स्नेहाज केयरले दियो  सामुदायिक कुकुरलाई रेबिजविरुद्धको खोप 

बिहीबार, असोज ९, २०८२

ललितपुर । पशु अधिकार र कल्याणका लागि क्रियाशील संस्था स्नेहाज केयरले ललितपुर महानगरभित्रका सामुदायिक कुकुरलाई रेबिज विरुद्धको खोप दिन सुरु गरेको छ । ललितपुर महानगरपालिकासँग सहकार्य गरी स्नेहाज केयरले रेबिज विरुद्धको खोप कार्यक्रम सुरु गरेको हो ।  पहिलो चरण अन्तर्गत महानगरका वडा नं. १२ र वडा नं. १६ बाट खोप लगाउन कार्यक्रम सुरु गरिएको स्नेहाज केयरकी अध्यक्ष स्नेहा श्रेष्ठले जानकारी दिइन् । उनले भनिन्, ‘महानगरसँग छलफल गरेर यी वडामा खोप कार्यक्रम सुरु गरेका हौं । महानगरको वडा नंं. १२ र वडा नं. १६ पाटन दरबार क्षेत्र अवस्थित छ ।  महानगरका कृषि तथा पशु सेवा शाखा प्रमुख एवम् पशु चिकित्सक राजेन्द्र विष्टले पर्यटकहरूको आउजाउ हुने भएकाले प्राथमिकतामा राखेको बताए । विष्टका अनुसार सामुदायिक कुकुरको संख्या धेरै भएको वडाहरूमा चरणबद्ध रुपमा स्नेहाज केयरसँगको सहकार्यमा यो कार्यक्रम अघि बढाइनेछ । सेप्टेम्बर २८का दिन विश्व रेबिज दिवस मनाइन्छ । महानगरले सामुदायिक कुकुरलाई रेबिज विरुद्धको खोप कार्यक्रमसँगसँगै पशु अधिकारको क्षेत्रमा निरन्तर काम गरेको छ । स्नेहाज केयरकी संस्थापक अध्यक्ष एवम् पशु कल्याण संघकी अध्यक्ष स्नेहा श्रेष्ठले सन् २०३० सम्म कुकुरको टोकाइबाट हुने ररेबिज उन्मूलन गर्ने राष्ट्रिय नीतिलाई सहयोग गर्न सामुदायिक कुकुरका लागि  खोप कार्यक्रम राखेको बताइन् । नेपाल सरकारले रेबिज विरुद्धको खोप उत्पादन  गरे मात्रै सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने रेबिज उन्मुलन हुन सक्ने उनको भनाई थियो । स्नेहा श्रेष्ठले भनिन्, ‘खोप उत्पादन नेपालले गर्नुपर्छ, आयातित खोपले तोकिएको अवधिसम्म रेबिज उन्मुलन हुन गाह्रो छ ।’ पशु अधिकारको क्षेत्रमा कार्यरत संस्था स्नेहाज केयरसँग सहकार्य गरेर खोप कार्यक्रम गरेकोमा उनले महानगरलाई विशेष धन्यवाद दिइन् । स्थानीय तहले तीन तहको सरकारमध्ये जनतासँग नजिक रहेको बताउँदै सामुदायिक कुकुरलाई रेबिज विरुद्ध खोप लगाएर नागरिकको स्वास्थ्य र पशु अधिकारमा महानगरले संवेदनशीलता देखाएको बताइन् । 
रेबिज एक गम्भीर पशु स्वास्थ्य समस्या हो । यो कुकुर, बिरालो जस्ता जनावरहरूबाट मानिसमा पनि सर्ने गर्छ । रेबिज भाइरस जनावरबाट जनावरमा टोकेर , घाउ र संक्रमित रालको माध्यमबाट सर्छ ।  स्नेहाज केयरले रेबिज विरुद्धको खोप कार्यक्रमलाई चरणबद्ध रुपमा अघि बढाउने जनाएको छ । स्नेहाज केयरकी अध्यक्ष स्नेहा श्रेष्ठले भनिन् ‘ उपचार नभएको यो रोगबारे हामी संवेदनशील छौं, त्यसैले खोप कार्यक्रमलाई प्राथमिकतामा राख्यौँ ।’ स्नेहाज केयरका अनुसार ललितपुर महानगर क्षेत्र भित्र १० हजार सामुदायिक कुकुर छन् ।

WhatsApp-Image-2025-09-25-at-13.47.50-1758787414.jpeg
 

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  १३:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार