई आफ्नो भाषा, धर्म, संस्कृति, भेषभूषा र चालचलनको अंगीकार गर्न पाउने, त्यसलाई प्रवद्र्धन गर्न पाउने अधिकार सांस्कृतिक स्वतन्त्रता अन्तर्गत पर्छ । यसले व्यक्तिलाई आफ्नो पहिचानको संरक्षण र सम्मान गर्ने अवसर दिन्छ । शिक्षा ग्रहण गर्ने स्वतन्त्रता पनि यसकै सन्दर्भमा महत्वपूर्ण छ । यसको साथसाथै आर्थिक स्वतन्त्रता पनि आवश्यक छ । आर्थिक स्वतन्त्रताले मानिसलाई सम्पत्तिको अधिकार सुनिश्चित गर्दछ । कुनै समाजमा सम्पत्तिको अधिकार सुरक्षित नभएमा त्यहाँ आर्थिक स्वतन्त्रता हुँदैन । मानिसले आफ्नो लगानी, पुँजी परिचालन, व्यवसाय सञ्चालन, घरजग्गा जोड्ने, आर्जन गरेको सम्पत्ति प्रयोग गर्ने अधिकार पाउँछ । यसमा राज्यलाई कर तिर्ने जिम्मेवारी पनि जोडिएको हुन्छ । आर्थिक स्वतन्त्रता बिना मानिसको वास्तविक स्वतन्त्रता अधुरो हुन्छ । तेस्रो महत्वपूर्ण स्वतन्त्रता भनेको सामाजिक स्वतन्त्रता हो । समाजको सदस्यको रूपमा मानिसले आफूलाई अभिव्यक्त गर्न, समूहमा भाग लिन, र सामूहिक रूपमा सहजीवनमा संलग्न हुन पाउँछ । मुख्य रूपमा आजको नेपाली समाजमा बढी चर्चा हुने स्वतन्त्रता तीनवटा छन् । आर्थिक, राजनीतिक र सांस्कृतिक स्वतन्त्रता । सँगसँगै, समाजका स्वरूपहरू फरक–फरक हुन्छन् । डिजिटल समाज होस् वा परम्परागत जातीय, भाषिक, धार्मिक समाज होस, प्रत्येक व्यक्तिलाई स्वतन्त्रता अनुभूति गर्न पाउनु आवश्यक छ । अधिनायकवादी वा अथोरिटेरियन देशमा व्यक्तिको सार्वभौम अधिकार र स्वतन्त्रता सीमित हुन्छ । त्यहाँ दल खोल्न, संगठन बनाउने, प्रेस सञ्चालन, लेखन, कला, संगीत, नाटक, फिल्म बनाउने अधिकार सीमित हुन्छ । लोकतान्त्रिक राज्यहरूले भने स्वतन्त्रतालाई अत्यन्त महत्त्वपूर्ण मूल्यको रूपमा जगेर्ना र प्रवद्र्धन गर्छन् । तर स्वतन्त्रता सदैव सीमासहित व्यवस्थित हुन्छ । मानवअधिकारको सार्वभौम घोषणापत्र, नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अनुबन्ध, र नेपालको संविधानले स्वतन्त्रताको सीमा तय गरेका छन् । सीमासहितको स्वतन्त्रताले नै समाजलाई सुव्यवस्थित र अनुशासित राख्न मद्दत गर्छ । सिमारहित स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता हो र त्यसैले स्वतन्त्रता केवल व्यक्तिको अधिकार मात्र नभई उसको आत्मसम्मानसँग जोडिएको विषय पनि हो । स्वतन्त्रता भनेको आफ्नो स्वाभिमानसँगै अर्काको आत्मसम्मानको रक्षा गर्नु पनि हो । मैंले मेरो अधिकार प्रयोग गर्दा अर्काको डिग्निटी र सम्मानमा हस्तक्षेप गर्नु हुँदैन । यसको सुनिश्चितता कानुन, संविधान र सामाजिक मूल्यहरूले गर्छन् ।
नेपाली समाजको क्यारेक्टरलाई हेर्दा देखिन्छ कि हाम्रो समाज बहुलवादी र सहजीवनमा आधारित छ । हामी एकअर्कालाई, भाषा, जाति–धर्मलाई सम्मान गर्ने परम्परा राख्छौं । त्यसैगरी, नेपाली समाजमा धार्मिक कट्टरताका कारण स्वतन्त्रताको प्रयोगमा ठूलो बाधा छैन । हिन्दू र बौद्ध परम्परामा आधारित हाम्रो समाज उदारवादी, लिबरल, सहअस्तित्व र सहजीवनको मूल्यलाई आत्मसात गर्दै आएको छ । स्वतन्त्रतासँगै मानवअधिकार र लोकतान्त्रिक मूल्यहरूको सम्मान गर्नु आवश्यक छ । स्वतन्त्रताको प्रयोग सापेक्षिक छ । कुनै कुरा कसैलाई स्वच्छन्द लाग्न सक्छ भने अर्कोलाई अनुशासनहीन देखिनसक्छ । त्यसैले स्वतन्त्रताको अभ्यास गर्दा अरुको हानी, झुटो अफवाह, घृणा वा अपमानजनक व्यवहार नगर्नु जरुरी हुन्छ । अरूको आत्मसम्मानमा चोट पुर्याउने क्रियाकलाप स्वतन्त्रताको दुरुपयोग हो । सारांशमा भन्नुपर्दा, स्वतन्त्रता केवल अधिकार मात्र होइन, जिम्मेवारी पनि हो । आर्थिक, राजनीतिक, सांस्कृतिक र सामाजिक स्वतन्त्रताको संयोजनले समाजमा स्थायित्व, न्याय र समृद्धि सुनिश्चित गर्छ । नागरिकले आफ्नो अधिकारको सदुपयोग गर्दै अरूको स्वतन्त्रता सम्मान गर्दा मात्र लोकतन्त्रको वास्तविक मूल्य कायम रहन्छ । नेपालका आठवटा संविधान हेर्दा, स्वतन्त्रताको सीमा र नियमहरू संविधानले नै निर्धारण गरेको देखिन्छ । संविधान बनाएर सुनिश्चित गरिएका नियम र कानुनहरूको पालना नगरेको खण्डमा कार्य दण्डनीय हुन्छ । त्यसका लागि स्वतन्त्र न्यायालयको भूमिका महत्त्वपूर्ण हुन्छ । स्वतन्त्र न्यायालयले सिद्धान्त, नजिर र व्याख्याबाट स्वतन्त्रताको सिमालाई स्पष्ट गर्दै आएको छ । यसैले, स्वतन्त्रता बिना कानुनको अवधारणा पूर्ण हुँदैन । यहाँ माथि उल्लेख गरिएका ६ वटा आधारभूत स्वतन्त्रताहरूको अभ्यास कानुन, नियम र अन्तर्राष्ट्रिय मान्यताहरूको सिमाभित्र हुनुपर्छ । अन्तर्राष्ट्रिय मूल्य मान्यतामा धारा १९ ले विचार तथा अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित गरेको छ । तर, त्यहाँ पनि हेट स्पीच, हिंसा उत्पन्न गर्ने अभिव्यक्ति वा अरुको हानि गर्ने क्रियाकलापलाई अनुमति दिइँदैन । कानुनले यसलाई नियन्त्रण गर्ने साधन हो । यदि नियम र कानुन नहुँदा स्वतन्त्रताको दुरुपयोग हुने खतरा बढ्छ । स्वतन्त्रता सधैं सीमासहित हुन्छ । सीमासहितको स्वतन्त्रता नै समाजमा अनुशासन, सुव्यवस्था र सहजीवनको आधार तयार गर्छ । सीमारहित स्वतन्त्रता भनेको स्वच्छन्दता, अराजकता र सामाजिक अस्थिरता हो । स्वतन्त्रता केवल व्यक्तिगत स्वाभिमानको मात्र कुरा होइन, अरुको आत्मसम्मानको रक्षा पनि गर्नु पर्छ । मानव सभ्यता र नेपाली समाजको चरित्रलाई हेर्दा, हाम्रो समाज बहुलवादी, उदारवादी र सहजीवनमा आधारित छ । हामी एकअर्कालाई, भाषालाई, जाति–धर्मलाई र विविध सांस्कृतिक अभ्यासलाई सम्मान गर्दै आएका छौँ । धार्मिक कट्टरताका कारण स्वतन्त्रताको अभ्यासमा ठूलो बाधा छैन । हिन्दू र बौद्ध परम्परामा आधारित नेपाली समाजमा नागरिक स्वतन्त्रता र मानवअधिकारको मूल्य उच्च छ । स्वतन्त्रताको अभ्यास सापेक्षिक हुन्छ । केही कुरालाई कसैले स्वच्छन्द ठान्छ, कसैले अनुशासनहीन । त्यसैले स्वतन्त्रताको अभ्यास गर्दा अरुको हानि नगर्नु आवश्यक हुन्छ । झूटो अफवाह, घृणा, व्यक्तिगत वा सामुदायिक अपमानजनक क्रियाकलाप स्वतन्त्रताको दुरुपयोग हो । यसै सन्दर्भमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक स्वतन्त्रता एकैसाथ महत्त्वपूर्ण हुन्छन् । आर्थिक स्वतन्त्रता भनेको सम्पत्ति हक सुरक्षित हुनु, लगानी, व्यवसाय, आर्जन, कर तिर्ने र उपयोग गर्ने अधिकार हुनु हो । राजनीतिक स्वतन्त्रता भनेको दल खोल्ने, चुनावमा भाग लिन, राजनीतिक परिवर्तनमा सहभागी हुन पाउनु हो । सामाजिक स्वतन्त्रता भनेको समुदायमा अभिव्यक्ति, सहजीवन र सामूहिक क्रियाकलापमा सहभागिता जनाउन पाउनु हो । सांस्कृतिक स्वतन्त्रता भनेको भाषाको, धर्मको, परम्पराको, कला–सांस्कृतिक अभिव्यक्तिको अधिकार हो । इतिहासले देखाएको छ कि अधिनायकवादी राज्यहरूले स्वतन्त्रतालाई नकारात्मक रूपमा नियन्त्रण गर्छन् । त्यस्तो अवस्थामा प्रेस स्वतन्त्रता, लेखन, कला, संगठन, प्रदर्शन आदि सबै प्रतिबन्धित हुन्छन् । अन्ततः स्वतन्त्रता मानव सभ्यताको आधार, नागरिक अधिकार, मानव डिग्निटी, न्याय र लोकतन्त्रको मूल संरचना हो । यसको सदुपयोगले समाजमा मेलमिलाप, सहजीवन, सहअस्तित्व र मानव मूल्यको संरक्षण सुनिश्चित गर्छ । यही कारणले स्वतन्त्रता दिवस संसारभरि, र विशेषगरी नयाँ पुस्तालाई लोकतन्त्र र स्वतन्त्रताको महत्त्व बुझाउन मनाइन्छ । (वरिष्ठ पत्रकार तारानाथ दाहालसँग नेपाल न्यूज बैंकले गरेको कुराकानीमा आधारित)