सोसल मिडिया
Contact Us
युनिकोड
धापाखेल (ललितपुर) । हिन्दु धर्मावलम्बीले आज नागको पूजा गरेर नागपञ्चमी मनाउँदै छन् । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज मंगलबार परम्पराअनुसार घरका मूलढोकामा नागको तस्बिर टाँसेर पूजार्चना गरी मनाइने गरिन्छ । नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने धार्मिक विश्वास रहँदै आएको छ । यस्तै नागको पूजा गर्दा अग्नी, मेघ र चट्याङको भयबाट बच्न सकिने धार्मिक विश्वाससमेत रहेको छ । नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको मानिन्छ । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिने र नाग रिसाए भने पानीको अभाव हुने धार्मिक मान्यता रहेको छ । त्यसैले नागलाई खुशी पार्न पूजा गर्ने परम्परा छ । काठमाडौंका नागपोखरी र टौदह, ललितपुर धापाखेलस्थित नागदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा आज विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दूबो, खीर र रोटीलगायत परिकार प्रसाद चढाउने गरिन्छ ।
नागपञ्चमीका अवसरमा ललितपुर महानगरपालिका वडा नं. २४ स्थित नागदहमा आज भव्य मेला लागेकाे छ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन यहाँ नागको पूजा गर्न भक्तजनको मेला लाग्ने गर्छ । नागदह बासुकी नागको वासास्थानका रुपमा परिचित छ । नागपञ्चमीको अवसरमा नागदहमा आज बिहानैदेखि श्रद्धालुको भीड लागेकाे छ । नागपञ्चमी मेला भर्ना ललितपुर महानगरका मेयर–उपमेयरसहित सबै वडाका वडाअध्यक्षसहितका जनप्रतिनिधि, महानगरपालिकाका कर्मचारी, ललितपुरका सबै कार्यालय प्रमुखसहित नागदहप्रति सरोकार राख्ने उपत्यकाका विभिन्न कार्यालयका प्रमुखलाई आमन्त्रण गरिएको लपुमनपा-२४ का वडाअध्यक्ष दिनेश जंग पाण्डेले जानकारी दिनुभयो । नागपञ्चमीका दिन नागकाे पूजा एवम् दर्शनका लागि यहाँ चापागाउँ, झरुवाराशी, गोदावरी, सुनाकोठी, पाटन, लेले, छम्पी, ठेचो, गोदामचौर, ठैवलगायतका क्षेत्रबाट भक्तजनहरु आउने गर्दछन् ।