सोसल मिडिया
Contact Us
युनिकोड
रामेछाप । असोज १७, १८ र १९ गतेको अविरल वर्षापछि आएको बाढीले बगाएको बीपी राजमार्गको डाइभर्सन पुनः निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ । लगातार तीन दिनको वर्षाले रोशी खोलामा आएको असामान्य बाढीले राजमार्गका विभिन्न भाग क्षतिग्रस्त बनाएको छ । स्थानीय तह र सडक डिभिजन कार्यालयहरूको समन्वयमा पुनः निर्माण कार्य सुरु भएको हो । रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाका अनुसार नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सिमानास्थल चौकीडाँडाबाट डाइभर्सन निर्माण कार्य सुरु गरिएको छ । खोलाको बहाव केही घटेपछि सोमबारदेखि सडक पुनः निर्माणको काम अगाडि बढाइएको उनले बताए । ‘डाइभर्सन बनाउनका लागि स्थानीयहरू, प्रहरी र ठेकेदार कम्पनीका कर्मचारीहरू निरन्तर खटिएका छन्,’ अध्यक्ष लामाले भने । सडक डिभिजन कार्यालय भक्तपुरकी सूचना अधिकारी बिन्दु अधिकारीका अनुसार स्थानीय तहहरूको सक्रिय समन्वयमा डाइभर्सन पुनः निर्माण कार्य अघि बढाइएको हो । उनका अनुसार हाल खोलाको धार भित्तासम्म टाँसिएको र सडक खोलाको किनारै किनार लैजानुपर्ने भएकाले काम निकै चुनौतीपूर्ण बनेको छ । ‘पानी अझै पनि पूर्ण रूपमा घटेको छैन, त्यसैले जोखिम मूल्याङ्कन गर्दै निर्माण अघि बढाइरहेका छौँ,’ उनले बताइन् । यता, बीपी राजमार्गको सिन्धुली खण्डमा पनि पुनः निर्माण सुरु गरिएको छ । सडक डिभिजन कार्यालय खाल्टेका प्रमुख पारसमणि हमालका अनुसार नेपालथोक क्षेत्रमा सोमबारदेखि डाइभर्सन निर्माण सुरु गरिएको हो । बाढीले सडकको भाग बगाएपछि खोलाको धारलाई अन्यत्र मोड्दै सडकलाई पुनः निर्माण गर्न प्रयास भइरहेको उनले बताए । ‘खोलाको धार डाइभर्ट गरेर बगाएको ठाउँ पुरेर सडक बनाउन सुरु गरिएको छ,’ प्रमुख हमालले भने, ‘डोजर र टिफर प्रयोग गरेर फिलिङ कार्य भइरहेको छ, बिहानदेखि राति १० बजेसम्म काम भइरहेकाले आज र भोलिभित्र यातायात सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ, दुई दिन भित्र सिन्धुलीको भाग क्लियर हुन्छ’, उनले भने । उनका अनुसार, बीपी राजमार्गको सिन्धुली जिल्ला भित्र पर्ने बर्खे खोलादेखि नेपालथोकसम्मको क्षेत्रमा दुई स्थानमा ठूलो क्षति भएका छन् । तीमध्ये एक स्थानमा गत वर्षको बाढीले बगाएको अस्थायी सडक पुनः बगाएको छ भने, यस वर्ष अर्को करिब ५ सय मिटर सडकमा थप क्षति पुगेको छ । बाढीले खोलाको धार सडकतिर फर्काइदिँदा स्थायी संरचना निर्माण गर्नु कठिन बनेको उनले बताए । बाढिले बिगारेको सडक एक हप्ता भित्र बन्ने आँकलन गरिएको छ । रोशी खोलाको बाढीले बीपी राजमार्ग अवरुद्ध हुँदा रामेछाप, काभ्रे र सिन्धुली हुँदै काठमाडौं–तराई र कोशी प्रदेशका जिल्लाहरूमा आवतजावतमा समस्या भएको छ । वैकल्पिक बाटो नजिकै नभएकाले यात्रुहरू लामो बाटो परिक्रमा गर्न बाध्य भएका छन् । सडक विभागकाले बीपी राजमार्गको बाढीले बगाएको ठाउँमा नयाँ पक्की सडक निर्माणको काम पनि अघि बढाएको छ । गएको वर्षा असोजमा आएको बाढीले क्षति पुर्याएको ठाउँमा पक्की सडक निर्माणको लागि टेण्डर लागि सकेको छ । निर्माण कम्पनीले यस वर्ष कम्तीमा बेसको काम गर्ने भएकाले अर्को वर्षबाट यस्तो समस्या नआउने हमालले बताए ।