साउन महिनाको अन्तिम सोमबार धापाखेलस्थित नागदहमा शिव गंगा आरती 

मंगलबार, साउन २७, २०८२
Global Ime Bank

धापाखेल (ललितपुर) । श्रावण महिनाको अन्तिम सोमबार ललितपुर महानगरपालिका वडा नं. २४ स्थित नागदहमा शिव गंगा आरती सम्पन्न भएको छ । साउन महिनाको अन्ति‍म सोमबार पारेर नागदहमा शिव गंगा आरती गरिएको हो । साउन महिनाको अन्तिम सोमबार भएकाले नागदहस्थित बासुकी नाग मन्दिरमा गरिएको शिव गंगा आरती अवलोकनका लागि स्थानीय भक्तजनको भीड लागेको थियो । नागदह बासुकी नागको वासास्थानका रुपमा परिचित छ ।  नागदह महिला समूहको आयोजना तथा वडाअध्यक्ष दिनेश जङ्ग पाण्डेको प्रायोजनमा हिजो सोमबारको शिव गंगा आरती सम्पन्न भएको हो । नागदहमा नागपञ्चकीको अघिल्लो दिनदेखि गंगा आरती सुरुवात गरिएको थियो । साउनको तेस्रो सोमबार तथा हिजो अन्तिम सोमबार गंगा आरतीलाई निरन्तरता दिइयो । नागदहमा सुरु भएको शिव गंगा आरतीलाई अब कसरी लैजाने भन्ने विषयमा महिला समूह, सरोकारवालासँग छलफल गरी अघि बढ्ने वडाअध्यक्ष पाण्डेले बताउनुभयो । ‘भक्तजनहरूको सहभागिता निरन्तर भइरहयो भने गंगा आरतीको व्यवस्थापनका लागि कुनै समस्या आउनेछैन’, उहाँले भन्नुभयो, ‘महिनाको एक पटक, पन्ध्र–पन्ध्र दिनमा वा साप्ताहिक रुपमा पनि व्यवस्थापन गर्न सकिन्छ ।’ नागदहको शिव गंगा आरती अवलोकनका लागि वडासदस्यहरू इन्द्रा श्रीश, उद्धव बस्नेत, हरिकृष्ण मजर्हनसहित वडासल्लाहकारहरू नेपाल सरकारका पूर्वसचिव, समाजसेवी, महिला समूहका पदाधिकारी तथा सदस्य तथा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  ०८:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार