मेयर्स फोरमद्वारा सिंहदरबार पुनर्निर्माणका लागि पाँच करोड सहयोगको घोषणा

शुक्रबार, असोज १०, २०८२

काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमले हालै जेनजी आन्दोलनको क्रममा भएको अराजक गतिविधिप्रति कडा आपत्ति जनाउँदै सार्वजनिक सम्पत्तिको सुरक्षा र पुनर्निर्माणका लागि ठोस कदम चालेको छ । 
असोज ९ गते गोदावरी नगरपालिकामा सम्पन्न बैठकले आन्दोलनको नाममा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, प्रहरी कार्यालय, नगरपालिकाका भवनहरू लगायतका संरचनामा गरिएको तोडफोड र आगजनीप्रति घोर निन्दा जनाएको छ । फोरमले आन्दोलनको क्रममा भएको हिंसात्मक गतिविधि जेनजी पुस्ताको असली उद्देश्य नभएको ठहर गर्दै यसमार्फत लोकतान्त्रिक मूल्य, संवैधानिक व्यवस्था र सार्वभौमसत्तामा आँच पुर्‍याउने प्रयास भएको उल्लेख गरेको छ । यस्ता अराजक क्रियाकलापमा संलग्नहरूमाथि छानबिन गरी कडा भन्दा कडा कारबाहीको माग गर्दै वर्तमान सरकारलाई फोरमले कडा सन्देश दिएको छ ।
सिंहदरबारको पुनर्निर्माणका लागि मेयर्स फोरमले ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । यस्तै, काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था सुदृढ गर्न एक करोड रुपैयाँ उपत्यका प्रहरी कार्यालयलाई प्रदान गरिने र तोडफोडमा परेका प्रहरी चौकी तथा नगरपालिकाहरूको सेवा प्रवाह सहज बनाउन आवश्यकताका आधारमा थप सहयोग गरिने फोरमले जनाएको छ ।
फोरमले आन्दोलनको क्रममा मृत्यु हुनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै, संवैधानिक शासन र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाका लागि युवा पुस्ताको मागप्रति ऐक्यवद्धता जनाएको छ । फोरमले राष्ट्रपतिद्वारा विषम परिस्थितिमा गरिएको पहलको पनि स्वागत गर्दै कृतज्ञता व्यक्त गरेको छ। बैठकमा काठमाडौं उपत्यकाका १८ वटा नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू र तीन गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरू सहभागी थिए । फोरमका अध्यक्ष चिरीबाबु महर्जन र महासचिव घनश्याम गिरीले संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिमा स्थानीय तहबीचको सहकार्य, समन्वय, असल अभ्यासको आदानप्रदान र नागरिक सेवा प्रवाहमा प्रतिबद्धता जनाइएको छ । साथै, सार्वजनिक सम्पत्तिको संरक्षण र संकटको बेला संयमता अपनाउन सबै संघसंस्था, समूह तथा टोल विकास संस्थाहरूसँग एकजुट हुन अपिल गरिएको छ ।

553244150_2182910995539393_8522078213309073300_n-1758879323.jpg
 

यस्तो छ मेयर्स फोरमद्वारा जारी प्रेस विज्ञप्ति

काठमाण्डौं उपत्यका मेयर्स फोरम, काठमाडौं उपत्यकामा रहेका १८ वटा नगरपालिकाका प्रमुख र उपप्रमुख सदस्य र तीनवटा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष आमन्त्रित सदस्य रहेको संस्था हो । यसले नागरिकको दुःख, सुख र स्थानीय विकासमा प्रत्यक्ष सरोकार राख्दछ । त्यसैगरी फोरम स्थापनाको अर्को उद्देश्य स्थानीय तहबीच भएका असल अभ्यासहरुको आदानप्रदान गर्ने, समान प्रक्तिका विषयमा संगठित आवाज उठाउने, पालिकाहरुबीच सहकार्य, समन्वय र आवश्यक पर्दा एकले अर्कालाई सहयोग गर्नु हो । स्थानीय तहको पहिलो निर्वाचन (वि.सं. २०७४) सम्पन्न भएसँगै गठन भएको यस फोरमको बैठक पालिकाहरुमा क्रमश पालैपालो गर्दै आएकोमा बाह्रौ बैठक मिति २०८२ असोज ९ गते गोदावरी नगरपालिकामा बस्यो । फोरमको बैठकले Gen- Z पुस्ताले देशमा भ्रष्टाचार अन्त्य र सुशासन कायम हुनुपर्ने मागसहित २०८२ भदौ २३ गते गरेको प्रदर्शनमा भएको घुसपैठ र सोबाट उत्पन्न परिस्थितिवाट भदौ २४ गते राष्ट्रकै धरोहर सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, नगरपालिकाहरुको भवन, सुरक्षा निकायका प्रहरी कार्यालय लगायतका सार्वजनिक सम्पत्तिमा भएको आगजनी र तोडफोड निन्दनीय छ । Gen Z पुस्ताको आन्दोलनमा यस्तो अराजक तथा तोडफोडको योजना समेत नभएको हुनुपर्ने ठहर गर्दै Gen Z को नाममा भएको अराजकता, नेपालको अस्मिता, लोकतन्त्र र सार्वभौम सत्तामा नै धक्का पुग्नेगरी आगजनी तथा तोडफोड गर्ने कार्यवाट देश मात्र आक्रान्त नभई अन्तराष्ट्रिय जगतमा समेत वद्नामी र वेइज्जती भएको छ । यस्ता अराजक कार्य गर्नेहरुको खोजी तथा छानविन गरी कडाभन्दा कडा कारबाही गर्न वर्तमान सरकारसँग काठमाडौं उपत्यका मेयर्स फोरम जोडदार माग गर्दछ । नेपालको संविधान, लोकतन्त्रको संरक्षण गर्दै सुशासनयुक्त कार्यमा वर्तमान सरकारलाई सहयोग गर्न फोरम सदासर्वदा तयार रहेको समेत प्रष्ट पार्दछ । Gen- Z आन्दोलन पछिको देशमा उत्पन्न विषम् परिस्थितिमा संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको निर्णयको सम्मान गर्दै मेयर्स फोरम उहाँ समक्ष हार्दिक कृतज्ञता सहित धन्यवाद व्यक्त गर्दछ । ऐतिहासिक तथा राष्ट्रको धरोहर सिंहदरबार भवनको पुनर्निर्माणका लागि फोरमको तर्फबाट रु. ५ करोड सहयोग गर्ने । काठमाण्डौ उपत्यकाको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन CCTV प्रणाली व्यवस्थापन लगायतका लागि काठमाण्डौं उपत्यका प्रहरी कार्यालय लाई रु. १ करोड र तोडफोड भएका प्रहरी चौकी पुनर्निर्माण गर्न, तोडफोड र आगजनीका कारण क्षतिग्रस्त भएका उपत्यकाका नगरपालिकालाई समेत सेवा प्रवाहमा सहजीकरणका लागि क्षतिविवरणका आधारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछ । आफ्‌नो कार्यक्षेत्र अन्तर्गत नपर्ने केन्द्रिय आयोजनाहरुको काम समयमा सम्पन्न नहुँदा त्यसवाट उत्पन्न हुने असुविधा र आकोशको निशाना समेत स्थानीय सरकार भईरहेको यथार्थ हो । यस्तो परिस्थितिमा समेत सहमति सहकार्य र सम्वाद मार्फत समस्याको समाधान खोजिरहेका जनताको सेवामा समर्पित स्थानीय सरकारका सार्वजनिक सम्पति तथा जनप्रतिनिधिको नीजि सम्पतिलाई समेत लक्षित गरि तोडफोड र आगजनी गर्नु निन्दनीय कार्य हो । जनताको करवाट सृजित हाम्रा साझा तथा सार्वजनिक सम्पतिको संरक्षण गर्नु हामी सबैको कर्तव्य भएकोले उक्त सम्पतिको रक्षाका लागि स्थानीय संघसंस्था, समुह तथा टोल विकास संथा सबै सशक्त र एकजुट हुन समेत मेयर्स फोरम अपिल गर्दछ । जनतामा निहित सार्वभौमसत्ता, संविधान र संघीय गणतान्त्रिक नेपालको गरिमा र अस्मिता जोगाउन काठमाडौं उपत्यका मेयर्स फोरम आफ्‌नो स्रोत, साधनलाई पारदर्शी, मितव्ययी र जबाफदेही ढंगले परिचालन गर्ने समेत प्रतिबद्धता जनाउँछ । यसैगरी Gen- Z पुस्ताले अधि सारेको भ्रष्टाचार नियन्त्रण र शुसासन कायम हुनुपर्ने मागप्रति फोरमको ऐक्यबद्धता रहेको छ अन्त्यमा, काठमाडौं उपत्यका मेयर्स फोरम Gen Z पुस्ताको प्रदर्शनको क्रममा मृत्युवरण गर्नु हुने सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दै मृतकको आत्माको चीरशान्तिको कामना गर्दछ । शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना समेत प्रकट गर्दछ। साथै उक्त घटनामा परि घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

 

 

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  १५:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार