जेलमा रविको पीडा देख्नेहरू अरु कैदीबन्दीबारे किन बोलेनन् ? 

आइतबार, साउन २५, २०८२
Global Ime Bank

रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा हाल भैरहवा कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेमाथि अन्य चार जिल्लामा पनि मुद्दा छन् । चितवनको साहारा, काठमाडौंको स्वर्णलक्ष्मी, कास्कीको सूर्यदर्शन, पर्साको साना पाइला सहकारी ठगी आरोपमा उनीमाथि मुद्दा चलिरहेको छ ।  यी सहकारीमा मकै पाल्नेदेखि अर्काको घरमा भाडा माझ्ने, व्यापार व्यवसाय गरेको, विदेश वा स्वदेशमै जीवनभर कमाएको पैसा बचतकर्ताहरूले राखेका थिए । एउटै बचतकर्ताले २० हजारदेखि करोडौं रुपैयाँसम्म यी सहकारीमा राखेका छन् । बढी ब्याजको प्रलोभनमा रकम राख्न लगाइयो ।  लाखौं जनताको अर्बौ रकम यी पाँच सहकारीमा डुबेको छ । बचतकर्ताहरूको बिचल्ली भएको छ । उनीहरू सुकुम्बासी हुन पुगेका छन् । पैसा नभएपछि छोराछोरी पढाउन सकेका छैनन् । उपचार गर्न सकेका छैनन् । यतिसम्म कि बिहानबेलुकाको छाक टार्नसमेत उनीहरूलाई महाभारत भएको छ । 
सहकारीमा सबै पैसा डुबेपछि भाडा तिर्न नसकेर अधिकांश सडकमा आइपुगेका छन् । कतिपयले सहन नसकेपछि आत्महत्याको बाटोसमेत रोजेका छन् भने अधिकांश डिप्रेसनमा छन् । केही वर्षअघि यी पाँच सहकारीका बचतकर्ताहरू आफ्नो निक्षेप निकाल्न गए । तर, सहकारीले दिन सकेनन् ।  पटकपटक सहकारी धाउँदासमेत निक्षेप फिर्ता नभएपछि बचतकर्ताहरूले सरकार गुहारे । सहकारीविरुद्ध प्रहरीमा उजुरी दिए । उजुरीपछि प्रहरीले अनुसन्धान अघि बढायो । त्यसक्रममा पाँच वटै सहकारीको रकम जीबी राई र रवि लामिछानेको मिलेमतोमा हिनामिना भएको खुल्यो । 
ग्यालेक्सी टिभी चलाउने नाममा सहकारीको पैसा दुरुपयोग गरिएको पाइएको हो । तर, रवि मान्न तयार थिएनन् । सहकारी ठगीमा आफ्नो कुनै हात नरहेको उनी बताउँथे । त्यतिबेला उनी गृहमन्त्री थिए । संसद्मा उनीमाथि छानबिनको आवाज चर्कियो । रवि छानबिन समिति गठन गर्ने पक्षमा थिएनन् ।  यही निहुँमा केही महिना संसद् अवरुद्ध भयो । त्यसपछि बल्ल रवि तयार भए । एमाले नेता सूर्य थापाको नेतृत्वमा संसदीय छानबिन समिति बन्यो । समितिले केही महिना लगाएर छानबिन गरी प्रतिवेदन तयार पार्‍यो । जसमा सहकारी ठगीमा रविको प्रत्यक्ष संलग्नता देखियो । जीबी राईले पैसा ल्याउने अनि रविले धमाधम चेक काट्ने गरेको भेटियो । 
२०८१ कात्तिक २ गते रवि लामिछाने पहिलो पटक पक्राउ परे । कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा । उनी पक्राउ पर्दा पोखरामा रास्वपाले आन्दोलन गरेको थियो । पछि ८४ दिनपछि ६५ लाख रुपैयाँ धरौटीमा अदालतले उनलाई छोडिदियो । पmेरि चैत २१ गते उनी पक्राउ परे ।  त्यो पनि आफैंले गरेको पुनरावेदनका कारण । अहिले उनी भैरहवा कारागारमा छन् । मुलुकको संविधान र कानूनअनुसार कुनै पनि व्यक्तिमाथि आरोप लागेपछि प्रमाण, तथ्यका आधारमा अदालतले ऊ निर्दोष वा दोषी रहेको ठहर गर्छ । निर्दोष रहेमा उसलाई छोडिदिइन्छ भने दोषी भएमा कानूनबमोजिम सजाय दिइन्छ । 
लाखौं जनता जेलमा छन् । विदेशीसमेत नेपाली जेलमा छन् । जेलमा रहेकामध्ये कोही पुर्पक्षमा थुनिएका छन् भने कोही कैद सजाय भुक्तान गरिरहेका छन् । कतिपय चाँहि धरौटी तिर्न नसकेपछि जेल बसेका छन् । एक हजार क्षमता भएको जेलमा ६ हजारसम्म कैदीबन्दी बसेका छन् । जेलमा बसेका सबै जनता हुन् ।  मुलुकको कानून र संविधानअनुसार नागरिक सरोबर हुन् । कुनै पनि नागरिक जेल पुगेपछि ऊ कैदीबन्दी हुन्छ । जेल पुग्नुअघि उसको ओहोदा के थियो ? त्यसले केही पनि फरक पार्दैन । किनकि गल्ती गरेपछि हरेकले सजाय भोग्नुपर्छ । कानून सानोलाई मात्र लाग्ने, ठूलोलाई नलाग्ने हुँदैन । जेलमा बसेका कैदीबन्दीको खाने खानादेखि पाउने सेवासुविधा जनताले तिरेको करबाट हो ।  अर्बौ पैसा खाएर लाखौं जनतालाई सुकुम्बासी बनाएका रवि लामिछानेलाई सरकारले अलग्गै कोठामा विशेष सेवासुविधा दिएर जेलमा राखेको छ । अरु कारागारमा एउटै कोठामा एक–दुई सय कैदीबन्दी राख्नेमा लामिछानेलाई सिंगो कोठा किन दिइयो ? उनी पूर्वगृहमन्त्री भएकै कारण । सरकारले यसको जवाफ दिनुपर्छ ।  यो त सानोलाई ऐन, ठूलोलाई चैन भनेझैं भएन र । जेलमा बसेका सबै नागरिक हुन् । अझ भन्नुपर्दा देश विकास र अर्थतन्त्रमा रविभन्दा उनीहरुको महत्त्वपूर्ण योगदान छ । ०५२ फागुन १ गते माओवादीले जनयुद्ध शुरु गर्दा रवि नेपाल छोडेर अमेरिका गए । यहाँ शान्ति र सुरक्षा नभएको भन्दै ०५६ सालमा उनी अमेरिका लागे । 
रवि ग्रिन कार्डको निम्ति नेपाली नागरिकता नै त्यागेका व्यक्ति हुन् । ०६६ सालमा नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक बने । यता, दश वर्षे जनयुद्धमा १७ हजार जनता मारिए । हजारौं अंगभंग र बेपत्ता भए । ०६२–०६३ मा भएको १९ दिने जनआन्दोलनमा पनि जनता मारिए । त्यसपछि बल्ल ०६५ जेठ १५ गते मुलुकमा राजतन्त्रको अन्त्य र लोकतन्त्रको स्थापना भयो ।  त्यतिबेला रवि अमेरिकामा रमाइलो गरिरहेका थिए । मुलुकको राजनीतिक परिवर्तनमा उनको कुनै योगदान छैन । उनका कोही परिवारका सदस्य शहिद पनि भएका थिए । जब मुलुकलाई उनको आवश्यकता थियो, तब उनी शान्ति, सुरक्षा खोज्दै अमेरिका लागे । अनि अमेरिकामा ठग्न नपाएपछि र मुद्दा परेपछि उनी नेपाल आए । त्यो पनि भिजिट भिसामा । ०७१ साल जेठमा नेपाल आएपछि टेलिभिजनमार्फत जनताको आवाज उठाएजस्तो गरेर चर्चामा आए । नेताहरुलाई गर्नु गाली गरे । पार्टी खोले । गृहमन्त्री बने । अनि बल्ल उनी अमेरिकी नागरिक भएको खुल्यो । सर्वोच्चले उनी नेपाली नागरिक नभएको ठहर गर्दै तत्कालिन गृहमन्त्रीसहित सांसद, पार्टी सभापति पद खारेज गरिदिएको थियो । त्यसो त रवि अहिले पनि नेपाली नागरिक नै हुन् भन्ने यकिन भइसकेको छैन । किनकि अमेरिकी सरकारले उनको त्यहाँको नागरिकता खारेज भएको नेपाल सरकारलाई जानकारी गराएको छैन । रविका कारण देशलाई अर्को घाटा पनि भएको छ । त्यो हो चितवनमा उपचुनाव । अदालतको फैसलापछि ०८० वैशाख १० गते चितवनमा उपचुनाव गराइयो । त्यसमा जनताले तिरेको करोडौं कर खर्चियो । जनताले पनि फेरि दुःख पाए ।  हुन त रविको सम्पूर्ण कर्तृतबारे केही वर्षअघि नै खुलासा भइसकेको थियो । जब उनले आफ्नो सहकर्मी पत्रकार शालिकग्राम पुडासैनीलाई मर्न बाध्य बनाएका थिए । उनले मर्नुअघि बनाएको भिडियो रविको हरेक कर्तुतबारे स्पष्ट बताइएको थियो । विडम्बना, त्यसप्रति न राज्यले विश्वास गर्यो न जनताले । त्यत्रो प्रमाण हुँदाहुँदै रविलाई छोडियो ।  तर, भनिन्छ नि पाप धुरीबाट कराउँछ । रविको हकमा यो ठ्याक्कै मिलेको छ । त्यतिबेला राजनीतिक पहुँचका कारण छुटेका रवि अहिले जेल जीवन बिताइरहेका छन् । तर, आश्चर्य लाग्दो कुरो चाँहि ठगीजस्तो जघन्य अपराधमा जेल पुगेका व्यक्तिको समर्थनमा पूर्वप्रधानमन्त्रीसमेत सांसद, कालाकारहरु बोलिरहेका छन् ।  रविलाई भेट्न जेल पुगेका छन् । केही दिनअघि पूर्वप्रधानमन्त्री बाबुराम भट्राई भैरहवा कारागार पुगे । त्यस्तै, जनमत पार्टीका अध्यक्ष सिके राउत, हृदयेश त्रिपाठी, एमाले सांसद वासुदेव घिमिरे, माओवादी सांसद माधव सापकोटा पनि रविलाई भेट्न पुगे । भेटेपछि उनीहरुले रविले सेवासुविधा नपाएको बताए । यद्यपि, कसैले पनि अन्य कैदीबन्दीको बारेमा बोलेनन् । पाँच सय क्षमता भएको कारागारमा पाँच हजार कैदीबन्दी राख्दा चुइक्क नबोल्ने अनि रविलाई पत्रिका पढ्न दिइएन भन्दै उफ्रिने । शुरुमा अन्य कारागार र कैदीबन्दीको अवस्था हेरेको भए रविले सेवासुविधा पाएनन् भनेको ठिक्कै हुन्थ्यो । तर, उनीहरु त अरु कैदीबन्दीको अवस्था नै नहेरी रविको पक्षमा उफिए ।  रवि को हुन् त उनलाई कारगारमा छुट्टै सेवासुविधाको व्यवस्था गरिदिनुपर्ने ? गल्ती गरेपछि प्रधानमन्त्री, राष्ट्रपति त जेल जानुपर्छ । जेल पुगेपछि उनीहरुको ओहोदा प्रधानमन्त्री, राष्ट्रपति रहँदैन । कैदीबन्दीमा सीमित हुन्छ अनि रविलाई चाँहि जेल पुगेपछि पनि पूर्वगृहमन्त्री मानिदिनुपर्ने । त्यसो भए त जेलभित्र रहेका हरेक कैदीबन्दीलाई जेल जानुअघि उनीहरु रहेको ओहोदा र सम्मान दिनुपर्यो । सोहीअनुरुप सेवासुविधा पनि ।  रवि अझै पनि आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै जोगिन खोजिरहेका छन् । यत्रो जनताको पैसा ठग्ने अनि राजनीतिक प्रतिशोध । फेरि जनता पनि यस्ता ठगमाथि विश्वास गर्छन् । यस्तो व्यक्तिको पक्षमा हस्ताक्षर गरिरहेका छन् । रवि ठगीमा मात्र संलग्न छैनन्, उनको पहिचानबारे अन्यौलता अझै कायमै छ । उनी अमेरिकाले पठाएको जासुजसमेत हुनसक्छन् । किनकि उनी अमेरिकी नागरिक नभएको अहिलेसम्म अमेरिका सरकारले बताएको छैन । 
 

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  १४:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार