सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । गोदावारी नगरपालिकाले जेनजी पुस्ताको प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएका नगरभित्रका संरचना पुनर्निर्माण गर्न पुनर्निर्माण कोष स्थापना गरेको छ । उक्त कोषमा नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारी समेत गरी ६ सय जनाले ५ दिनको तलब र भत्ता राख्ने निर्णय मंगलबार बसेकोे कार्यपालिका बैठकले गरेको हो । नगर प्रमुख गजेन्द्र महर्जनले प्रहरी चौकीलगायत अन्य संरचना पुनर्निर्माणका लागि उक्त निर्णय गरेको बताए । उनले भने, ‘ पुनर्निर्माणमा जुट्न म सबैलाई आग्रह गर्छु, सहयोगको अपेक्षा गर्छु ।’ पुनर्निर्माणलाई सहयोग गर्न उक्त कोषमा आफूले सकेको रकम जम्मा गरी सहयोग गर्न समेत उनले आह्वान गरेका छन् । नगरपालिकाले नगरभित्र तोडफोड भएका संरचनाको पुनर्निर्माणको काम सुरु गरी सकेको बताउँदै नगरले अहिलेको परिस्थितिमा संयमित हुन अनुरोध गरे । उनले भने,‘ वर्तमान परिस्थितिमा हामी सबै एक हुनुपर्छ, धैर्य गरौँ ।’ एनआइसी एसिया बैंकमा रहेको नगरको खाता नं. 41CA149786552402 मा रकम जम्मा गर्न सक्ने नगरपालिकाले जनाएको छ । यसैगरी इच्छुक व्यक्तिले नगरपालिकामा नै आएर पनि पुनर्निर्माण कोषमा रकम जम्मा गर्न सक्ने नगरले बताएको छ । बैठकले जेनजी प्रदर्शनको क्रममा निधन भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नुका साथै शोकसन्तप्त परिवारजनमा समवेदना अर्पण गरेको छ । त्यसैगरी गरी सम्पूर्ण घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । बैठकले भदौ २४ गते तोडफोड र आगजनी हुनबाट नगरपालिका भवन र वडा कार्यालयका भवनहरु जोगाउने स्थानीयलगायत सम्पूर्णप्रति धन्यवाद व्यक्त गरेको छ । जेनजी पुस्ताले भ्रष्टाचारको विरोधमा भदौ २३ गते प्रदर्शन गरेको थियो । प्रदर्शनमा तत्कालीन सरकारको चरम दमनपछि भदौ २४ गते सडकमा उत्रिएको भीडले सार्वजनिक संरचनाको तोडफोड र आगजनी गरेको थियो ।