जेन–जी पुस्ताको प्रदर्शनका क्रममा विस्थापित प्रहरी प्रभाग हरिसिद्धि पुनस्र्थापित (भिडियो) 

बुधबार, असोज ८, २०८२

ललितपुर । जेन–जी पुस्ताको प्रदर्शनका क्रममा गत भदौ २४ गते तोडफोड तथा आगजनी भई बिस्थापित भएको ललितपुर जिल्ला हरिसिद्धि प्रभाग पुनस्र्थापित भएको छ । तोडफोड तथा आगजनी भएको कार्यालयमा स्थानीयको सहयोगमा सरसफाई तथा मर्मत गरी प्रहरी कार्यालय पुनरस्थापना गरिएको हो । प्रहरी प्रभाग हरिसिद्धिमा गरिएको आगजनी तथा तोडफोडपछि विस्थापित भएका प्रहरीहरूलाई गत आइतबार पुनस्र्थापित गरिएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, वडा नं. २८ का वडाअध्यक्ष बीरेन्द्र महर्जन, २९ नं. वडाका वडाअध्यक्ष गणेश महर्जन स्थानीय समाजसेवी, बुद्धिजीवी तथा युवा तथा महिलाहरूको अगुवाईमा विस्थापित प्रहरीहरूलाई पुनस्थापित गरिएको हो । वडाअध्यक्षद्धयसहित स्थानीयले प्रहरीहरूलाई टीका खादा लगाएर पुनस्र्थापित गराएका हुन् । प्रहरी प्रभाग हरिसिद्धिका प्रहरीहरूलाई पुनस्र्थापित गर्न आयोजित संक्षिप्त कार्यक्रममा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले जेनजी प्रदर्शनका क्रममा तोडफोड तथा आगजनी भएको प्रहरी चौकी मर्मत तथा सरसफाईमा लाग्नु हुने स्थानीयवासीलाई धन्यवाद दिँदै प्रहरी कार्यालय स्थापनापछि वडाको शान्ति सुरक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘अन्य समय भन्दा दशैंका बेला सुरक्षा निकायका कार्यालयहरू अति आवश्यक हुन्छन्’, उनले भने, ‘चाहिएका बेला सहयोग गरी प्रहरी कार्यालय पुनस्र्थापित गर्नु भएकोमा स्थानीयवासीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।’ 

WhatsApp-Image-2025-09-23-at-11.07.19-(2)-1758686181.jpeg
प्रहरी चौकी पुनस्र्थापनाका विषयमा मैले दुवै वडाअध्यक्षहरूसँग परामर्श गरेको स्मरण गर्दै मेयर महर्जनले भने, ‘जनस्तरबाट थोरै भए पनि सहयोग लिनुपर्छ, सहयोग लिइयो भने अपनत्व हुन्छ भनेर मैले दुवै वडाअध्यक्षहरूलाई भनेको थिँए । जनस्तर, वडाको सहयोगले पनि भ्याएन भने महानगर छँदै छ पनि भनेको थिँए । महानगरसम्म आइपुग्न नपर्ने जस्तो लाग्यो ।’ कार्यक्रममा वडा नं. २८ का वडाअध्यक्ष बीरेन्द्र महर्जनले जेनजी पुस्ताको प्रदर्शनका क्रममा प्रहरी कार्यालय आगजनी तथा तोडफोडपछि यहाँका प्रहरीलाई खाना बस्नको व्यवस्था गरिदिने अस्पताललाई धन्यावद दिँदै तोडफोडपछि प्रहरी चौकी सरसफाई तथा मरमतका लागि परदर्शी ढंगबाट काम गर्न आफूहरूले सर्बपक्षीय भेला गराई ११ सदस्यीय कमिटी नै गठन गरी काम अघि बढाएको जानकारी दिए ।  ‘मनकारीहरू कतिले नगद सहयोग गर्नुभयो, कतिले जिन्सी सहयोग गर्नु भएकै कारण आज हामी प्रहरीलाई पुनस्र्थापित गर्न सफल भएका छौं । यहाँ भएको खर्च पारदर्शी ढंगले सार्वजनिक गर्नेछौं’, उनले भने, ‘सरसफाई तथा मरमत सुरु गर्नुअघि हामी दुई (२८–२९ वडा) अध्यक्षले के कति सहयोग उठ्छ त्योबाट काम सुरु गर्ने र नपुग भए दुबै वडाले खर्च व्येहोर्ने भद्र सहमति गरेका थियौं ।’  उनले भदौ २४ गते प्रहरी कार्यालयमा तोडफोड तथा आगजनी भएछि करिब २ सय जनाजति स्थानीय युवाहरूले समूह बनाएर रात्रि गस्ती सुरु गरिएको जनाउँदै यो कार्यमा खटिनुहुने सबै युवालाई धन्यवाद पनि दिए ।  कार्यक्रममा ललितपुर महानगर २९ नं. वडाका वडाअध्यक्ष गणेश महर्जनले दशैंलाई मध्यनजर गरी समुदायको सहयोगमा प्रहरी चौकी पुनस्र्थापित गर्न सफल भएको बताए ।  जेनजी पुस्ताको प्रदर्शनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झनामा एक मिनेट मौन धारणा गरी सुरु भएको उक्त कार्यक्रममा प्रहरी प्रभाग हरिसिद्धिका प्रहरीहरूलाई टीका तथा खादा लगाएर  पुनस्र्थापित गरिएको थियो ।

WhatsApp-Image-2025-09-23-at-11.07.18-(2)-1758686183.jpeg
 

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  १०:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार