सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेपछि देशभरबाट सकारात्मक प्रतिक्रिया आउन थालेका छन् । ‘देशले अब आमा पायो’ भन्ने सर्वसाधारणको भनाइले जनभावनाको प्रतिनिधित्व गरेको देखिन्छ । जेन–जीको नेतृत्वमा भएको युवा आन्दोलनले निर्णायक मोड लिँदै देशमा राजनीतिक परिवर्तन ल्याएको छ । आन्दोलनको सफलताले इतिहासमै पहिलो पटक एक महिलालाई प्रधानमन्त्रीको रुपमा स्थापित गराएको छ । सुशीला कार्की, जो एक योग्य र निडर पूर्वप्रधानन्यायाधीशका रुपमा परिचित छिन्, अहिले जनताको आशाको केन्द्र बनेकी छन् । जेन–जी आन्दोलनपछि देशको नेतृत्व सम्हाल्न तयार भएकी कार्कीले प्रधानमन्त्री पदको शपथ लिएपछि नेपाल न्यूज बैंकले सर्वसाधारणसँग उनीप्रति लागेको आशा र विश्वासबारे बुझ्दा उनीहरूमध्ये धेरैजसो उत्साहित र आशावादी देखिएका छन् ।
देशले प्रधानमन्त्रीको रूपमा आमा पाएको छ बनेपाका कृष्णप्रसाद मणीकर्मीले प्रधानमन्त्री सुशीला कार्कीप्रति गहिरो भरोसा व्यक्त गर्दै भने, ‘नयाँ प्रधानमन्त्रीलाई धेरै धेरै बधाई छ । अब नेपालले प्रधानमन्त्रीका रूपमा आमा पाएको छ । उहाँ एकसय प्रतिशत नेतृत्व दिनसक्ने क्षमता भएकी महिला हुनुहुन्छ ।’ उनले विगतका भ्रष्ट नेताहरूको कारण देशले ठूलो मूल्य चुकाएको भन्दै अब सुधारको अपेक्षा व्यक्त गरे । ‘युवाहरूले गरेको आन्दोलनले देशलाई दिशा दिएको छ,’ मणीकर्मीले भने ।
अब देशमै रोजगारी हुनुपर्छ भक्तपुरका श्यामप्रसाद फुयालले देशमा बेरोजगारी, कृषि समस्या, मलको अभाव जस्ता विषयहरूको समाधान गर्नुपर्ने बताए । उनले भने, ‘अब युवाहरू विदेशिनु नपरोस् । नेपालमै रोजगारी होस् ।’ उनले कार्कीलाई सक्षम नेता बताउँदै देशलाई भ्रष्टाचारमुक्त, कृषि–आधारित अर्थतन्त्र बनाउनेतर्फ लाग्न सुझाव दिए । ‘अब हरेक सेकेण्ड–मिनेटको मूल्य थाहा हुने युग सुरु होस्,’ फुयालले भने । उनले सुशीला कार्र्कीले अब सबै नेपालीहरूको माता, आमा सम्झेर काम गर्नुपर्ने बताए । उनले सबै भ्रष्टाचारीहरूलाई नियन्त्रण गरेर छानविन गरेर सत्यतथ्य छुटाएर दोषिहरूलाई कारवाही गर्न आग्रह गरे । उनले भने, ‘सुशीला कार्र्कीले अब सबै नेपालीहरूको माता, आमा सम्झेर काम गर्नुपर्छ । सबै भ्रष्टाचारीहरूलाई नियन्त्रण गरेर छानविन होस्, सत्यतथ्य नछुटाओस् र कारवाही होस् दोषिहरूलाई यति भन्छु म अबको हाम्रो सरकारलाई ।’
महिला प्रधानमन्त्री पाएकोमा गर्व चितवनकी खुसी सुवेदीले सुशीला कार्कीलाई ‘देशको आमा’ को रुपमा स्वीकार गरेकी छन् । उनले हामी सबैको चाहना अनुसार आन्दोलन सफल भएको बताइन् । उनले भनिन्, ‘हामी सबैको चाहना अनुरुप जेनजीको आन्दोलन सफल भएर देशले प्रधानमन्त्री एउटी आमा पाएको छ । तर अब देशले जिरोबाट उठ्नुपर्ने छ ।’ उनले मुलुकको प्रत्येक क्षेत्रमा सुधारको अपेक्षा गरिन् र नयाँ नेपालको निर्माणको आशा व्यक्त गरिन् । उनले भनिन्, ‘शहीद युवाहरूको बलिदानले देशले मुहार फेरेको छ । अब देशमा केही होला की जस्तो मलाई लागेको छ । नेपालले नपाएको कुरा महिला प्रधानमन्त्री पाएको छ । एकदमै खुसी छु म । कुन ठाउँमा सुधार भएको छैन त्यो सबै अब सुधार गर्नुपर्छ । अब नयाँ नेपाल खडा गर्नुपर्छ ।’ सर्लाहीका रञ्जित कुमार राउतले हालैको जेनजी आन्दोलनमा शहादत प्राप्त गरेका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै, यो आन्दोलन देश र जनताको हितका लागि आवश्यक कदम भएको बताएका छन् । उनले भने, ‘देशमा धेरै बढी अत्याचार भइरहेको थियो, त्यसको अन्त्यका लागि यो सबै भएको हो । यो दश वर्ष अघि नै हुनुपर्ने थियो । यदि त्यतिबेलै यस्ता कदमहरू चालिएको भए, आज देश धेरै अगाडि पुगिसकेको हुने थियो ।’ जेनजी आन्दोलनको क्रममा सिंहदरवारलगायतका सरकारी निकायका संरचनाहरु नष्ट भएकोप्रति दुःख व्यक्त गर्दै उनले भने, ‘नेपाल सरकारसँग रहेका महत्वपूर्ण डाटा र संरचनामा क्षति पुर्याइनु हुँदैनथ्यो । त्यो नहुनुपर्ने थियो । तर आन्दोलन गर्ने पनि देशकै युवा थिए । जेनजी साथीहरूको नाम बदनाम पार्न अरू कसैले पनि यस्ता काम गर्न सक्छ ।’ उनले हालको नेतृत्वप्रति आशावादी दृष्टिकोण व्यक्त गरे । उनका अनुसार, ‘अहिलेका प्रधानमन्त्री पहिल्यैदेखि राम्रो विचार राख्नुहुन्थ्यो । पूर्व प्रधानन्यायाधीश हुनुहुन्छ, कानूनका जानकार हुनुहुन्छ । त्यसैले उहाँप्रति जनताको आशा र विश्वास छ । देशलाई अगाडि बढाउने सामथ्र्य उहाँमा छ ।’ राउतले जेनजी नेतृत्वले आफू नेतृत्वमा नरही, सवल महिला र विद्वान व्यक्तिलाई अगाडि ल्याउनु पनि सराहनीय भएको बताए । ‘मलाई धेरै खुसी लाग्यो, उनीहरूले राम्रो निर्णय गरे । हामी सबै यसबाट धेरै सन्तुष्ट छौं’, उनले भने । भ्रष्टाचारविरुद्ध कडा कदम चाल्नुपर्नेमा जोड दिँदै उनले भने, ‘अब भ्रष्टचारीहरूलाई खोजी–खोजी नख्खु जेलमा हाल्नुपर्छ । ठूला–ठूला जेलमा हाल्नुपर्छ । देशको हितका लागि अब कडा कारबाहीको आवश्यकता छ ।’
अब पुरानोजस्तो केही नहोस् नारायण देवी श्रेष्ठले महिला प्रधानमन्त्री आएकोमा खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘महिला प्रधानमन्त्री आएकोमा खुसी लागेको छ । अब फेरि पुरानोजस्तो केही नहोस् । भ्रष्टाचार नियन्त्रण होस् ।’ उनले बालेन शाहको सक्रियताप्रति पनि सकारात्मक धारणा व्यक्त गरिन् ।
पुराना तीन पार्टीले देश बर्बाद पारे बारा निवासी रामबाबु गिरीले आन्दोलन सफल भएकोमा आफू अत्यन्त खुशी भएको प्रतिक्रिया दिएका छन् । आन्दोलनमा सहादत प्राप्त गरेका जेन्जी पुस्ताका युवाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले भने, ‘त्यति ठूलो बलिदान दिएर भए पनि देशमा परिवर्तन आएको छ, जुन जरुरी थियो । अब तिनवटा पुराना पार्टीहरूको अत्याचार सहनु नपर्ला भन्ने लाग्छ ।’ गिरीले हालै भएको संसद् विघटनप्रति पनि समर्थन जनाएका छन् । उनी भन्छन्, ‘त्यति गरेर मात्रै पुग्दैन, जसले–जसले भ्रष्टाचार गरेका छन्, उनीहरूलाई कारबाही गर्नुपर्छ । छानबिन हुनुपर्छ, थुन्नुपर्छ ।’ उनले तराईमा कांग्रेस र एमालेद्वारा आयोजित जुलुसप्रति असन्तुष्टि जनाउँदै भने, ‘हाम्रो आमा–बुबा वा पुराना गुटका मान्छे त्यस्ता जुलुसमा नजाऊन् भन्ने अनुरोध गर्छु ।’ देशको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की नियुक्त भएकोमा गिरीले अपार हर्ष व्यक्त गरेका छन् । ‘विश्वकै इतिहासमा कायम हुने घटना हो यो । युवाहरूको नेतृत्वमा आएको परिवर्तन साँचिकै ऐतिहासिक हो,’ उनले भने । गिरीले कार्कीले देशलाई कानुनी शासनमा लैजाने समेत बताए । ‘उहाँ कानुनकी ज्ञाता हुनुहुन्छ । भ्रष्टाचारको अन्त्य उहाँकै नेतृत्वमा सम्भव छ,’उनले भने । उनले प्रदेश र स्थानीय तहको पुनरावलोकन आवश्यक भएको औंल्याउँदै भने, ‘प्रदेश सभा खारेज गर्नुपर्छ, तबमात्र देश विकासको बाटोमा अघि बढ्छ ।’ यसैगरी कैलालीका गणेश साउदले पनि आफू जेनजी आन्दोलनमा प्रत्यक्ष सहभागी भएको बताउँदै यसको सफलताले सम्पूर्ण नेपालीलाई खुसी दिएको बताएका छन् । ‘यो आन्दोलनले नयाँ क्रान्ति, नयाँ युगको सुरुवात गरिसकेको छ,’ साउदले भने, ‘पहिला नेताहरूको भ्रष्टाचारले देश धराशायी बनिसकेको थियो । अबचाहिँ विकास हुन्छ भन्ने आशा पलाएको छ ।’ उनले प्रधानमन्त्री बनेकी सुशीला कार्कीप्रति विश्वास व्यक्त गर्दै भने, ‘उहाँ पहिल्यै प्रधानन्यायाधीशको रुपमा काम गरिसक्नुभएको हो । त्यसैको अनुभवले देशको नेतृत्व गर्न सक्नुहुन्छ ।’ साउदको भनाइमा, अब देशलाई भ्रष्टाचारमुक्त बनाउँदै वैदेशिक रोजगारमा गएका नेपालीहरूलाई स्वदेशमै रोजगारीको अवसर दिने खालका नीति आवश्यक छन् । ‘देशमा नयाँ नयाँ कार्य अगाडि बढाउनुपर्छ । नेपालीले परिवर्तन महसुस गर्न पाउनुपर्छ,’ उनले भने । प्रधानमन्त्री सुशीला कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश पनि रहिसकेकी छन् । कानुन र न्यायप्रति दृढ धारणा राख्ने उनको नेतृत्वमा मुलुकले समावेशी, पारदर्शी र जिम्मेवार शासनको आशा लिएको सर्वसाधारणको प्रतिक्रियाबाट प्रष्ट हुन्छ । जनआन्दोलनको बलमा स्थापित नयाँ नेतृत्वले कस्तो परिवर्तन ल्याउँछ भन्ने प्रतीक्षामा देश उभिएको छ । सुशीला कार्कीको प्रधानमन्त्री नियुक्तिपछि सर्वसाधारणमा उत्साह, आशा र जिम्मेवारीको माग स्पष्ट देखिन्छ । भ्रष्टाचारको अन्त्य, रोजगारको सिर्जना, कृषि विकास, जनउत्तरदायी शासन प्रणाली र न्यायिक सुधार प्रमुख जनअपेक्षाका रुपमा देखिएका छन् । नेपालले पहिलो पटक महिला प्रधानमन्त्री पाएको ऐतिहासिक क्षणमा जनता उत्साहित छन् र विश्वास गरिरहेका छन् कि ‘देशले अब आमा पाएको छ’ भन्ने भावनाले नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ । तथापी, कार्कीको कार्यकाल भने हेर्न बाँकी नै छ ।