सोसल मिडिया
Contact Us
युनिकोड
धापाखेल (ललितपुर) । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहीदहरूको सम्झनामा हिजो देशभर राष्ट्रिय शोक दिवस मनाइएको छ । नेपाल सरकारद्वारा घोषित राष्ट्रिय शोक दिवसको अवसरमा ललितपुर महानगरपालिका २४ नं. कार्यालय धापाखेलले बुधबार साँझ वडा कार्यालय भवन तीनकुने पोखरी दानघाट चोकमा दीप प्रज्जवलनसहित श्रद्धाञ्जलित सभा आयोजना गर्यो । दीप प्रज्जवलन तथा श्रद्धाञ्जलि सभामा ठूलो संख्यामा वडावासी उपस्थित भएका थिए । कार्यक्रममार्फत आन्दोलनमा सहादत प्राप्त गरेका युवाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरूको सपना साकार पार्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
दीप प्रज्जवलन तथा श्रद्धाञ्जलि सभामा उपस्थितहरूले ‘शहीदका सपना पूरा गर्नु नै अबको हाम्रो दायित्व भएको’ प्रतिवद्धता गरेका छन् । ‘महान् शहीदहरू अमर रहुन्’ वाक्य उच्चारण गरी भावनात्मक वातावरणमा श्रद्धाञ्जली अर्पण तथा दीप प्रज्जवलन गरिएको थियो । शहीदहरूको सम्मानमा एक मिनेट मौन धारणा गरी सुरु भएको श्रद्धाञ्जलि सभा तथा दीप प्रज्जवलन गर्नुअघि आयोजित संक्षिप्त कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं. २४ का वडाअध्यक्ष दिनेश जंग पाण्डेले गत भदौको जेनजी पुस्ताको आन्दोलनमा वडाका युवाहरू पनि अग्रपंक्तिमा रहेर सहभागी भएपनि उहाँहरूको सुझबुझका कारण वडामा मानवीय तथा भौतिक क्षति नभएको जनाए । आन्दोलनमा सहभागी भएका युवाहरूकै सुझबुझका कारण यो वडा भित्र मानवीय तथा भौतिक क्षति हामीले बेहोर्नु परेन उनले भने, ‘नेतृत्वमा यो खालको सुझबुझ हुनैपर्छ ।’ उनले जेनजी पुस्ताले नयाँ नेपालको परिकल्पना गरेको बताउँदै नयाँ नेपालको परिकल्पनालाई साकार पार्न सबैले सच्चिनुपर्नेमा जोड दिए । ‘काम गर्दा गल्ती कमजोरी भएका होलान, दौडने मान्छे लड्छ’, उनले भने, ‘अब म युवाले खोजे अनुरुप काम गर्ने प्रण गर्दछु’, उनले भने । दीप प्रज्जवलन तथा श्रद्धाञ्जलि सभामा वडाअध्यक्ष पाण्डेसहित वडाका जनप्रतिनिधि, कर्मचारी, नेपाली काँग्रेस ललितपुरका उपसभापति सुदर्शन घिमिरे, पूर्ववडाअध्यक्ष दिनेश कार्की, नेपाली काँग्रेसका इकाई सभापति, नेकपा एमालेका वडा समितिका अध्यक्ष तथा पदाधिकारी, नेकपा माओवादी केन्द्रका वडासमितिका अध्यक्ष, राप्रपाका वडा तहका नेता, राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)का वडा तहका नेता, बुद्धिजीवी, समाजसेवी, पेशाकर्मीसहित ठूलो संख्यामा स्थानीय वडावासीको उपस्थिति रहेको थियो ।