सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । बाढी–पहिरोका कारण अवरुद्ध सडक खुलाउने क्रम जारी छ । पहिरोका कारणले अवरुद्ध भएका केही सडक सञ्चालनमा आइसकेका छन् । तर अझै पनि केही सडक खुल्न सकेका छैनन् । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । पृथ्वी राजमार्गको घोप्टेभिर र जवाङ खोला पहिरो हटाई यातायात सुचारु गरेको नागढुङ्गा मुग्लिङ सडक योजनाले जानकारी दिएको हो । गएराति जवाङखोला लगायतका स्थानमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प भएको थियो । त्यस्तै काठमाडौँ उपत्यकालाई देशका विभिन्न स्थानसँग जोड्ने मुख्य सडक मुग्लिन–नारायणगढ सडकखण्ड पूर्ण रुपमा अवरुद्ध छ । तुइन खोलामा आज पनि पहिरो पन्छाउने क्रम जारी नै रहेको सड्क विभाका प्रवक्ता प्रभात झा ले जानकारी दिएका छन् । हिजो साँझ पानी परेकाले पहिरो पन्छाउने काम रोकिएपनि आज बिहानैबाट पहिरो पन्छाउने काम सुरु भइसकेको उनले जानकारी दिएका छन् । बुधबार राती ठुलो पानी परे पनी थप पहिरो झरेको छैन् । तर पहिरो पन्छाएर बाटो खुलाउन कम्तिमा दुई दिन लाग्न सक्ने अनुमान गरिएको छ । त्यस्तै शहिदमार्गमा भने सहज रुपमा यातायात संचालन भइरहेको छ ।
के छ मुख्य राजमार्गको खबर ?
चाडबाडको चहलपहल बढेसँगै संघीय राजधानी काठमाडौं छाडेर घर जानेहरुको लस्कर हरेक दिन बढ्दो छ । तर उपत्यकाबाट बाहिरिने मुख्य राजमार्गहरुको अवस्था राम्रो छैन । पहिरोलगायत विभिन्न कारणले मुख्य राजमार्गहरु घन्टौं अवरुद्ध भइरहेका छन् ।
बागलुङ-कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
पहिरोले अवरुद्ध बनेको बागलुङ-बलेवा-कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालनमा आएको छ । वर्षाका कारण सडक भाँसिएपछि अवरुद्ध बनेको उक्त सडक बुधबारदेखि सञ्चालनमा आएको हो । बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरो जाँदा करिब १०० मिटर सडक भाँसिएको थियो । गत असारदेखि बन्द भएको सडक खुलाउनका लागि डोजरसहितका उपकरण प्रयोग गरिएको थियो ।
सडक अवरुद्ध हुँदा बागलुङ नगरपालिका-१० गलुवा, भकुण्डे, वडा नं १३ पैयुँपाटा, वडा नं १२ को अमलाचौरसहित दक्षिण बागलुङका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको थियो । बलेवा क्षेत्रबाट २० मिनेटमा सदरमुकाम बागलुङ बजार पुग्न सकिनेमा पहिरोका कारण दुई घण्टाको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो ।
पहिरोका कारण देशभर पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध
मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढीपहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका हुन् ।
त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट सडकखण्ड र रुकुम पूर्वको भूमे गाउँपालिका-४ स्थित मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए। उनका अनुसार नवलपरासी पूर्वस्थित पूव-पश्चिम राजमार्ग, बाग्लुङस्थित कालिगण्डकी करिडोर, रसुवास्थित त्रिशुली-मैलुङ सडक एकतर्फी रूपमा सञ्चालनमा रहेका छन् ।
बीपी राजमार्गमा कुनै अवरोध छैन : सडक विभाग
नारायणगढ-मुग्लिन सडक पहिरोका कारण अवरुद्ध भएपनि पूर्वी नेपाल जाने अर्को बीपी राजमार्गमा भने कुनै अवरोध छैन। दसैंमा उपत्यकाबाट बाहिरिने सवारीको चाप बढी भएपनि राजमार्ग अवरुद्ध नरहेको सडक विभागका प्रवक्ता प्रभात कुमार झाले बताए । गतवर्षको बाढीका कारण क्षत्विक्षत् बनेको यो राजमार्ग अझै बनेको छैन। तर दसैंमा यो सडक भएर दैनिक १० हजार बढी सवारी साधन बाहिरिने गरेका छन्।
तुइन खोला पहिरो : पहिरो पन्छाउन धेरै उपकरण प्रयोग गर्न नपाउँदा ढिलाइ
नारायणगढ-मुग्लिन सडकको मुग्लिन नजिक तुइनखोलामा खसेको पहिरो सफा गर्न भरतपुरको डिभिजन सडक कार्यालयले आज बिहीबार बिहानैदेखि पाँचवटा मेसिन प्रयोग गरिरहेको छ । पहिरो खसेपछि मंगलबार दिउँसो पाँच बजेदेखि यो सडक ठप्प छ । हिजो बुधबार साँझपख पानी परेपछि राति अबेरसम्म काम गर्न नसकेका कारण आज पनि बाटो खुल्ने, नखुल्ने निश्चित छैन । पहिरो गएको ठाउँ साँधुरो भएका कारण धेरै मेसिनहरू उपयोग गर्न नसकिएको डिभिजन सडक कार्यालयका सुचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले बताए । मलेखु-मुग्लिन सडक खण्डअन्तर्गत घोप्टेभीर र जवाङ खोलामा पहिरो खस्दा सवारी आवागमन ठप्प मलेखु-मुग्लिन सडक खण्डअन्तर्गत घोप्टेभीर र जवाङ खोलामा बुधबार राति पहिरो खस्दा सवारी आवागमन ठप्प बनेको छ । पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भइरहेको आयोजनाले जनाएको छ ।
मुग्लिन नारायणगढ सडक खण्डमा प्रहरीको नि:शुल्क बस
तुइनखोलाको पहिरोका कारण बीच सडकमै अलपत्र परेका यात्रु र पहिरो छलेर पैदलै आएका यात्रुहरुको उद्धारका लागि प्रहरीले नि:शुल्क बस सञ्चालन ल्याएको छ । अलपत्र परेकाहरुको उद्धारका लागि प्रहरी स्कुलको बस नि:शुल्क रुपमा उपलब्ध गराइएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए ।