जेनजीहरूले छानेको नेतृत्वमा बन्ने सरकारलाई कांग्रेसले सहयोग गर्छ : गगन थापा

शुक्रबार, भदौ २७, २०८२

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले जेनजी आन्दोलनकारीहरूको मागलाई सम्मान गर्दै सम्बोधन गरेर मात्र देश अगाडि बढ्न सक्ने बताएका छन् ।  आज सामाजिक सञ्जालमार्फत एक भिडियो सार्वजनिक गर्दै उनले जेनजीहरूको मागलाई सम्बोधन नगरी देश अगाडि बढ्न नसक्ने भन्दै नेपाली काङ्ग्रेस पार्टी जेनजीहरूले छानेको नेतृत्वमा सरकार बनाउने कुरामा तयार रहेको बताए ।  उनले भने, ‘यो बेला जेनजी आन्दोलनकारी साथीहरूले के कुराको माग राख्नु भएको छ त्यो मागलाई सम्मान गरेर सम्बोधन गरेर मात्र देश अगाडि बढ्न सक्छ । अन्तरिम सरकार बनाउने कुरा छ, आज साँझसम्म त्यो कुरा पनि टुङ्गो लाग्न सक्छ । आन्दोलन गर्ने साथीहरूले छानेको नेतृत्वमा सरकार बनाउने कुरामा नेपाली काङ्ग्रेस पार्टी तयार मात्र होइन यसको लागि आवश्यक वातावरण पनि बनाइरहेको छ ।’ यस्तै, उनले काङ्ग्रेस पार्टीमा रहेका सबै कार्यकर्ताहरूलाई आफ्नै ठाँउबाट सबैलाई जोड्ने तरिकाको पहलकदमी गर्न आग्रह गरेका छन् ।  उनले भने, ‘अहिले नेपाललाई एउटा हिलिङ चाहिएको छ । सबैलाई जोड्ने एउटा पहलकदमी चाहिएको छ । काङ्ग्रेस पार्टीको जिम्मेवारी हो किन भने राष्ट्रिय शक्ति हो । त्यसकारण म पार्टीका साथीहरूलाई आह्वान गर्छु, जो जहाँ हुनुहुन्छ आफ्नै ठाँउबाट सबैलाई जोड्ने तरिकाको पहलकदमी गर्न आग्रह गर्न चाहन्छु ।’ उनले भदौ २३ र २४ गते भएको घटनाबाट आकलन गर्न नसक्ने ठूलो क्षति भएको भन्दै त्यो दिनको घटनाले अनुहारमा लागेको दाग ऐना पुछेर नजाने बताए ।  उनले भने, ‘भदौ २३ गते हामी कसैले नचाहेको अकल्पनीय घटना भयो । तपाईं र म सरकारमा थिएनौं । तर हाम्रो पार्टी सरकारमा थियो । हाम्रो अनुहारमा दाग लागेको छ । ऐना पुछेर हुँदैन, हामीले हाम्रो दाग पुग्नुपर्छ । कांग्रेस पार्टी यस विषयमा सिंगो देशसँग माफी माग्नुपर्छ, यो घाउलाई पुर्ने हामीले कोसिस गर्नुपर्छ । भदौ २४ गते यति ठूलो क्षति भएको छ जसको कसैले आकलन गर्न सक्दैन् ।’
 

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १२:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार