सरकारले लोकतन्त्र, ट्रेड युनियन अधिकार र श्रमिकको पक्षमा काम गरोस् : आईटियुसी

बिहीबार, असोज २, २०८२

काठमाडौं । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ अर्थात ईन्टरनेशनल ट्रेड युनियन कन्फेडेरेशन एशिया प्रशान्त क्षेत्रको(आईटियुसिएपि)ले नेपालमा पछिल्लो नेपालको पछिल्लो राजनीतिक अवस्थाका कारण लोकतन्त्र, न्याय र कामदारको अधिकारमा कमी हुन नदिन आग्रह गरेको छ ।  आइटियुसी एसिया प्यासिफिक सिंगापुर कार्यालयबाट महासचिव शोया योशिदाले कन्फेडेरेशनका तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै जस्तोसुकै राजनीतिक परिवर्त भएपनि लोकतान्त्रिक पद्धति, कामदारको अधिकार, सम्मानजनक रोजगारी र सामाजिक सुरक्षामा कुनै किसिमको सम्झौता हुन नहुनेमा जोड दिइन् । उनले लोकतान्त्रिक पद्धति र प्रणालीगत सुधारहरूमा जोड दिएकी छन् ।  जारी विज्ञप्तिमा भनिएको छ,‘सेप्टेम्बर ८ मा नेपालका युवाहरूको नेतृत्वमा भएको विरोध प्रदर्शनले भ्रष्टाचार, बेरोजगारी र नातावादप्रतिको निराशालाई प्रतिबिम्बित गरेको छ । जसले लोकतन्त्रलाई कमजोर बनाउँछ र काम गर्ने मानिसहरूलाई अवसरबाट वञ्चित गर्छ । विरोध प्रदर्शनका क्रममा ७४ जनाले ज्यान गुमाए र तीमध्ये धेरैजसो युवाहरू थिए।’ ‘नेपालले अहिले राजनीतिक र संवैधानिक अनिश्चितताको सामना गरिरहेको अवस्थामा, दिगो स्थिरताका लागि लोकतान्त्रिक नवीकरण र श्रमिक जनतामा सेवा प्रदानमा सुधार आवश्यक छ । हालको संघर्षले लोकतान्त्रिक विधिबाट कामदारहरूको सुरक्षा, न्यायको ग्यारेन्टी र सबैका लागि अवसरहरू सिर्जना गर्छ,’ महासचिव शोया योशिदाले भनेकी छन् ।  त्यस्तै उनले विभिन्न प्रतिष्ठान र पूर्वाधारमा भएका हिंसात्मक आक्रमणका कारण आफ्नो जागिर र जीविकोपार्जन गुमाएका हजारौं कामदारहरूसँग आफूहरु साथमै रहेको उल्लेख गरेकी छन्  ।  हालको विषम परिस्थितिमा अन्तरिम सरकारले कामदारहरूको एजेन्डालाई  प्राथमिकतामा राख्न पनि आग्रह गरिएको छ । साथै उनले मृतकका परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको पूर्ण स्वास्थ्यलाभको कामना गरेकी छन् ।  नेपालको अन्तरिम सरकारलाई ५ मार्च २०२६ सम्ममा निर्वाचन गर्ने आफ्नो कार्यादेश पूरा गर्न र यो प्रक्रियाले लोकतन्त्रलाई बलियो बनाउने कुरा सुनिश्चित गर्न आह्वान समेत गरेको छ ।  आइटियुसी एसिया प्यासिफिकमा नेपालमा नेपाल ट्रेड युनियन कांग्रेस , नेपाल ट्रेड युनियन महासंघ र अखिल नेपाल ट्रेड युनियन महासंघ रहेका छन भने सो कन्फेडेरेशनमा एशिया प्रशान्त क्षेत्रका ३६ देशमा ६२ वटा ट्रेड युनियन महासंघहरु सदस्य संस्थाको रुपमा क्रियाशिल रहेका छन् । साथै एसिया क्षेत्र भित्र कुल ६ करोड सदस्य रहेका छन् । 

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  १३:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार