सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । जेन–जी पुस्ताको प्रदर्शनका बलमा नियुक्ति भएकी अन्तरिम नागरिक सरकार प्रमुख सुशीला कार्कीलाई अन्तराष्ट्रिय समुदायले पनि समर्थन गरेका छन् । समर्थनको यो पंक्तिमा संयुक्त राष्ट्र संघ र छिमेकी भारत अग्रणी स्थानमा उभिए । नेपालमा नयाँ अन्तरिम नागरिक सरकार गठन भएको घटनामा छिमेकी मुलुक भारतले स्वागत गरेको छ । पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत स्वागत गरेको हो । भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘हामी सुशिला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ । हामीलाई आशा छ कि यसले शान्ति र स्थिरतालाई प्रवद्र्धन गर्न मद्दत गर्नेछ ।’ भारतले नजिकको छिमेकी, लोकतान्त्रिक मित्र र दीर्घकालीन विकास साझेदारको रूपमा दुई देश र जनतको कल्याण र समृद्धिका लागि नेपालसँग मिलेर निरन्तर काम गरिरहने जनाएको छ ।
संयुक्त राष्ट्रसंघको पनि बधाई नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर हम्डीले नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै शुभकामना सन्देश दिएकी छन् । संयुक्त राष्ट्रसंघ नेपालद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री नियुक्तिमा नेपाली जनतालाई बधाई दिँदै राष्ट्रसंघले शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतिप्रतिको जनअपेक्षामा साथ दिने प्रतिबद्धता जनाएको छ । ‘यो महत्वपूर्ण मोडमा संयुक्त राष्ट्रसंघ नेपाली जनताको शान्ति, न्याय, पारदर्शीता, जवाफदेहिता र प्रगतिप्रतिको आकांक्षामा साथ दिन प्रतिबद्ध छ,’ संयोजक हम्डीले उल्लेख गरेकी छन् । सन्देशमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोक सिग्देल, र नयाँ पुस्ताका युवा नेताहरूको योगदानको पनि उच्च मूल्यांकन गरिएको छ । साथै, परिवर्तनको क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । प्रधानमन्त्री कार्कीलाई ‘देशको संवेदनशील अवस्थामा यो महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ, उहाँलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं,’ भन्दै शुभेच्छा व्यक्त गरिएको छ । संयुक्त राष्ट्रसंघले नेपालको स्थायित्व, मानव अधिकार र दिगो विकासको यात्रामा सरकारसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता दोहोर्याएको छ ।
नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत
संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि सुशिला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएको बिषय महत्वपूर्ण कदम भनी उल्लेख गरेको छ। पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै यहाँस्थित बेलायती दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो प्रतिक्रिया दिएको हो । बेलायतले सबैभन्दा पुरानो मित्रको रूपमा आगामी चुनौतीहरूलाई स्वीकार गर्दै जवाफदेहीता र समावेशी शासनका लागि नेपाली आकाङ्क्षालाई समर्थन गर्ने जनाएको छ ।