सोसल मिडिया
Contact Us
युनिकोड
हिन्दू महिलाहरूको प्रमुख चाडका रुपमा मनाइने तीज आउन अब केही दिन मात्र बाँकी छ । विगतका वर्षहरूमा तीज आउनु महिना दिन अगावै महिलाहरूले दर खान थाल्थे । विभिन्न पार्टी प्यालेस, आफन्त कहाँ तीजको दर खाने कार्यक्रमको आयोजना गरिन्थ्यो । गरगहना लगाएर र मँहगा कपडा भिरेर दर खाने कार्यक्रममा जान महिलाहरूलाई भ्याइनभ्याइ हुन्थ्यो । यता, सहकारीहरूले पनि तीजको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरथ्यों । तीज महिलाको कार्यक्रम भए पनि दर खान पुरुष सेयर सदस्यहरू पनि पुग्थें । तीजको नाममा जाँडरक्सी खाएर समाजमा बेतिथि मच्चाइथ्यो । तर, यसवर्ष कतै त्यस्तो देखिएको छैन । यसको प्रमुख कारण हो–बैंक तथा वित्तिय संस्था डुब्नु र आर्थिक मन्दी हुनु । सहकारीहरू डुबेपछि नाटकचटक सकिएको छ । लघुवित्तको अवस्था पनि त्यस्तै छ । अर्कोतर्फ, सर्वसाधारण आर्थिक मन्दीको चपेटामा छन् । सर्वसाधारणसँग पैसा छैन । त्यसैले त तीज आउन लगभग तीन साता बाँकी हुँदा पनि पार्टी प्यालेसहरू सुनसान छ । कार्यक्रमको पर्खाइमा रहेको पार्टी प्यालेसहरू तीजमा पनि ठण्डाराम हुने देखिएको छ । तीज नजिकिएसँगै सुन पसलमा व्यापक चाप देखिन्थ्यो । लुगा पसलमा पनि अत्याधिक भीड हुन्थ्यो । माछामासु र डेरीलाई तीज आउन लाग्दा भ्याइनभ्याइ हुन्थ्यो । तर, कपडा, माछामासु र डेरीमा त्यति ग्राहक छैनन् । बरु, पहिलेको भन्दा घटेका छन् । यद्यपि, सुन पसलमा भने ग्राहकको लावालस्कर देखिन्छ । तर, त्यो भीड सुन किन्न होइन, बेच्न हो । सुन बेच्नेहरूले ज्वेलर्स भरिपूर्ण छ । केही दिनयता सुनको मूल्य तोलाकै एक लाख ९८ हजार पाँच सय रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ । जबकि, २०२२ सालमा त्यही सुन तोलाको ८० हजार रुपैयाँ थियो । लाखौं रुपैयाँ फाइदा भएपछि सुन बेच्नेहरूको ताँती लागेको हो । सुन किन्ने नभई बेच्ने मात्र भएपछि ज्वेलर्सहरू वाक्कदिक्क भएका छन् । उनीहरूले पैसा छैन भनेर ग्राहक फर्काउन थालेका छन् । तीज आफ्नो परिवारको सुःस्वास्थ्यका लागि मनाइने चाड हो । तर, पछिल्लो समय यो चाडले समाजमा धेरै नै बेतिथि फैलाएको थियो । तैले बढी गहना लगाउने कि मैले ? भनेर होडबाजी नै चल्थ्यो । आस्थाले होइन कि देखावटी रुपमा तीज मनाउन थालियो । तीज आउनुभन्दा तीन महिना अगाडिदेखि नै दर खान थालिन्थ्यो । दरमा पनि रक्सी, बियरलगायतका पेय पदार्थ राखिन्थ्यो । पहिले पहिले तीज आउनुभन्दा केही दिनअगाडि दाजुभाइ आफ्नो दिदीबहिनीलाई लिन जान्थें । तीजको अघिल्लो दिन घरपरिवार र आफन्तले मिलेर दर पकाउँथे । दरमा पनि सबै शाकाहारी र घरमै बनेका परिकारहरू हुन्थ्यो । दर खाएर भोलिपल्ट व्रत बसिन्थ्यो । आफ्नै घरमा नाँचगान गरिन्थ्यो । तर, बैंक तथा वित्तिय संस्थाले तीजको नाममा सेयर सदस्य, बचतकर्ताहरूलाई महिनौंअगाडिदेखि दर खुवाउन थाले । त्यही प्रवृत्तिको विकास हुँदै गयो । देखाउनका लागि पनि पार्टी प्यालेसमा तीजको कार्यक्रम आयोजना गर्ने क्रम शुरु भयो । तीजलाई बिगार्नुमा कलाकारको पनि एकदमै महत्वपूर्ण भूमिका छ । चेलीबेटीको गीत गाउनुपर्नेमा समाजलाई भड्काउने खालको गीत गाउन थालियो । कोमल वली तीज आउनेबित्तिकै ‘यो तीजमा पोइला जान पाऊँ’ भन्दै गीत गाउँछिन् । वली सञ्चारकर्मी हुँदै सांसद समेत बनेकी पात्र हुन् । जनताले तिरेको करबाट उनले तलब खान्थिन् । तर, उनले त्यस्ता गीत गाउँदा समाजमा पर्ने असरबारे सोचिनन् । जसले समाजलाई कुभलो हुने गीत गाउँछ, ऊ सांसद, सञ्चारकर्मी ? यस्ताले देश बनाउँछन् ? यिनीहरूले देश बनाउने होइन, बिगार्ने काम मात्रै गर्छन् । झन् पछिल्लो समय तीज गीत भन्दै एकदमै छाडा गीत ल्याइएको छ । सरकारले त्यस्ता छाडा गीतमा प्रतिबन्ध लगाउन सकेको छैन । नागरिकको आइडल बन्नुपर्नेहरूले नै समाजलाई भडखालोमा लगेर हाल्दै छन् । नेता, कलाकारबाट जनताले धेरै कुरा सिक्छन् । तर, उनीहरूले आफ्नो फाइदाका लागि जानाजान जनतालाई नकारात्मक कुरा सिकाइरहेका छन् । नेताहरू पनि तीजको कार्यक्रमको आयोजना गर्थें । आफ्नो पार्टीको सदस्यता बढाउनका लागि नेताहरूले भ्रष्टाचार गरेको पैसाले तीजको कार्यक्रम गर्थें । तर, जनताले त्यो भ्रष्टाचार गरेको र राजश्व छलेको पैसा हो भनेर बुझेनन् । एकातिर नाम कमाए, अर्कोतिर चुनावमा भोट बढाए । तीज त नेताहरूका लागि भोट बढाउन राम्रो माध्यम बनेको थियो । चाडबाडका नाममा बेतिथि फैलाउनमा राजनीतिक दलको पनि हात छ । जनताले भने राज्य र आफैंलाई ठगेको पैसा हो ? भन्ने कहिल्यै बुझेनन् । राजनीतिक दलले समाजलाई सही मार्ग देखाउनुपर्ने हो । तर, आफ्नो फाइदाका निम्ति उनीहरूले समाजमा विकृति फैलाइदिन्छन् । जसको उदाहरण तीज नै हो । सहकारी डुबेपछि यो वर्षदेखि तीजको नाममा चटक देखाउने कार्यमा कमी आएको छ । तीन वर्षअगाडि तीजको दर खान नसकेर डस्टबिनमा लगेर फ्याक्ँनेहरू अहिले भोकभोकै छन् । सहकारीले पैसा खाइदिएपछि उनीहरूसँग बिहानबेलुका भात खाने पैसा छैन, तीजको त कल्पना नै नगरौं । पार्टी प्यालेसमा गएर नाँच्न र एक छाक खानमा रमाउँदा जीवनभरको कमाइ डुबाउनुपरेको छ । बुढापाकाले भन्छन् नि, ‘बलेको आगो सबैले ताप्छन्, नबलेको कसैले ताप्दैनन् ।’ हुञ्जेल सबैले खाए, खुवाइयो । अब अहिले त सहकारी डुबिहाल्यो, व्यापार व्यवसाय डामाडोल छ । त्यसैले कसैले दरको कार्यक्रमको आयोजना गरेकै छैनन् । हुन त यो राम्रै पनि हो । सर्वसाधारणलाई पैसाको मात लाग्न थालिसकेको छ । महिनौंअगाडिदेखि दर खाएर समाजमा विकृति फैलाउनुको साटो समाजसेवा गरौं भन्ने भावना न नेतामा आयो न कलाकारमा । न बैंक तथा वित्तिय संस्था र जनतामा त्यो सचेतनाको विकास भयो । ठग्ने र मोजमस्ती गर्नेमै सबै रुमल्लिए । तीजमा दर खाने कार्यक्रमले कुनै ठाउँमा पुल बनाइदिए कति जना हिँड्न पाउँछन् ? स्कुल बनाइदिए पुस्तौं पुस्ताले पढ्छन् । कुनै व्यक्ति शिक्षित हुनु भनेको देश विकास हुनु हो । तर, यो कुरा कसैले सोचेनन् । खाएका छन्, खान नसके, टोकरीमा लगेर फ्याँकेका छन् । जबकि, यहाँ खान नपाएर बाटोमा माग्न बसेकाहरू लाखौं छन् । तिनीहरूको सामुन्ने हिल्यै हात खुल्दैन तर कार्यक्रम गर्दा लाखौं लाख उडाउँछन् । यहाँ त बुवाआमा भ्रष्टाचार गरेर ल्याउँछन्, छोराछोरीले मोजमस्ती गर्छन् । छोराछोरी पनि त्यही बाटो हिँड्छन् । अनि कसरी समाज परिवर्तन हुन्छ ? जनतामा चेतना आउँछ ? सबै स्वार्थी भए । मै खाऊँ, मै लाऊँको भावना सबैमा विकास हुँदै गयो । कतिपय जिल्लामा यस्तो अवस्था छ कि भात खान र राम्रो लुगा लगाउन दशैं आउनुपर्छ । त्योपनि उनीहरूसँग हुँदैन । कतिपयले दिए भने खान पाउँछन् । धनीहरू अरुलाई ठगेर, भ्रष्टाचार गरेर धनी बन्दै गए, गरिबहरू बेरोजगारी, अशिक्षाको कारणले झनै गरिब बन्दै गए । नेपालीमा आफू पनि बाँचौं, अरुलाई पनि बचाऔं भन्ने भावना आएन । जसरी हुन्छ, अरुलाई ठगौं अनि आफू कमाऔं । नेपाली समाज यतिमै सीमित छ । बैंक तथा वित्तिय संस्थाले केही वर्षअगाडिसम्म आफूहरूले सेवा गरेको भन्थे । तर, ढाँटेको कुरा काटेर मिल्छ झैं भएको छ ।