Dashain Banner
Dashain Banner

मोन्था चक्रवातले ‘भारी वर्षा गराउन सक्ने’ 

मंगलबार, कात्तिक ११, २०८२

काठमाडौं । अरब सागर हुँदै नेपालको पश्चिमी क्षेत्रबाट प्रवेश गरेको वायुले पश्चिमी क्षेत्रमा हिमपात गराइरहँदा बङ्गालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातले नेपालका पूर्वी र पूर्वी तराई क्षेत्रमा निम्त्याउन सक्ने वर्षाबारे निगरानी भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मङ्गलवारबाट वर्षा गराइरहेको मौसमी प्रणाली चाहिँ अरब सागरबाट भारतको गुजरात हुँदै पश्चिमी क्षेत्रबाट नेपाल भित्रिएको हो । अरब सागरमा बनेको न्यूनचापीय प्रणालीले निम्त्याएको वर्षा र हिमपातका कारण गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा भारी हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले उक्त क्षेत्रमा यात्रा नगर्न भनेको छ । विभिन्न जिल्लाका प्रशासन कार्यालयले पनि जोखिमयुक्त ठाउँमा पदयात्रा नगर्न र सुरक्षित स्थानमा बस्न आग्रह गर्दै सूचना जारी गरेका छन् । नेपाल पर्वतारोहण सङ्घले उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा अत्यधिक हिमपात भइरहेका कारण आरोहण दल तथा पदयात्रीहरूलाई सुरक्षित स्थानमा रहन सचेत गराएको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै ‘उक्त क्षेत्रमा रहेका आरोहण दल तथा पदयात्रीहरूलाई उच्च हिमाली क्षेत्रहरूमा नजान तथा पासहरू पार नगर्न’ भनेको छ ।
सगरमाथा क्षेत्रमा मङ्गलवार बिहानैदेखि बाक्लो हिमपात भएको र नाम्चेबजार तथा आसपासका तल्लो क्षेत्रमा वर्षा भएको छ । ‘दिङ्बोचेभन्दा माथि बाक्लो हिउँ परेको छ, तल्लो क्षेत्रमा वर्षा भइरहेको छ, पर्यटकहरू सबै होटलभित्रै छन् । बाहिर निस्कन सम्भव छैन,’ सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले भने । प्रतिकूल मौसमका कारण मङ्गलवार हवाई सेवा केही प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कम भएकाले आन्तरिक र अन्तर्राष्ट्रिय उडानको समय तालिकामा प्रभाव परेको हो । पहाडी र तराई क्षेत्रहरूमा वर्षा भए पनि मङ्गलवार र बुधवार हुने वर्षाले उल्लेख्य क्षति भने नगराउने पूर्वानुमान अधिकारीहरूको छ ।

मोन्था चक्रवातको असर
अरब सागरबाट विकसित मौसमी प्रणाली निष्क्रिय हुँदै गर्दा नेपालमा बिहीवारबाट पूर्वी तराई हुँदै अर्को मौसमी प्रणाली प्रवेश गर्ने पूर्वानुमान छ । मध्यपश्चिम बङ्गालको खाडीमाथि ७२ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तरपश्चिमतिर सरिरहेको समुद्री आँधी मोन्था मङ्गलवार राति भारतको विशाखापट्टनमनजिकै जमिनमा बज्रिने ठानिएको छ । मौसमविद्हरूका अनुसार जमिनमा पुग्दा यो आँधीको वेग करिब ८० किलोमिटर प्रतिघण्टाको हुने छ । भारतको नागपुर, वाराणसी र पटना हुँदै नेपालतर्फ प्रवेश गर्ने आँधीले बिहीवार बेलुकी वा शुक्रवारबाट नेपालको पूर्वी र पूर्वी तराई क्षेत्रमा ‘भारी वर्षा’ गराउन सक्ने पूर्वानुमान मौसवविद्हरूको छ । ‘साधारणतया त्यहाँ विकसित आँधी नेपालतर्फ आउँदैन । तर यसपलाि चाहिँ नेपालतर्फ आउने छ । अहिलेकै पूर्वानुमानअनुसार आयो भने मधेश, कोशी र बागमती प्रदेशमा भारी वर्षा नै गराउने देखिन्छ,’ त्रिभुवन विश्वविद्यालयस्थित जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेल भन्छन् । मौसम पूर्वानुमान महाशाखाले शुक्रवार तीन प्रदेशका केही स्थानमा १०० मिलिमिटरसम्म वर्षा हुने जनाएको छ । नेपालमा ५० मिलिमिटर देखि १०० मिलिमिटरसम्मको वर्षालाई ‘भारी वर्षा’ भन्ने गरिएको छ। ‘मोन्था चक्रवात विकसित हुँदै जाँदा अहिलेको पूर्वानुमान फरक पर्न पनि सक्छ’, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले भने । नेपालमा कात्तिकको पूर्वार्धमा वा मध्यतिर ठूलो वर्षा विरलै हुन्छ । तर समुद्री आँधी र नजिकका समुद्री क्षेत्रमा न्यूनचापीय प्रणालीका कारण विकसित मौसमी प्रणालीका कारण यो समयमा पनि कहिलेकाहीँ भारी वर्षा र हिमपातका घटना हुने गरेका छन् । सन् २०१४ मा अक्टोबर दोस्रो साता (असोज–कात्तिक) मा बङ्गालको खाडी हुँदै भारत प्रवेश गरेको हुदहुद नामक समुद्री आँधीका कारण नेपालभरि वर्षा भएको थियो । उक्त आँधीका कारण नेपालका उच्च हिमाली क्षेत्रमा करिब ४० जनाको ज्यान जाने गरी विनाशकारी हिमपात र हिमपहिरोका घटनाहरू भएका थिए । यो वर्ष पनि मनसुनको अन्त्यतिर असोजमा आएको बाढीले पूर्वी नेपालमा ठूलो क्षति पुर्‍याएको थियो । असोजको बाढीमा ५० जना भन्दा धेरैको ज्यान गएको थियो । नेपालमा पछिल्ला केही वर्षयता असोजमा ठूलो वर्षा हुने गरेको मौसमविद्हरूको भनाइ छ । नेपालमा अक्टोबरको सुरुबाट मनसुन बाहिरिने गरेको छ । त्यसपछिको मौसम सफा हुने भएका कारण हिमाली क्षेत्रमा पदयात्रा र घुमघामका लागि यो याम उत्तम मानिन्छ । कात्तिकमा ठूलो वर्षा हुनु दुर्लभ भएको बताउँदै सहप्राध्यापक पोखरेल भन्छन्, ‘यस्तो वर्षा हुने अवस्था सामान्य होइन । विगत २०–२५ वर्षको तथ्याङ्क हेर्दा मनसुन धकेलिँदै असोजको अन्तिमसम्म पुग्ने र पछिल्ला केही वर्ष असोजमा ठूलो वर्षा हुने गरेको छ ।’ उनी यसमा जलवायु परिवर्तनको असरबारे के कति छ भनेर पनि अध्ययन हुनुपर्छ ठान्छन् । तर जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेल नेपालमा बङ्गालको खाडी र अरब सागरमा विकसित हुने न्यूनचापीय प्रणाली र चक्रवातले नेपालमा मनसुन बाहिरिएपछि पनि कहिलेकाहीँ वर्षा गराउने बताउँछिन् ।
‘नेपालमा कात्तिकमा ठूलो वर्षा हुँदै नहुने त होइन तर यसको नियमितता चाहिँ याद गर्नुपर्ने कुरा हो,’ उनी भन्छन् ।

असोजकै जस्तो वर्षा होला ?
दशैँका समयमा आएको बाढीबाट प्रभावित क्षेत्र चक्रवातले निम्त्याउने वर्षाबाट पनि प्रभावित हुने विज्ञहरू बताउँछन् । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक पोखरेल मोन्था चक्रवातका कारण दशैँको जस्तै प्रकृतिको वर्षा हुन सक्ने ठान्छन् । ‘असार–साउनको भन्दा पनि असोजकै जस्तो प्रकृतिको वर्षा यसले नेपालमा गराउने देखिन्छ,’ पोखरेल भन्छन्, ‘असारमा पानी पर्नुभन्दा कात्तिकमा पानी कम परे पनि त्यसले पुर्‍याउने क्षति धेरै हुन सक्छ। धेरै मान्छेहरू पदयात्रामा जाने समय पनि भएकाले हिमपातका कारण पनि जोखिम हुन्छ ।’

पाकेको धान बिग्रिने डर
पानी परेकाले विभिन्न जिल्लामा किसानहरूले धान काट्न पाएका छैनन् । कृषकहरूले धान बाली भित्र्याउने समय भएका कारण पाकेको धानमा वर्षाले क्षति पुर्‍याउन सक्नेतर्फ किसानहरूलाई ध्यान दिन अधिकारीहरूले सजग गराएका छन् । तर जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् पोखरेल असोजको जस्तो विनाशकारी वर्षाको सम्भावना हालसम्म नदेखिएको बताउँछिन् । ‘नेपालमा असर गर्ने चाहिँ देखिएको छ। पूर्वी भूभाग, मधेश र बागमतीमा शुक्रवार बढी असर गर्ने देखिएको छ। तर यसको विस्तृत पूर्वानुमान परिवर्तन भइरहेको छ र हामीले सजगतापूर्वक त्यसको निगरानी गरिरहेका छौँ,’ पोखरेलले भनिन् । मौसमविद् पुडासैनीले पनि आफूहरूले निगरानी गरिरहेको तर असोजमा जस्तो अत्यधिक वर्षा हुने हालसम्मको पूर्वानुमानमा नदेखिएको बताए । ‘यो चक्रवातले असोजको जस्तो वर्षा नगराउला भन्ने लाग्छ । अहिलेसम्म १०० मिलिमिटरसम्म पानी पर्ने पूर्वानुमान गर्न सकिन्छ,’ उनले भने ।–बीबीसी 

Photo-(53)-1761645940.jpg
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  १७:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार