‘जेन–जी’ आन्दोलनकोे कारण दुई ठूला राष्ट्रिय दल सत्ताबाट बाहिरिन बाध्य : डा.कोइराला

शनिबार, भदौ २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको पछिल्लो राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्दै ‘जेन–जी’ आन्दोलनको युवा ऊर्जा र चेतनाको कारण दुई ठूला राष्ट्रिय दल सत्ताबाट बाहिरिन बाध्य भएको बताएका छन् । शनिबार विज्ञप्ति जारी गर्दै डा. कोइरालाले भदौ २३ र २४ गतेको घटनापछि उदाएको नयाँ सरकारले आम नागरिकको भरोसा जित्ने विश्वास व्यक्त गरेका छन् । उनले यो सरकारलाई सतर्कतापूर्वक हेर्नुपर्ने पनि बताएका छन् । यद्यपि, उनले भदौ २४ गतेको आन्दोलनको क्रममा भएको लुटपाट, आगजनी र तोडफोडको कडा निन्दा गरेका छन् । विशेषगरी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा भएको आक्रमण र उहाँकी पत्नीमाथि भएको हातपातलाई उनले ‘जघन्य अपराध’ को संज्ञा दिएका छन् । उनले एकपटक पुनः लोकतान्त्रिक इतिहासका योद्धा, नेता र शहिदहरूलाई सम्झेर कांग्रेसले भावी दिनमा आफ्नो भूमिका तय गर्नुपर्ने पनि उल्लेख गरेका छन् । विज्ञप्तिमार्फत उनले भनेका छन्, ‘हामी चुक्यौं, हामीले समयको पदचाप बुझ्न सकेनौं । त्यसकै परिणाम दुई ठूला दल सत्ता बाहिरिन बाध्य भए । अब हामी युवाको चाहना र समाजको भावनालाई आत्मसात गर्दै शक्तिशाली राष्ट्र निर्माणमा समर्पित हुनेछौं ।’ नेताले नेपाली कांग्रेसका पुराना नेता विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको संघर्ष र बलिदानलाई स्मरण गर्दै लोकतान्त्रिक समाजवादलाई पुनः सशक्त बनाउने प्रण पनि गरेका छन् । विशेषगरी भाद्र २४ गते जेन–जी आन्दोलनको क्रममा आगजनीमा परेको विराटनगरस्थित ऐतिहासिक कोइराला निवासबारे उनले भावुक हुँदै भनेका छन्, ‘कोइराला निवासको भौतिक संरचना खरानी हुन सक्छ, तर विपी विचार जलाउन सकिँदैन । कोइराला निवासको खरानीबीचबाट कांग्रेसको नवनिर्माणमा जुट्नेछौं ।’ उनले दशैंपछि देशव्यापी बहस, छलफल र संगठनात्मक नविकरणको अभियान लिएर पार्टीभित्र नयाँ विचार, नेतृत्व र संगठन निर्माणमा लाग्ने घोषणा गर्दै पार्टीलाई ‘जनताको केन्द्रमा बस्ने कांग्रेस’ बनाउने संकल्प व्यक्त गरेका छन् ।

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  ११:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार