जेन–जी आन्दोलनको प्रभाव

पर्सा जिल्लाका पाँच चौकीमा तोडफोड र आगजनी

सोमबार, भदौ ३०, २०८२

पर्सा । देशभर चर्किएको जेन–जी आन्दोलनको प्रभाव पर्सा जिल्लामा पनि देखिएको छ । आन्दोलनका क्रममा जिल्लाका पाँच प्रहरी चौकीमा तोडफोड र आगजनी भएको पर्सा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, काठमाडौँमा भदौ २३ गते भएको प्रदर्शनमा १९ जना युवाको मृत्यु भएपछि भदौ २४ गते पर्सामा आन्दोलन उग्र बनेको हो । त्यस क्रममा सुगौलिबिर्तास्थित सानो इलाका प्रहरी कार्यालय ‘ख’, अस्थायी प्रहरी पोस्ट घण्टाघर, रानीघाट, शिव–पार्वती र गण्डक विटमा क्षति पुर्‍याइएको छ । प्रदर्शन उग्र बन्दा केही आन्दोलनकारीले प्रहरी पोस्टहरू लक्षित गरी तोडफोड र आगजनी गरेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार, आन्दोलनका क्रममा पाँचजना प्रहरी घाइते भएपनि उपचारपछि उनीहरू सबै पुनः ड्युटीमा फर्केका छन् । एसपी मिश्राले भने, ‘आज बेलुकीसम्म सबै प्रहरी विटहरू पुनःस्थापना हुनेछन् । स्थानीयवासी, बुद्धिजीवी र भद्रभलादमीहरूको सहयोगमा प्रहरी कर्मचारीहरू आफ्नो पोस्टमा फर्किएका छन् र ड्युटी सम्हाल्न थालेका छन् ।’ प्रहरीका अनुसार, चौकीहरू पुनः सञ्चालनमा आएपछि प्रहरीको मनोबल बढेको र स्थानीय सुरक्षामा सहजता आउने अपेक्षा गरिएको छ । प्रहरी प्रशासनले सबैलाई शान्तिपूर्ण तरिकाले आफ्नो आवाज उठाउन आग्रह गर्दै, सार्वजनिक सम्पत्ति र सुरक्षाकर्मीमाथि आक्रोश पोख्ने कार्य नगर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १०:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार