बाढी–पहिरोमा परेर ५२ जनाको मृत्यु, उद्दार कार्य जारी

मंगलबार, असोज २१, २०८२

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई.दिनेश प्रसाद भट्टले मध्याह्न १२ बजेसम्मको विवरण अनुसार ५२ जनाको निधन भएको जानकारी दिएका छन् । अविरल वर्षाबाट भएको विपद्का घटना एवम् खोज, उद्धार तथा राहत सम्बन्धी मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले हालसम्म पहिरोमा परि ३९ जना, बाढीमा ११ जना र चट्याङबाट  २ जना गरी ५२ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।  उनले भने, ‘मध्याह्न १२ बजेसम्मको विवरण अनुसार मानविय क्षतिमा ५२ जनाको निधन भएको छ । पहिरोमा परी ३९ जना, यसमा इलाममा ३७ जना, पाँचथरमा १ जना, काभ्रेमा १ जना रहेका छन् । बाढीमा ११ जनाको मृत्यु भएको छ । यसमा उदयपुरमा २ जना, धनुषा २, इलाम १, पाँचथर १, खोटाङ १, भोजपुरमा १ जना, मोरङ १ जना, सुनसरी १ र रौतहटमा १ जना रहेका छन् । यसैगरि रौतहटमा चट्याङबाट पनि २ जनाको मृत्यु भएको छ । बेपत्ता अहिलेसम्म रसुवामा ४ जना, इलाममा १ जना हुनुहुन्छ र घाइते ४७ जना हुनुहुन्छ । पहिरोका घाइते ३३ जना, चट्याङ्का घाइते १४ जना रहेका छन् ।’  यस्तै, उनले बेपत्ताहरूको खोज उद्धारको कार्य तीनवटै सुरक्षा निकाय र स्वंमसेवक साथीहरू खटिएको भन्दै संघीय सरकार र प्रदेश सरकारले घाइतेहरूको उपचार निःशुल्क गरेको पनि बताए । उनले भने, ‘बेपत्ताहरूको खोज उद्धारको कार्य जारी छ । तीनवटै सुरक्षा निकाय परिचालित छन् भने रसुवाको बाढीमा स्वंमसेवक साथीहरू पनि हुनुहुन्छ । खोज उद्धार कार्य जारी रहने नै छ भने घाइतेहरूको उपचार नेपाल सरकारले निःशुल्क गर्ने भनेको छ र प्रदेश सरकारको तर्फबाट पनि आफ्नो प्रदेशमा भएको अस्पतालहरूमा निःशूल्क उपचार गराउने कुरा गर्नु भएको छ ।’  तीनवटै सुरक्षा निकायहरू, नेपाल सरकारका संघीय मन्त्रालयहरू मात्र नभई एनजिओ, आइएनजिओहरू देखि लिएर सबैको आपनत्व भएको प्रतिकार्य योजना भयो भने काम कागजी मात्र नभई भौतिक रुपमा पनि हुने भन्दै सोही हिसाबले सबैलाई लिएर अगाडि बढेको पनि उनको भनाई छ ।  

bipad_ILpqHBsiW3-1759827672.jpg
बाढी–पहिरोपीडितलाई अस्थायी आवास बनाउन तत्काल अनुदान
सरकारले हालैको बाढी–पहिरोबाट घरबास गुमाएकालाई तत्काल अस्थायी आवास निर्माणका लागि अनुदान दिने निर्णय गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बिहान सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बसेको बैठकले बाढी–पहिरोबाट घरबास गुमाएकालाई अस्थायी आवास निर्माणका लागि अनुदान दिनेसहित ७ निर्णय गरेको हो । निर्णय नम्बर ७ मा भनिएको छ, ‘प्रस्तावित निर्णय नं. ७, विपद्‌मा घरबास गुमाएका परिवारहरूका लागि अस्थायी आवास निर्माण गर्न स्थानीय तहको समन्वयमा यथाशीघ्र लाभग्राही पहिचान गरी पठाउन निर्देशन दिने र लाभग्राही पहिचान भई आएपश्चात् अस्थायी आवास निर्माण अनुदानसम्बन्धी मापदण्ड, २०८१ बमोजिमको अनुदान रकमको पहिलो किस्ता तत्काल उपलब्ध गराउने ।’ अस्थायी आवासका लागि विपद् प्राधिकरणबाट ५० हजार रुपैयाँ उपलब्ध गराइने छ । सो रकममध्ये २५ हजार रुपैयाँ तत्काल र २५ हजार रुपैयाँ चाहिँ एक लेबलको घरको संरचना बनेपछि मापदण्ड अनुसार उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।

महामारी फैलिन नदिन सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने   

विपद्पछि महामारी फैलिन सक्ने सम्भावना रहेको भन्दै यसका लागि तीनै तहका सरकारले चनाखो भएर काम अघि बढाउने निर्णय पनि बैठकले गरेको छ । महामारी फैलिन सक्ने सम्भावना रहेकोले त्यसो हुन नदिनका लागि स्वास्थ्य मन्त्रालयका साथै प्रदेश सरकार र स्थानीय सरकारको संयुक्त पहलमा यो संकट आउन नदिन आवश्यक काम अघि बढाउने निर्णय बैठकले गरेको हो । महामारी फैलिन नदिनका लागि जनचेतना फैलाउने, स्वास्थ्य शिविर सञ्चालन गर्ने, मनोसामाजिक परामर्श उपलब्ध गराउने लगायतका कामहरू संयुक्त रूपमा सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

तीनै तहको पहलमा अवरुद्ध सडकहरू तत्काल सञ्चालनमा ल्याइन्

बाढीपहिरोका कारण देशभरिका विभिन्न स्थानमा अवरुद्ध भएका सडकहरू तीनै तहको पहलमा तत्काल सञ्चालनमा ल्याइने निर्णय भएको छ । विभिन्न स्थानमा अवरुद्ध भएका सडकहरू यथाशीघ्र सञ्चालन गर्ने व्यवस्था सम्बन्धित निकाय (भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रदेश सरकार र स्थानीय तह) ले मिलाउने निर्णय बैठकले गरेको हो । बाढीपहिरोबाट अवरुद्ध खानेपानी, विद्युत्, सञ्चार लगायतका अत्यावश्यक सेवाहरू सञ्चालन गर्न खानेपानी सेवा प्रदायक संस्था, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल विद्युत् प्राधिकरणले यथाशीघ्र गर्ने गरी सम्बन्धित मन्त्रालयले व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ ।

Dinesh--Bhatta---(3)-1759827673.png
 

प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२  १४:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार