सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । जेनजी पुस्ताको आन्दोलनपछि विकसित भएको नयाँ परिस्थिति अनुसार शीतल निवासमा प्रतिनिधिसभा विघटन र पूर्वप्रधान्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति भएको छ । शीतल निवासमा आजै राति कार्कीलाई शपथ खुवाउने तयारी छ । शीतल निवासको वार्तामा जेन जी समूहका प्रतिनिधि, राष्ट्रपति रामचन्द्र पौडेल र सुशीला कार्कीका साथै कानुनविद्हरू सहभागी थिए । अन्तरिम सरकार गठनका लागि संवैधानिक प्रावधानको विषयमा राष्ट्रपति पौडेल, पूर्वप्रधानन्यायाधीश कार्की, प्रधानसेनापति अशोकराज सिग्देल, राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरबीच बिहीबार र शुक्रबार सघन छलफलमा जुटेका थिए । सुरुमा वार्तामा राष्ट्रपति पौडेल संसद् विघटन गर्न सहमत भएका थिएनन् । पछि जेनजी पुस्ताले थप आन्दोलनको चेतावनी दिएपछि उनी यो पुस्ताको प्रमुख मागमा सहमत भएका हुन् । भ्रष्टाचार,अनियमितता र बेथितिविरुद्ध जेन जीहरूले सुरु गरेको आन्दोलनको बलमा नेपालले पहिलो पटक सरकार प्रमुखमा महिला पाएको हो । जेन जीले सोमबार गरेको प्रदर्शनमा सरकारले अत्यधिक बल प्रयोग गर्दा १९ जनाको मृत्यु भएको थियो भने २ सयभन्दा धेरै घाइते भएका थिए । मृत्यु हुनेको संख्या अहिले ५१ पुगिसकेको छ । आन्दोलनको पहिलो दिन नै अत्यधिक बल प्रयोग गरेपछि मंगलबार देशव्यापी प्रदर्शन भएको थियो । जसमा संसद् भवनदेखि सिंहदरबारसम्म र शीतल निवासदेखि सर्वोच्च अदालत र दर्जनौं निजी कम्पनी, होटल र सार्वजनिक संरचनामा क्षति पुगेको थियो ।