सोसल मिडिया
Contact Us
युनिकोड
धापाखेल (ललितपुर) । हिन्दु धर्मावलम्बीले आज नागको पूजा गरेर नागपञ्चमी मनाएका छन् । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्बिर टाँसेर पूजार्चना गरी मनाइने गरिन्छ । नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने धार्मिक विश्वास रहँदै आएको छ । यस्तै नागको पूजा गर्दा अग्नी, मेघ र चट्याङको भयबाट बच्न सकिने धार्मिक विश्वाससमेत रहेको छ । नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको मानिन्छ । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिने र नाग रिसाए भने पानीको अभाव हुने धार्मिक मान्यता रहेको छ । त्यसैले नागलाई खुशी पार्न पूजा गर्ने परम्परा छ । काठमाडौंका नागपोखरी र टौदह, ललितपुर धापाखेलस्थित नागदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा आज विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दूबो, खीर र रोटीलगायत परिकार प्रसाद चढाउने गरिन्छ । नागपञ्चमीका अवसरमा ललितपुर महानगरपालिका वडा नं. २४ स्थित नागदहमा आज मेला लागेको छ । नागदह बासुकी नागको वासास्थानका रुपमा परिचित छ । नागपञ्चमीको अवसरमा नागदहमा बिहानैदेखि भव्य मेला लागेको हो । मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको मन्दिरका पुजारीले जानकारी दिएका छन् । पूजाका लागि आवश्यक पर्ने सामग्री लिएर बिहानैदेखि लामबद्ध रुपमा भक्तजनको उल्लेखनीय सहभागिता रहेको छ । दहको छेउमै नागको प्रतीकका रुपमा नागको मूर्ति स्थापना गरिएको छ । नागपञ्चमीका दिन नाग पूजा एवम् दर्शनका लागि यहाँ चापागाउँ, झरुवाराशी, गोदावरी, सुनाकोठी, पाटन, लेले, छम्पी, ठेचो, गोदामचौर, ठैवलगायतका क्षेत्रबाट भक्तजनको सहभागिता रहेको छ । नागदहका नागको पूजा तथा दर्शनका लागि संघीय सांसद डा.तोसिमा कार्की, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, ललितपुर महानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ, महानगरपालिका विभिन्न विभागका प्रमुख, विभिन्न वडाका वडाअध्यक्षसहित निर्वाचित जनप्रतितिनिधि, विभिन्न दलका नेताहरू, समाजसेवी तथा ठूलो संख्यामा सर्वसाधारणहरूले नागको दर्शन तथा पूजा आजा गरेका छन् ।