सोसल मिडिया
Contact Us
युनिकोड
मुगु । मुगुको एक मात्र छायाँनाथ रारा नरपालिका र ललितपुर महानगरपालिकाबीच आपसी सहकार्य र धार्मिक पर्यटन प्रवर्धनमा जोड दिँदै भगिनी सम्बन्ध स्थापना गरेका छन् । छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भाम र ललितपुर महानरपालिकाका प्रमुख चिरीबाबु महार्जनबीच बिहीबार छायाँनाथ रारा नगरपालिकाको कार्यालयमा भगिनी सम्बन्ध स्थापना गर्ने सहमति भएको छ । छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख भामले मुगुमा धार्मिक पर्यटनको सम्भावना धेरै रहेको उल्लेख गर्दै काठमाडौं हुँदै मुगुको रारा ताल, छायाँनाथ धामसम्मको सडक निर्माण र यहाँको पर्यटकीय गन्तव्यको प्रचार प्रसारमा पालिका बीच जोड भएमा यहाँका स्थानीयलाई आर्थिक समृद्धिमा उल्लेखनीय योगदान पुग्ने बताए । काठमाडौंका धार्मिक तीर्थस्थल मुगुसम्म जोड्न सकियो भने भारतीय र तिब्बती पर्यटकको आगमन बढाउन सकिने सम्भावना रहेको भन्दै उनले छायाँनाथ राराले त्यसका लागि आवश्यक पहल र समन्वय गरिरहेको बताए । भामका अनुसार नेपालको सबैभन्दा ठूलो र सुन्दर रारा ताल, त्यसैगरी विश्वका चार धाम मध्येको सबैभन्दा जेठो छायाँनाथ धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न ललितपुर महानगरपालिकालाई भगिनी मैत्रीपूर्ण सम्बन्धका आधारमा सहकार्य गरिने उल्लेख गरिएको छ । साथै मुगुको राराताल हुँदै छायानाथ धामसम्म पदमार्गलाई आधार बनाएर धार्मिक तथा सांस्कृतिक पर्यटन विस्तार गर्ने कार्यक्रम सञ्चालन गरिनेछ । नगर प्रमुख भामले भने, ‘ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा यो आर्थिक वर्षको मङ्सिरदेखि पर्यटकीय क्षेत्र रारा ताल र जिल्लाको सदरमुकामसम्म दुई सयवटा सोलार लाइट जडान हुनेछन् ।’ ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनका अनुसार दुर्गम हिमाली जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना भएर पर्यटन, विकास र सेवा प्रवाहका क्षेत्रमा अनुभव आदानप्रदान गर्न पाउँदा उत्साहित भएको बताउँदै सांस्कृतिक र जनस्तरको सम्बन्धलाई बन्नेमा विश्वस्त रहेको बताए । दुवै पालिकाले स्थानीय उत्पादनको प्रवर्धन, बजार व्यवस्थापन, पर्यटन पूर्वाधारको विकास र धार्मिक सम्पदाको संरक्षणमा आपसी सहकार्य गर्ने प्रतिबद्धता व्यक्त भएका छन् । धार्मिक पर्यटन प्रवद्र्धन नीति, योजना र कार्यान्वयनका विषयमा छलफल गरिने उल्लेख गरिएको छ । ललितपुर महानरपालिकाले मुगुको स्थानीय उत्पादनको प्रवद्र्धनसहित धार्मिक र पर्यटन क्षेत्रमा प्रचारप्रसार गर्नेगरी सहमति भएको छ । ललितपुर महानगरपालिकाको टोली मुगुको पर्यटन र धार्मिक क्षेत्रको भ्रमणमा आएको हो ।