गोदावरी नगरपालिकाद्वारा नेपाल प्रहरीलाई मोटरसाइकलसहित विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

सोमबार, असोज २७, २०८२

ललितपुर । गोदावरी नगरपालिकाले नेपाल प्रहरीलाई विपद् व्यवस्थापनका १७ प्रकारका सामग्री हस्तान्तरण गरेको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगलागीबाट क्षति पुगेका प्रहरी कार्यालयहरूलाई पुनः सञ्चालनमा सहयोग पु–याउने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरिएको हो । नगरपालिकाले महानगरीय प्रहरी वृत्त चापागाउँ, प्रहरी प्रभाग लेले र प्रहरी प्रभाग बाँडेगाउँलाई आवश्यक सामग्री प्रदान गरेको हो । ती प्रहरी कार्यालयहरू आन्दोलनका क्रममा पूर्णरूपमा जलेर नष्ट भएका थिए । कार्यक्रम नगरप्रमुख गजेन्द्र महर्जनले प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको उपस्थितिमा ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीलाई सामग्री हस्तान्तरण गरेका हुन् । नगरपालिकाले प्रदान गरेका सामग्रीहरूमा लेडर ग्लोब्स, कटन ग्लोब्स, टर्चलाइट, व्याकबोर्ड, फ्लासलाइट, डाइनामिक रेस्क्यु रोप, साबेल, पिक, सेफ्टी भेस्ट, स्टेचर, प्राथमिक उपचार बाकस, रेनकोट, लाइफ रिङ, थ्रो व्याग, सेफ्टी हेल्मेट र मेघाफोन माइक लगायतका सामग्री रहेका छन् ।  यसका साथै नगरपालिकाले तीनवटा बाइक समेत प्रहरीलाई उपलब्ध गराएको छ । यसबाहेक, गोदावरी नगरपालिकाले प्रहरी वृत्त चापागाउँ पुनर्निर्माणका लागि नगद १० लाख रुपैयाँ सहयोग गरेको छ । नगरप्रमुख महर्जनका अनुसार वडा नम्बर १, १४, २, ३ र ४ ले प्रहरी प्रभाग बाँडेगाउँ पुनर्निर्माणमा सहयोग गरिरहेका छन् भने वडा नम्बर ५, ६, १० र ११ ले प्रहरी प्रभाग लेले र प्रहरी चौकी चापागाउँ पुनर्निर्माणमा सहयोग गरिरहेका छन् ।

Photo-(1)-(1)-1760323584.jpg
 

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  ०८:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार