हात्तीवन सामुदायिक सेवा समाजका सदस्य–ज्येष्ठ नागरिक दुप्चेश्वर महादेवको धार्मिक यात्रामा (भिडियो) 

शनिबार, साउन २४, २०८२

नुवाकोट । नुवाकोटको प्रसिद्ध धार्मिकस्थल दुप्चेश्वर महादेव मन्दिरको ललितपुर महानगर २३ नं. वडास्थित हात्तीवन सामुदायिक सेवा समाज गुठीका सदस्यले भ्रमण गरी पूजा अर्चना गरेका छन् । हिजो शुक्रबार गुठीले नुवाकोटको दुप्चेश्वर महादेवको दर्शनका लागि गुठिका सदस्य तथा ज्येष्ठ नागरिकहरूलाई धार्मिक यात्राको ब्यबस्था मिलाएको हो । दुप्चेश्वर महादेशको दर्शन तथा पूजाका लागि गुठीमा आवद्ध करिब ६५ जना सदस्य तथा ज्येष्ठ नागरिकहरू सहभागी थिए । सेवा समाजका अध्यक्ष मधुकर केसीले समाजको साधारणसभाले टोलवासीलाई साउन महिनामा शिवालयको भ्रमण गराउने निर्णय गरेअनुसार दुप्चेश्वर महादेव मन्दिरको धार्मिक यात्रा गराइएको जानकारी दिए । गत वर्ष समाजले कुशेश्वर महादेव लगेको थियो । दुप्चेश्वर महादेश मन्दिरको भ्रमणबाट भक्तजनहरू खुशी रहेको आफूले पाएको उनले बताए । धार्मिक भ्रमणमा ललितपुर महानगरपालिका २३ नं. वडासदस्य राजनमल्ल ठकुरी, ऐरावत टोल विकास समितिका पदाधिकारी, हात्तीवन सामुदायिक सेवा समाजका सदस्यहरूको सहभागिता रहेको थियो । प्रसिद्ध धार्मिकस्थल दुप्चेश्वर महादेव नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा न. ६ मा अवस्थित छ । यस मन्दिरमा धान्य पूर्णिमाको अघिल्लो दिन चतुर्दशीदेखि पूर्णिमाको दिनसम्म मेला लाग्ने गर्दछ । भक्तजनहरुले पूजाआराधना गर्ने तथा भगवान् शिवप्रतिको आस्थाभाव प्रकट गर्दै आफूले चाहेको बर माग्ने परम्परा रहेको छ । दुप्चेश्वर महादेवको दर्शन गर्न काठमाडौं उपत्यकासहित छिमेकी जिल्ला धादिङ, रसुवा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, गोरखा, चितवनलगायत देशका विभिन्न ठाउँहरुबाट वर्षेनी लाखौ भक्तजनहरू महादेवसँग वरदान माग्न आउने गर्दछन् । महादेवको पूजा आराधना गर्दा मागेको पाउने आटेको पुग्ने बिश्वास गरिन्छ । यस धार्मिकस्थलमा सन्तान नहुनेहरू सन्तान माग्न आउने गरेको जन–विश्वास रहेको छ । जोडी जुराउन र सन्तान माग्नकै लागि पनि यहाँ भक्तजनहरु दैनिक जसो आउने गर्दछन् । सन्तान नभए सन्तान दिने (बिशेष गरी छोरा), चौपायाहरू नब्याएमा दाम्लो चढाएमा गर्भाधान हुने, बालबालिकाको बोली नफुटेमा बोली फुट्ने ,आफ्नो मनले चाहेको जे माग्यो त्यो सबै पूरा हुनेलगायतका जनविश्वासमा भक्तजनहरू आउने गरेका छन् । 

यस्तो छ किंबदन्ती 
पौराणिक कथन अनुसार करिव पाँच सय वर्षअघि स्थानीय एक तामाङको दुहुनो गाई हराएपछि खोजी गर्दै जाँदा पहरोमा दुध चढाइरहेको भेटिएकाले उक्त ठाउँमा दुग्धेश्वर महादेव रहेको विश्वास छ । किंबदन्तीअनुसार समुन्द्रमन्थन गर्दा निक्लिएको विष सेवनपछि छट्पटिएका महादेव पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा बास बसेर रसुवाको गोसाइँकुण्ड गएको उल्लेख छ । दुप्चेश्वर महादेवलाई सानो पशुपतिनाथको रूपमा पुज्ने गरिन्छ । हिन्दू र वौद्ध धर्मालम्बीहरुले दोस्रो पशुपतिनाथको रुपमा दुप्चेश्वर महादेवलाइ मान्दै आएका छन् । यो मन्दिरमा ठूलो एकादशी, शिवरात्री, बालाचतुर्दशी, ऋषि पञ्चमी, साउनको सोमबार लगायत हिन्दु परम्परा अनुसार शिब मान्ने पर्वहरुमा दर्शनार्थीको निकै ठूलो भिड लाग्ने गर्दछ । यो मन्दिर पवित्र तादी खोलामा अवस्थित छ । तादी खोला किनारदेखि करिव २५० मिटरमाथि शिलामा शिवलिंग अर्ध वृत्ताकार आकारमा रहेको छ ।

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  २१:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार