रास्वपा सभापति रवि लामिछानेले गरे कारागार फर्किने घोषणा

शनिबार, भदौ २८, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कारागार फर्किने घोषणा गरेका छन् । शनिबार दिउसो सामाजिक संजालमार्फत उनले कारागार फर्किने घोषणा गरेका हुन् । जेन–जी आन्दोलनका क्रममा नक्खु कारागारबाट अन्य कैदीसँग बाहिर निस्किएका उनले पुनः कारागार नै फर्किने बताएका हुन् । चार बुँदे माग समेत राखेर उनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीबाट आफूले न्याय पाउने अपेक्षा समेत गरेका छन् । 

लामिछानेले सामाजिक सञ्जालमा राखेको पोष्ट जस्ताको तस्तै 
नमस्कार, म विगत ३० वर्षदेखि विभिन्न भूमिकामा रहेर समाज र नागरिकसँग हमेशा संवादमा छु । जवाफदेहितामा मैले कहिले पनि कम्प्रमाइज गरेको छैन । आज म आफ्ना बारेमा सफाई दिन भन्दा बढी  मुलुकको अबको बाटोको बारेमा केही महत्वपूर्ण कुरा बताउन गइरहेको छु । संयोगले आज मेरो जन्मदिन परेछ । र म आफूलाई जन्मदिनको उपहार स्वरूप फेरी कारागारमा पठाउँदैछु । पछिल्लो सरकारले ममाथि चरम राजनीतिक प्रतिशोध साँधेर मेरो जिना हराम गरेको थियो । आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ । अब चाहिँ अन्याय हुन्न भन्ने आशा सहित म कारागार जाँदैछु । ममाथि जिल्लै पिच्छे मुद्दा लगाउनुपर्ने थियो कि थिएन, सहकारीको साइनो नभएको मान्छेलाई संगठित अपराध र सम्पत्ति शुद्धिकरण सहितको मुद्दा लगाउनु पर्ने हो कि होइन भन्ने कुरा म नयाँ सरकारको विवेक माथि नै छोड्न चाहन्छु । यति कामना गर्छु कि जसले सबैभन्दा बढी कानुन मान्दछ उसैलाई कमजोर बनाउने र बदनाम गराउने काम हुने छैन । बाँकी रह्यो मलाई केही दिन अघि कारागारबाट निकालिएको विषयको विवाद । त्यतिबेला भिडबाट जेललाई जोगाउन चिठी दिएर निकालियो । अहिले चिठि नै वैधानिक छैन भनेको सुन्छु । जुन परिस्थितिमा मलाई जेलबाट निकालियो र चिठी दिइयो त्यो बेलामा पनि प्रशासनलेले मलाई जोगाएको होइन, जेल जोगाएको हो । आज आएर त्यसको वैधानिकताका नाममा कुनै कर्मचारीलाई, सचिवलाई अप्ठ्यारोमा पार्न म चाहन्न । मैले कालकुट विष पिएको धेरै भइसक्यो । अर्को एक दुई थोपो बीष पिएर म  मर्दिन । मलाई यस्ता आरोप प्रतिशोधहरूको बानी परिसक्यो । कत्रा कत्रा षड्यन्त्र झेलिसकेको मान्छे, मेरा कारण कुनै एउटा जेलर एउटा गृहसचिवलाई अप्ठ्यारोमा पार्नु पर्दैन, मै जिम्मा लिन्छु । तर मेरो चित्त दुखाइ यति हो कि जेल जोगाउन मलाई भिडमा धकेलेर उल्टो  मेरा कारणले देशभरिका कैदी भागे भनेर बदनामी र मिडियाबाजी किन गर्नु परेको होला । त्यो पनि भइगो मेरो चित्त दुख्न अब कहाँ पो बाँकी छ र ? यतिखेर पनि यस देशका एकएक भ्रष्टाचारीहरू सुरक्षा निकायको घेरामा छन्, मेषमा मेजमानी खाइरहेका छन् । म जनताको भीडबाट निस्किएपछि एक्लै छु । एउटा पुलिस पनि मसँग छैन ।
मेरो बदनाम गराउन तल्लिन  पुराना दलका केही टुहुराहरूको सक्रियता सामाजिक सञ्जालमा देखे । हे पुराना दलका सेनामेना साथी हो तिमीहरू आफ्नो विरासतको पतनको मलामी जान छोडेर कहाँ मेरो विरुद्धको दुष्प्रचारको पार्टी गर्दै नाचिरहेका छौं ? 
आफ्नै पार्टी परिवारभित्र का  साथीहरूप्रति मेरो कुनै गुनासो छैन । म सबै साथीहरूको स्वतन्त्रताको सम्मान गर्छु । तपाईँलाई राम्रो हुन्छ भने रवि लामिछाने तपाईंको कुनै पनि यात्राको बाधक बन्दैन । रास्वपा कुनै पनि साथीहरूको व्यक्तित्व निर्माणको प्लेटफर्म बनेको रहेछ भने म त्यसमा खुसी नै छु । तर पार्टी त बन्छ बन्छ । बाआमाको आशीर्वादले, दिदीबहिनीहरूको प्रेमले, र दाजुभाइहरूको सक्रियता र सद्भावले पार्टी बन्छ । 
मेरो र पार्टीको हिजोको कुरा आजलाई यति नै । अब भोलिको कुरा गरौं । देशको कुरा गरौं । म लोकतन्त्र विधिको शासन प्रति प्रतिबद्ध राजनीतिकर्मी हुँ । यसमा म कुनै हालतमा सम्झौता गर्दिन । अन्तरिम सरकार संविधानको पूर्ण पालनाबाट बनेन, बन्न सक्दैनथ्यो । अन्तरिम सरकारको संवैधानिक पृष्ठभूमि जेसुकै भए पनि यो अब देशको वास्तविकता हो । यो कदमलाई सरकारले अब परिणामबाट सार्थक बनाउनुपर्छ । 
एउटा कुरा नबिर्सौँ । कलिला बच्चाहरूलाई ताकी ताकी गोली हानेर मारिएको छ । त्यससँगै देशका सरकारी संरचनाहरू ताकी ताकी ध्वस्त बनाइएको छ । त्यसैले पहिलो दिनको दमनको पनि छानबिन हुनुपर्छ दोस्रो दिनको हिंसाको पनि छानबिन हुनुपर्छ । बच्चाका टाउकोमा ताकी ताकी गोली हान्ने गृहमन्त्री प्रधानमन्त्रीहरू कारबाहीको दायरामा तत्काल आउनुपर्छ । देशका संरचनाहरूमा ताकी ताकी आगो झोस्नेहरू पनि तत्काल कारबाहीको दायरामा आउनुपर्छ । सही बाटोमा हिँडेको खण्डमा सरकारको सफलताका लागि आफ्नो सवै शक्ति र सामथ्र्य प्रदान गर्ने वचनका साथ मेरा केही माग पनि छन् ।
१. २०४६ सालपछिका नीतिगत लगायतका सम्पूर्ण निर्णयहरू र उच्च पदस्थको सम्पत्ति छानबिन गर्नुपर्छ ।
२.  देशका सबै निकायमा गरिएका राजनीतिक नियुक्ति एकै निर्णयबाट रद्द गरिनुपर्छ । 
३. कर्मचारीदेखि न्यायपालिकासम्मको पुनर्नियुक्तिको बाटो तत्काल खोल्नुपर्छ । सुब्वादेखि न्यायाधीशसम्मले फेरि जाँच दिनुपर्छ । 
४. सम्पूर्ण विश्वविद्यालयहरूमा भएको राजनीतिक नियुक्ति तत्काल खारेज गरी मेरिटोक्रेसी स्थापित हुनुपर्छ 
५. सम्पूर्ण राजदूतहरूको नियुक्तिमा समेत यही विधि लागू हुनुपर्छ । 
मैले भन्दै आएको थिएँ कि राज्यका सम्पूर्ण निकायहरू एउटै रावणका अलग अलग टाउकाहरू हुन् । रावणका यी अलगअलग टाउकाहरूमध्ये एउटा टाउको पनि बच्यो भने रावण बचेको ठहर्छ । यी चिजहरू हुन सकेन भने जनताको आन्दोलन माथि विश्वासघात हुन्छ । मलाई विश्वास छ समयमै निर्वाचन हुनेछ । त्यसका लागि हामी जनस्तरबाट दवाव बढाएर सरकारलाई सहयोग गर्ने छौ । नयाँ सरकार र नयाँ जेनेरेसनलाई मेरो शुभकामना । म, यो आन्दोलनका क्रममा आफ्ना कलिला छोराछोरी गुमाएका बाआमाहरूसँगै छु । मैले केही योगदान दिनुपर्‍र्यो भने म यही नख्खु कारागारमै छु । भेट्न आउनुहोला । पार्टीका तल्लो तहसम्मका साथीहरूलाई यति भन्दछु कि पार्टी कब्जा गर्न होइन, पार्टी बनाउनतिर लाग्यो भने हामी सबै अटाउँछौँ । 
पुराना राजनीतिक दलहरूप्रति हामीले प्रतिशोध साध्नुपर्ने केही पनि छैन । उनीहरूले जति जाने त्यति गरे । इतिहासका विभिन्न कालखण्डमा देशमा परिवर्तन ल्याउन उनीहरूले गरेको योगदानलाई सम्झेर पनि हामीले प्रतिशोधको भावना त्याग्नुपर्छ । स्वस्थ चुनावी प्रतिस्पर्धाबाट उनीहरूलाई हराउन सक्ने ल्याकत हामीले राख्नुपर्छ । सके एक्लै, नसके सबै नयाँहरू मिलेर । देशभरका सम्पूर्ण पार्टी पंक्तिलाई प्रशासनसँग समन्वय गरी पुनर्निर्माणमा श्रमदान गर्न म हार्दिक अपिल गर्दछु । नमस्कार ।

Ra--1757764805.png
 

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  १७:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार