सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । जेनजी समूहले आह्वान गरेको शान्तिपूर्ण आन्दोलनका क्रममा मृत्यु भएका जेनजीहरूको परिवारका सदस्यहरूले न्यायको माग गरिरहेका छन् । शुक्रबार काठमाडौंमा हामीलाई न्याय चाहियो भन्ने नाराका साथ उनीहरूले न्यायको माग गरेका हुन् । भदौ २३ गते राज्य पक्षद्धारा क्रूरतापूर्वक अन्दाधुन्द गोली चलाउँदा एकै दिन १९ जनाको मृत्यु भएको थियो । सोही क्रममा एकजना मृतकको परिवारको सदस्य रत्नमाया महर्जनले मृत्यु भएका युवाहरूलाई सहिद घोषणा गरेर क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग राखिन् । उनले माग पूरा भएमात्र शव बुझ्ने बताइन् । उनले भनिन्, ‘बच्चा त गइसक्यो, शव भए पनि उठाउनु पर्यो । त्यसकारण उसलाई सहिद घोषणा गरेर क्षतिपूर्तिको व्यवस्था हुनुपर्छ ।’ साथै, अर्का पीडित कमल सुवेदीले भने जेनजीहरूप्रति आक्रोस पोखेका छन् । उनले अहिले देशको नेतृत्व कसलाई दिने भन्ने कुराको छलफलमा रगत बगाउनेहरूको खोजी समेत पनि नभएको बताए । उनले भने, ‘शव राख्ने राम्रो व्यवस्थापन छैन् । मृत्यु भएको पाँच दिन भइसक्यो शव कुहिने अवस्था भइसक्यो । घाइते भएका जेनजीका अस्पताल जानु पर्दैन्, घाइते हेर्नु पर्दैन् ? अहिले देशको नेतृत्व कसलाई दिने भन्ने कुराको जुन छलफल भइरहेको छ त्यसमा मृतकको परिवारहरूको पनि सहभागिता हुनुपर्छ । जसले रगत बगायो उनीहरूको खोजी गर्नु पर्दैन् ?’ यस्तै मृतक उमेश महतकी दिदी सुमित्रा महतले आफ्नो भाइको मृत्यु भएकोमा दुःख पोख्दै यस्तो पीडा अरु कसैले भोग्न नपरोस् भन्ने कामना गरेकी छन् । आफ्नो भाइको बलिदानलाई खेर जान नदिन पनि उनले आग्रह गरेकी छन् ।