काठमाडौं महानगरकी उपप्रमुख सुनिता डङ्गोलले दिइन नेपालको पहिलो महिला प्रधानमन्त्रीलाइ बधाई

शनिबार, भदौ २८, २०८२

काठमाडौं । काठमाडौं​ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले नेपालको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बधाई दिएकी छन् । शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत् प्रधानमन्त्री कार्कीलाई यो अवसर केवल ऐतिहासिक र गौरवमय मात्र नभइ मुलुकमा न्याय, समानता र सुशासनको आधारशिला निर्माण गर्ने स्वर्णिम क्षण भएको उल्लेख गरेकी छन् । उनले बदलाको भावनाभन्दा माथि उठेर जेन–जी पुस्ताको आन्दोलनसहित सम्पूर्ण न्यायप्रेमी जनताको आकांक्षाअनुरूप काम गर्न पनि आग्रह गरेकी छन् । ‘नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा नियुक्त हुनुभएकोमा पूर्वप्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु’, उनले भनेकी छन् । ‘यो तपाईंका लागि केवल ऐतिहासिक र गौरवमय क्षण मात्र होइन, बदलाको भावनाभन्दा माथि उठेर, जेन–जीलगायत समस्त न्यायप्रेमी जनताको भावना अनुरुप मुलुकमा न्याय, समानता र सुशासनको आधारशिला निर्माण गर्ने स्वर्णिम अवसर पनि हो, ’ उनले भनिन् । त्यस्तै उनले ‘हामी सम्पूर्ण महिला दिदीबहिनीहरूको दृढ आशा छ, नवनियुक्त प्रधानमन्त्रीले नयाँ पुस्ताको आकांक्षा र शहीदहरूको अविस्मरणीय बलिदानलाई सम्मान गर्दै यस गहन जिम्मेवारीलाई नेतृत्वले द्वन्द्वको सट्टा संवाद, विभाजनको स्थानमा एकता, निराशाको अन्त्य गरी आशाको सञ्चार र सुशासनको मार्गमा मुलुकलाई अगाडि बढाउनेछ भन्ने दृढ विश्वास व्यक्त गर्दछु । साथै जेन–जी पुस्ताको आन्दोलनमा सहादत प्राप्त गर्नु भएका शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्न चाहन्छु’, उनले भनेकी छन् ।

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  ११:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार