वर्षाको विपत्ति : राजधानी छिर्ने सबै राजमार्ग अवरुद्ध

शनिबार, असोज १८, २०८२

काठमाडौं । शुक्रबार दिउँसोदेखि सुरु भएको वर्षाका कारण जनजीवन प्रभावित भएको छ । मुख्य राजमार्गदेखि सहायक मार्ग र स्थानीय सडक सञ्जाल प्रभावित छन् । 

राजधानी छिर्ने सबै राजमार्ग अवरुद्ध

अविरल वर्षासँग राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै राजमार्ग र मुख्य सडकहरू अवरुद्ध भएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार पृथ्वी राजमार्गको जोहाङखोलामा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध बनेको छ। धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० जोहाङखोला नजिक पहिरो खस्दा चितवन तथा पोखरा हुँदै धादिङ भएर काठमाडौँ आउने–जाने सवारी साधनको आवागमन पूर्णरुपमा रोकिएका हुन्। हेटौंडा हुँदै काठमाडौं आउने कान्तिलोकपथमा ठुला गाडीहरू संचालन भएका छैनन् । मकवानपुर हुँदै काठमाडौँ आउने फर्पिङको बाटो पनि पहिरोका कारण अहिले अवरुद्ध बनेको छ। वीपी राजमार्गमा भने भारी वर्षाका कारण सवारी सञ्चालनका लागि रोक लगाइएको छ।  प्रहरी उपरीक्षक सुवेदीले अत्यावश्यक भए सडकको अवस्था बुझेरमात्रै यात्रामा निस्किन आग्रह गरे।

मन्थली–तामाकोसी चरिकोट हुँदै राजधानी प्रवेश गर्दै सार्वजनिक यातायात
बीपी राजमार्ग बन्द भएपछि सार्वजनिक यातायात मन्थली–तामाकोसी चरिकोट हुँदै राजधानी जान थालेका छन् ।  लगातारको वर्षाका कारण मुख्य राजमार्ग बन्द हुँदा पुष्पलाल मार्ग हुँदै यातायातका साधन राजधानी काठमाडौं प्रवेश गरेका हुन् ।  प्रशासनले रोक लगाए पनि सार्वजनिक यातायातले जबरजस्ती यो मार्ग प्रयोग गरेपछि अधिकांश सवारी साधन दोलखाको किर्नेटारमा रोकिएको दोलखाका प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले बताए । 
किर्नेटार थप जोखिम क्षेत्र भएकाले त्यहाँ रोकिएका ५० भन्दा बढी सवारी साधनलाई चरिकोटसम्मको अनुमति दिइएको छ । ती सवारी साधनमा यात्रा गरिरहेकाहरूलाई चरिकोटमा बास बसाउने तयारी भैरहेको उनले बताए ।

 रोशी खोलाले बीपी राजमार्ग कटान सुरु 

निरन्तर वर्षाका कारण जिल्लास्थित रोशी खोलामा पानीको बहाव बढ्दै गएको छ । खोलामा पानीको बहाव बढ्दै खोलाले बीपी राजमार्ग कटान सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 
रौतहटको सदरमुकाम गौर बजार जलमग्न
लगातारको वर्षाका कारण रौतहटको सदरमुकाम गौर जलमग्न भएको छ । शनिबार दिउँसोदेखि गौर जलमग्न हुँदा स्थानीय  जनजीवन प्रभावित बनेको छ । सबैभन्दा बढी डुबान भन्सार क्षेत्रमा छ । 
अपराह्न ४ बजेसम्मको रेकर्डअनुसार सबैभन्दा धेरै वर्षा रौतहट जिल्लामा भएको छ । २४ घण्टामा सबैभन्दा धेरै सदरमुकाम गौरमा २४३.६ मिलिमिटर वर्षा मापन भएको छ ।
सीमाक्षेत्रमा भारतले लगाएको बाँधका कारण पानीले निकास नपाउँदा गौर डुबानमा पर्ने गरेको छ । गौर बजार जलमग्न भएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए । 
पहिरोले हेटौंडा–काठमाडौं जोड्ने तीन वटा मार्ग अवरुद्ध

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार दिउँसो हेटौंडा–काठमाडौं छोटो मार्गअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–४, महालक्ष्मीखोलामा ढुंगा–माटो, लेदोसहितको पहिरोका कारण सडक अवरुद्ध बनेको छ । यसैगरी इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरी बजार नजिकै डोढारे खोलामा पानीको बहाव बढेसँगै शनिबार दिउँसोदेखि कुलेखानी–सिस्नेरी–फर्पिङ खण्ड अवरुद्ध बनेको छ । यस्तै, कान्तिलोकपथ सडकखण्डमा शनिबार दिउँसो भीमफेदी गाउँपालिका–८, बगुवाखोला नजिकै पहिरोले सडक अवरुद्ध बनेको छ ।

पृथ्वीराजमार्ग खुल्यो

पहिरोेले अवरुद्ध भएको पृथ्वीराजमार्ग अपराह्नदेखि सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालयका अनुसार पहिरो पन्छाएर सडक सञ्चालन गरिएको हो । चितवनको इच्छाकामना–३ फिस्लिङमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । सडक सञ्चालन भएसँगै बाटोमा रोकिएका सवारीसाधन प्रस्थान गरेका छन् । 
तुइनखोलामा ढुंगा झर्न थालेपछि नारायणगढ–मुग्लिन सडक खण्ड पुनः बन्द
तुइनखोलामा ढुंगा झर्न थालेका कारण नारायणगढ–मुग्लिन सडक शनिबार दिउँसो चार बजेपछि दुइतर्फी नै गाडी बन्द भएको भरतपुरको डिभिजन सडक कार्यालयले जनाएको छ ।

अरनिको राजमार्गको ५४ किलोमा ढुंगासहितको पहिरो
अरनिको राजमार्ग अन्तर्गत ५४ किलोमा ढुंगासहित पहिरो झरेको छ । शनिबार दिउँसो करिब ३ बजेको समयमा त्यहाँ ढुंगासहितको पहिरो झरेको ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ । उक्त राजमार्गकै धुलिखेल–खावा सडक खण्डको तिरतरे धारामा पनि ढुंगासहितको पहिरो झरिरहेको प्रहरीले बताएको छ ।
सबैभन्दा बढी वर्षा पर्सामा
बितेका १२ घण्टामा सबैभन्दा बढी वर्षा पर्साको वीरगन्जमा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार वीरगन्जमा १४३ मिलिमिटर वर्षा भएको छ । बारामा १४०.४, रौतहटको गौर वर्षा मापन केन्द्रमा १२९, रौतहटकै महेशपुरमा १२४ मिलिमिटर वर्षा भएको छ । 
विभागले बारा र पर्सामा भएको वर्षा अति भारी भएको जनाउँदै देशको मध्य क्षेत्रमा बढी वर्षा भएको र तराइ केन्द्रित रहेको, नवलपरासीदेखि पूर्व धनकुटासम्म वर्षा भएको बताएको छ । यो अवधिमा सिन्धुपाल्चोकदेखि दोलखासम्म र काठमाडौँ उपत्यकालगायत  १४ वटा जिल्लामा ५० मिलिमिटरभन्दा माथि वर्षा भएको छ । पचास भन्दा बढी मापन केन्द्रहरुमा ३० मिलिमिटरदेखि ५० मिलिमिटरसम्म वर्षा भएको छ ।  हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण वर्षा भइरहेको तथा फेरि अर्को प्रणाली पनि सक्रिय हुने सम्भावना बढेकाले आज राति पनि धेरै स्थानमा वर्षा हुने विभागले जनाएको छ ।

सिन्धुलीको अक्करे भीरमा पहिरो, मध्यपहाडी लोकमार्ग अवरुद्ध
मध्यपहाडी लोकमार्गअन्तर्गत गोलन्जोर गाउँपालिका–६ स्थित अक्करे भीरमा पहिरो खस्न थालेपछि यातायात आवागमन अवरुद्ध भएको छ ।

हनुमन्ते खोलाको सतही तहमा पानी, डुबानको उच्च जोखिम

अविरल वर्षापछि भक्तपुरको जगाती, टुरिजम मार्केट, सल्लाघारी र राधेराधे हुँदै बग्ने हनुमन्ते खोला अहिले सतही तहमा आइपुगेको छ । खोलामा पानीको बहाव तीव्र रूपमा बढ्दै गएको प्रहरीले जनाएको छ । निरन्तर वर्षा जारी रहेमा खोला बस्ती क्षेत्रमा आज बेलुकासम्म प्रवेश गरी राति डुबान हुने सम्भावना उच्च रहेको भन्दै खोला छेउछाउका बासिन्दालाई उच्च सतर्कता र पूर्वसावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ ।

तुइनखोलामा एकतर्फी सवारी सञ्चालन, अनावश्यक यात्रा नगर्न आग्रह
चितवन – तुइनखोलामा हालका लागि पोखरा तर्फ मात्रै सवारी आवागमन गर्न मिल्ने गरी एकतर्फी यातायात सञ्चालनमा आएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार सडक क्षेत्रमा अझै जोखिम कायम रहेकाले अत्यावश्यक नभई सकेसम्म यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।

मेची राजमार्गको इलाम–ताप्लेजुङ खण्ड सडक बन्द
ताप्लेजुङ सडक डिभिजन कार्यालय इलामले मेची राजमार्गअन्तर्गत इलामको जोरकलशदेखि ताप्लेजुङको सुकेटारसम्मको सडकमा सवारी आवागमनमा रोक लगाएको छ ।
शनिबार दिउँसो सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको डिभिजन प्रमुखद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । दिउँसोको समयमा अत्यावश्यक कारणले यात्रा गर्नुपर्ने सवारीसाधनमध्ये १० टनभन्दा बढी क्षमताका ठूला सवारीका लागि मेची कोरिडोर–कञ्चनजंघा–केचना सडक प्रयोग गर्न र १० टनभन्दा कमका साना सवारीसाधनका लागि सिमल–गोलाइ–जोगमाइ–तिल्केनी सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।

मन्त्री घिसिङले गरे चोभार–गल्छी क्षेत्रको निरीक्षण
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङ तथा सहरी विकास सचिव गोपाल सिग्देलले चोभार–गल्छी क्षेत्रको निरीक्षण गरेका छन् । 
उक्त गल्छीबाट काठमाडौँ उपत्यकाका नदीहरू एकीकृत भएर निस्कने भएकाले सो क्षेत्रको अवलोकन गरिएको हो । मन्त्री घिसिङले धोबीखोला कोरिडोर, मनोहरा कोरिडोर, विष्णुमती कोरिडोर र बागमती नदी कोरिडोरलगायत क्षेत्रहरूको अवलोकन गरी तिनको वरिपरिका बस्तीहरूको अवस्थाबारे जानकारी लिएका छन् ।

फिस्लिङमा पहिरो
इच्छाकामना गाउँपालिका–३ मा पहिरो खस्दा दुईतर्फी सडक बन्द भएको छ । शुक्रबार साँझदेखि परेको वर्षाका कारण १ : ४५ बजे मुग्लिङ–नागढु्ंगा खण्डअन्तर्गत फिस्लिङमा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पहिरो पन्छाउनका लागि कम्तीमा तीन घण्टा लाग्ने छ ।  पहिरो पन्छाउने काम सुरु गरिएको उनले बताए । नारायणगढ–मुग्लिन सडक खण्डमा भने अहिलसम्म अवरोध नभएको उनले जानकारी दिए । निरन्तर वर्षा भइरहेकाले सावधानीपूर्वक यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।

असोज २० गतेसम्म बीपी राजमार्गमा यातायात सञ्चालन गर्न नपाइने

असोज २० गतेसम्म बीपी राजमार्गमा यातायात सञ्चालनमा रोक लगाइएको छ। शनिबार बसेको जिल्ला सुरक्षा समिति काभ्रेको बैठकले गरेको निर्णय अनुसार, असोज १८ गते बिहान ९ बजेदेखि असोज २० गतेसम्म बीपी राजमार्गअन्तर्गत काभ्रे भञ्ज्याङ–भकुण्डेबेंसी–सिन्धुली सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ।

बनेपा–धुलिखेल जाने सवारीसाधन पनि फर्काइयो

भक्तपुरबाट बनेपा–धुलिखेल जाने सवारीसाधन पनि रोकेर फर्काइएको छ । भक्तपुर–काभ्रे सीमाना साँगा नाकाबाट नै सवारीसाधन फर्काइएको प्रहरीले जनाएको छ ।

बीपी राजमार्गको नेपालथोक–धुलिखेल खण्डमा पहिरो

बीपी राजमार्गको नेपालथोक–धुलिखेल खण्डमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरो खसेकाले सिन्धुलीमाडी, खुर्कोट र नेपालथोकमा सवारीसाधन रोकिएका छन् ।

भारी वर्षासँगै फर्किन थाले सवारीसाधन
मुलुकका अधिकांश स्थानमा परिरहेको भारी वर्षासँगै आज बिहानैदेखि उपत्यकाबाट बाहिरिएका सवारीसाधन धमाधम उपत्यकामा नै फर्किन थालेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न राजमार्गमा पहिरो जान थालेपछि सुरक्षित रहन सवारीसाधन उपत्यकामा नै फर्किन थालेको जानकारी दिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले बिपी, अरनिको, पृथ्वीलगायतका मुख्य राजमार्गमा पहिरो जान थालेपछि उपत्यकाबाट बाहिरिएका सवारीसाधन पनि फर्किन थालेको जानकारी दिए । ुअहिले पहिरोका कारण उपत्यकाबाट बाहिरिएका सवारीसाधन पनि काठमाडौँतिर नै फिर्ता भइरहेका छन्, यतिबेला उपत्यकाका चारै तिरका नाका बन्द छन्,ु उनले भने, ुसुरक्षित तरिकाले सवारीसाधनहरू होल्ड भएका छन्, भौतिक र मानवीय क्षति कम गर्न सडक यात्रा सुरक्षित छैन ।ु
सडक विभागले बीपी राजमार्गमा बिहान १० बजेपछि सवारीसाधनको प्रवेश रोक लगाइएको जानकारी दिएको छ । जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म नै भारी वर्षा हुने भएकाले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । 

भक्तपुर हुँदै पूर्व जाने सवारीसाधन जगातीमा रोकियो
लगातारको वर्षापछि उपत्यकाबाट अरनिको राजमार्ग हुँदै पूर्वका काभ्रे र अन्य जिल्लाहरू जाने सवारीसाधन रोकिएको छ। राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनमा रोक लगाएसँगै भक्तपुरको जगातीबाट नै पूर्व जाने सवारीसाधन रोकेर फर्काएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किरण राईले जानकारी दिएका छन्। तर बनेपा र धुलिखेलसम्म जाने सवारीसाधन भने रोकिएको छैन। यस्तै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित किवा चोक गुण्डु नजिकैको सडक खण्डमा वर्षाका कारण पहिरो गएको छ। उक्त पहिरोका कारण गुण्डु–किवा चोक हुँदै नयाँ ठिमी चल्ने यातायात पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ। अन्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

कान्ति लोकपथमा सवारी आवागमन पूर्णरूपमा बन्द 
कान्ति लोकपथमा सबै प्रकारका सवारी साधन आवागमन पूर्ण रुपमा बन्द गरिएको छ । शनिबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट जारी भएको मौसम पूर्वानुमान अनुसार बागमती प्रदेश लगायतका स्थानमा मनसुनी गतिविधिहरु सक्रिय भई हाल उच्च मात्रामा वर्षा भइरहेको र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित विपद्‌जन्य अवस्थाबाट हुन सक्ने क्षति न्युनिकरण गर्न अर्को सूचना नभएसम्मको लागि बन्द गरिएको जनाएको छ।

पछिल्लो ६ घण्टामा ६४ मिलिमिटर वर्षा
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो ६ घण्टामा देशभर ६४ मिलिमिटर वर्षा भएको छ। यो अवधिमा मधेश प्रदेशमा सबैभन्दा धेरै वर्षा भएको छ। मधेशको वीरगञ्जमा ६४ मिलिमिटर पानी परेको विभागले जनाएको छ। त्यस्तै, गौरमा ५७, महेशपुरमा ५३, कलैयामा ५४, टाँडीमा ५० र ठोरीमा ४८ मिलिमिटर वर्षा भएको छ।  विभागका अनुसार पछिल्लो ६ घण्टामा मधेश, बागमती र गण्डकीमा धेरै वर्षा भएको छ भने कोशी, लुम्बिनी र सुदूरपश्चिममा भने कममात्रै वर्षा भइरहेको छ। काठमाडौँ उपत्यकामा भने गोदावरी स्टेशनमा सबैभन्दा धेरै ४१ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै, खुमलटारमा २८, चन्द्रागिरीमा ३५, नगरकोटमा ३०, कपनमा २० र कलंकीमा २३ मिलिमिटर वर्षा भएको छ।

कोशी, मधेश र बागमतीमा अविरल वर्षा, केही घण्टा अझै बढी प्रभावित हुने
कोशी, मधेश र बागमती प्रदेशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागद्वारा बुलेटिनका अनुसार शनिबार बिहान १० बजे कोशी, मधेश र बागमती प्रदेशमा मेघगर्जनसहित वर्षा भइरहेको हो । वर्षाका कारण अबको केही घण्टामा कोशी, मधेश र बागमती प्रदेश बढी प्रभावित हुने विभागले जनाएको छ ।  विभागले चेतावनी दिँदै अगाडि भनेको छ, ‘अब केही घण्टा विशेषगरी कोशी प्रदेश, मधेशी प्रदेश र बागमती प्रदेश बढी प्रभावित हुने देखिन्छ ।’ वर्षा गराउने प्रणाली पूर्व(उत्तर पूर्व दिशातर्फ सरिरहेको र ती क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले सुझाव दिएको छ ।

दुई दिनका लागि मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर भ्रमणमा रोक

मनसुन बाहिरिने समयमा सक्रिय भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरको भ्रमणमा रोक लगाइएको छ ।  शनिबार र आइतबार पदमार्ग र आधार शिविरमा पर्यटकहरूलाई रोक लगाइएको अन्नपूर्ण गाउँपालिका–४ को कार्यालयले जनाएको छ । वडाध्यक्ष लोकबहादुर पुनले सार्वजनिक सूचना जारी गरेर वर्षा र हिमपातको सम्भावना भएकाले आधार शिविर तथा पदमार्गमा पर्यटकले दुःख पाउने तथा दुर्घटनाको जोखिम देखिएको हुँदा रोक लगाइएको जानकारी दिए।

खराब मौसमका कारण काठमाडौँसहित ६ वटा विमानस्थल बन्द 

अविरल वर्षाका कारण शनिबार बिहानदेखि देशका विभिन्न विमानस्थलमा हवाई सेवा पनि अवरुद्ध भएको छ। आन्तरिक उडानतर्फ काठमाडौँसहित कम्तीमा ६ वटा विमानस्थल बन्द हुँदा ती स्थानका लागि तोकिएका उडानहरू प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार, खराब मौसमका कारण काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका छन्। 

सिन्धुलीमा पनि सवारी सञ्चालनमा रोक

वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि बीपी राजमार्गको सिन्धुलो खण्डमा पनि यातायात संचालनमा रोक लगाइएको छ। स्थानीय प्रशासनले शनिबार बिहानदेखि सवारी सन्चालनमा रोक लगाएको हो । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बीपी राजमार्गको सिन्धुलीतर्फ नेपालथोक, रातमाटा, आँपघारी लगायतका स्थानमा लेदोसहितको पहिरो झर्न थालेको र काभ्रे खण्डमा पहिरो झर्न थालेकाले यातायात संचालनमा रोक लगाइएको बताए । 

बीपी राजमार्गमा रोकिएका गाडीलाई गन्तव्यतर्फ पठाइयो, १० बजेपछि गाडी चल्न नदिइने 

बीपी राजमार्गमा आज बिहान १० बजेपछि गाडी चल्न नदिइने भएको छ । अहिले राजमार्गमा रहेका गाडीलाई गन्तव्यमा पठाइसकेपछि थप गाडी नपठाइने सडक विभागले जनाएको छ । 

काठमाडौँ उपत्यकासहित धेरै ठाउँमा वर्षा, राति कैलालीमा बढी वर्षा

आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँहरूमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानदेखि वर्षाको मात्रा बढेको छ। लगातार झरी परिरहेको हो । अहिले पछिल्लो एक घण्टामै काठमाडौँमा ६, ललितपुरमा ९.८ र भक्तपुरमा पाँच मिलिमिटर वर्षा भएको छ । अहिले उपत्यका आसपासका जिल्लासहित तराई केन्द्रित वर्षा भइरहेको जल तथा मौसम विज्ञन विभागले जानकारी दिएको छ । पछिल्लो एक घण्टामा पर्सामा १० र रौतहटमा १०.६ मिलिमिटर वर्षा भएको छ । महोत्तरी र धनुषासम्म वर्षा भइरहेको जनाइएको छ ।
पछिल्लो १२ घण्टामा भने सबैभन्दा बढी कैलालीको गर्भामा ८३.२ मिलिमिटर वर्षा भएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए। उनका अनुसार १२ घण्टामा पर्सामा ४० र बारामा २८ मिलिमिटर वर्षा भएको छ । 

अवरुद्ध छैन बुटवल–नारायणगढ सडक
पूर्वी र पश्चिम नवलपरासीमा हिजो बेलुकादेखि वर्षा भइरहेको छ । यद्यपि यो समाचार तयार पार्दासम्म जिल्लामा डुबान र राजमार्ग अवरुद्ध भएका खबर प्राप्त भएका छैनन् । पूर्व पश्चिम राममार्गअन्तर्गत बुटवल(नारायणगढ सडक खण्ड सञ्चालनमा छ भने भित्री तथा सहायक मार्गमा पनि अवरोध नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीले सतर्कता अपनाउन आग्रह गरेको छ । 

अरनिको राजमार्गमा पहिरो खसेपछि एकतर्फी सवारी सञ्चालन

पहिरोका कारण अरनिको राजमार्गमा एकतर्फी सवारी सञ्चालन गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सुख्खा पहिरो झरिरहेका कारण उक्त सडकमा एकतर्फीमात्रै सवारी सञ्चालन गरिएको हो।
राजमार्गको धुलिखेल–खावा सडक खण्डअन्तर्गत तिरतिरे धारामा स–साना ढुंगा झरिरहेकाले राजमार्गमा अहिले एकतर्फीमात्रै सवारी चलाइएको प्रहरी निरीक्षक सुनिल धाँजुले जानकारी दिए। रातिदेखि परेको पानीले राजमार्गमा ढुंगासहित स–साना पहिरो झरिरहेको उनले बताए । त्यस्तै, वीपी राजमार्गअन्तर्गत मंगलटारमा लेदोसहितको स–सानो पहिरो झरिरहेको छ।

मौवा खोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत धादिङको मौवा खोलामा पहिरो खस्दा सवारी आउजाउ अवरुद्ध भएको छ । धादिङको बेनीघाट रोराङ–१० जवाङखोलामा गएराति पहिरो खसेको थियो । सो पहिरो पन्छाएको केही समयमा नै बिहान ६ बजेतिर पुनः पहिरो खसेपछि अहिले सो खण्ड दुईतर्फी नै बन्द भएको हो । अहिले काठमाडौंबाट मुग्लिङतर्फ जाने सवारीलाई धादिङको मलेखु खण्डमा नै रोकिएको छ । लगातार वर्षा भइरहेको भए पनि पहिरो पन्छाउने जारी रहेको धादिङ प्रहरीले जनाएको छ ।

विपद् पूर्वतयारी र प्रतिकार्यमा उच्च सक्रियताका साथ जुट्न निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विपद् पूर्वतयारी र प्रतिकार्यमा उच्च सक्रियता देखाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश विपद् व्यवस्थापन समिति, जिल्ला विपद्व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिलाई निर्देशन दिएको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालयले आज विज्ञप्ति जारी गर्दै विपद् पूर्वतयारी, प्रतिकार्य, खोज उद्धार, राहत तथा पुनस्थापनालाई प्रभावकारीरूपमा सम्पादन गरी विपद्‌बाट हुन सक्ने जोखिम न्यूनीकरणमा योगदान गर्न आग्रह गरेको हो ।

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  १९:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार