आज गाईजात्रा, देशभर विभिन्न कार्यक्रको आयोजना गरी मनाइँदै

आइतबार, साउन २५, २०८२
Global Ime Bank

काठमाडौँ । आज गाईजात्रा पर्व । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत पर्व ‘गाईजात्रा’ आज देशभर विभिन्न कार्यक्रको आयोजनागरी मनाइँदैछ ।  गाईजात्रा खास गरी एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा मनाइने गरिन्छ ।  गाई र जात्रा अर्थात् यस दिन माता र पृथ्वीको रूपमा हिन्दु संस्कारमा पूजनीय गाई को जात्रा पनि हो । इतिहासका पन्नाहरूमा लेखिएका र किंवदन्तिहरूका अनुसार यस दिन काठमाडौँ उपत्यका वासीहरूले यम अर्थात् मृत्युका देवता यमराजलाई पूजा गर्ने गर्दछन् । आजको दिन दिवंगत आफन्तको सम्झनामा गाई वा गाईको भेषमा सजिएका मानिसलाई आ–आफ्नो क्षेत्रमा परिक्रमा गराउने गरिन्छ । धार्मिक विश्वास अनुसार, यसरी नगरपरिक्रमा गर्दा मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी नदी पार गर्छन् ।  यस पर्वको सुरुवात राजा प्रताप मल्लको पालादेखि भएको मानिन्छ । विक्रम संवत् १६४१ देखि १६६४ मा राजा प्रताप मल्लको नाबालक छोराको निधनले उनकी रानीलाई परेको वियोगको शोकका कारण विक्षिप्त बनेकी थिइन् र धेरै समय बितिसक्दा पनि सामान्य जीवनयापन र राजकाजमा नफर्किएर एक्लै टोलाएर बस्ने गरेकी थिइन् । पुत्रशोकमा डुबेकी आफ्नी रानीलाई सान्त्वना दिन राजाले जनतालाई आफ्ना दिवंगत व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउन आदेश दिएका थिए । जब रानीले धेरै मानिसले पनि यस्तै शोक व्यहोरेको देखिन्, तब उनको मनमा शान्ति मिलेको जनविश्वास छ ।  त्यसपछि रानीको मन थप शान्त पार्न राजाले हास्यव्यङ्ग्यका कार्यक्रमहरू गराउने आदेश दिएको र त्यसैबेलादेखि हास्यव्यङ्ग्यको प्रचलन चलेको मानिन्छ । आजको दिन गाईजात्रा निकाल्दा गाईलाई अघि अघि लाएर जात्रा निकालिन्छ र यदि गाई नभएमा कुमार केटोलाई गाई जस्तै बनाएर अघि लाइन्छ । विभिन्न मुखुण्डो र रङ्गीचङ्गी पोसाक लगाएका मान्छेहरू बाजागाजाका साथ बेग्लै खाले ध्वजा पताकाहरू तथा बितेका आफन्तजनको तस्बिरसहित जात्रामा समावेश हुन्छन् । गाईजात्रा काठमाडौं उपत्यकासहित बनेपा, धुलिखेल, पोखरा, इलाम, धरान, विराटनगरलगायत नेवा समुदायको बाहुल्य भएका सहरहरूमा मनाइन्छ । सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  १२:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार