'जेन जी' आन्दोलनपछि सडकमा सेना

अवाञ्छित गतिविधि रोक्न निरन्तर निगरानीका लागि सेनाको आग्रह
बुधबार, भदौ २५, २०८२

काठमाडौं । जेन–जीको आन्दोलन उत्कर्समा पुगेपछि मंगलबार राति देखि नै नेपाली सेना सडकमा ओर्लेको छ । देशमा शान्तिसुरक्षा तथा अमन चइन कायम गर्न नेपाली सेनालगायत अन्य सुरक्षा निकाय अहोरात्र खटिएका जनाउँदै सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा अवाञ्छित गतिविधि हुननदिनेतर्फ सचेत रहन तथा निरन्तर निगरानी  गर्न आम नेपाली नागरिकमा आग्रह गरेको छ । सूचना निर्देशनालयले आज जारी गरेको सूचनामा  सुरक्षा संयन्त्र पुग्नुअगावै स्थानीय समुदायले एकजुट भई स्थितिको  खबर आदानप्रदान गरी आफू र आफ्नो टोल छिमेकमा सुरक्षित भएर रहन आग्रह गरेको छ । देशमा विद्यमान सुरक्षा चुनौती तथा विभिन्न स्थानहरुमा उछृङ्खल तत्वबाट लुटपाट तथा आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक तथा अराजक गतिविधिहरु आफ्नो समुदायमा देखिएमा यथाशीघ्र नेपाली सेनाको ९८६३०२९०२९ नम्बरमा सन्देश पठाउन सेनाले अनुरोध गरेको हो । सूचनामा  भनिएको छ, “केही उछृङ्खल तत्वले भ्रामक खबर सामाजिक सञ्जालमा राखेर स्थितिलाई  अतिरञ्जित बनाउने तथा त्रासको वातावरण सिर्जना गर्न खोजेको हुँदा त्यस्ता क्रियाकलापलाई निस्तेज गर्न आ–आफ्नो क्षेत्रबाट सही खबर मात्र सम्प्रेषण गरी सहयोग गर्न सूचित गरिन्छ ।” 

आन्दोलनकारीलाई वार्तामा आउन नेपाली सेनाको आह्वान 
नेपाली सेनाले आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेको छ । मंगलबार साँझ एक अपिल जारी गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत समूहलाई वार्ताका लागि आह्वान गरेका हुन् । सेनाले आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारलाई समवेदना दिएको छ। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सेनाले आन्दोलनका कारण भएको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय एकताको रक्षामा नेपाली सेना सधैँ प्रतिबद्ध रहेको स्मरण गराउँदै सेनाले अहिलेको असहज परिस्थितिमा थप क्षति हुन नदिन सबैलाई शान्त रहन आग्रह गरेको छ । सेनाले राष्ट्रिय तथा ऐतिहासिक सम्पदा, सार्वजनिक सम्पत्ति, आम नागरिक, र विदेशी कूटनीतिक नियोगहरूको सुरक्षा सुनिश्चित गर्न सबै नेपालीको साझा कर्तव्य रहेकोमा जोड दिएको छ ।

Photo-(53)-1757472606.jpg
 

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  ०८:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार