सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज (सेप्टेम्बर १७) आफ्नो ७५औं जन्मदिन विशेष कार्यक्रमसहित मनाउँदै छन् । सन् १९५० मा गुजरातको वडनगरमा जन्मिएका मोदीले यस वर्ष मध्य प्रदेशको धार जिल्लामा जन्मदिन मनाउने कार्यक्रम तय गरेका छन् । मोदीले धारमा प्रधानमन्त्री मित्र योजनाअन्तर्गत देशको पहिलो मेगा टेक्सटाइल पार्कको उद्घाटन गर्नेछन् । भारतीय सञ्चारमाध्यमका अनुसार, यस परियोजनाले हजारौं युवालाई रोजगारी दिलाउने र स्थानीय अर्थतन्त्रमा नयाँ उर्जा भर्ने अपेक्षा गरिएको छ। त्यस्तै, ‘स्वस्थ नारी, सशक्त परिवार’ अभियान पनि मोदीले आजै सुरु गर्ने बताइएको छ । मोदीको जन्मदिन अवसर पारेर सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)ले सेप्टेम्बर १७ देखि अक्टोबर २ सम्म देशव्यापी रक्तदान, स्वास्थ्य परीक्षण, वृक्षारोपण र सरसफाइ अभियानजस्ता सामाजिक कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । यसैबीच, भारतको राजनीतिमा विपक्षी कांग्रेस नेता राहुल गान्धीको नयाँ खुलासा ‘हाइड्रोजन बम’ का रूपमा चर्चामा छ। चुनावमा धाँधली हुँदै आएको आरोपलाई प्रमाणसहित प्रस्तुत गर्ने तयारीमा रहेका गान्धी आजै देशबासीलाई सम्बोधन गर्नेछन् । गान्धीले यसअघि बैंगलोर दक्षिण लोकसभा सिटअन्तर्गत महादेवपुरा क्षेत्रमा १ लाखभन्दा बढी मत धाँधली भएको दाबी गर्दै त्यसलाई ‘परमाणु बम’ भनेका थिए । अब दोश्रो खुलासालाई उनले ‘हाइड्रोजन बम’ नाम दिएका छन्। राजनीतिक विश्लेषकहरूले गान्धीको नयाँ खुलासा कति प्रभावशाली हुन्छ भन्ने प्रश्नलाई उत्सुकतापूर्वक हेरेका छन् । भारतमा आज प्रधानमन्त्री मोदीको जन्मदिन र राहुल गान्धीको राजनीतिक बम दुवै कारणले असामान्य चहलपहल देखिएको छ ।