सोसल मिडिया
Contact Us
युनिकोड
धापाखेल(ललितपुर) । ललितपुर महानगरपालिका–२४ स्थित धापाखेल नागदहमा मंगलबार लाग्ने नागपञ्चमी मेलालाई व्यवस्थित बनाउन वडा कार्यालयले आज शनिबार सरोकारवालासँग छलफल गरेको छ । हरेक वर्ष श्रावण शुक्लपक्ष पञ्चमी तिथिका दिन धापाखेलस्थित धार्मिक पर्यटकीयस्थल नागदहमा नागपञ्चमी मेला लाग्ने गर्दछ । ललितपुर महाननगरपालिका २४ नं. वडाका वडाअध्यक्ष दिनेशजंग पाण्डेले नागदहमा लाग्ने नागपञ्चमी मेलालाई व्यवस्थित गर्न वडा कार्यालयले विभिन्न तयारी गरेको छलफलमा जानकारी गराउनुभयो । नागपञ्चमी मेलालाई व्यवस्थित बनाउन वडा कार्यालयले महिला समूहका पदाधिकारी तथा सरोकारवालासँग आज शनिबार छलफल गरेको हो । नागपञ्चमी मेला भव्य एवम् व्यवस्थित तरिकाले सम्पन्न गर्न विभिन्न व्यक्ति तथा संघ संस्थाहरूलाई जिम्मेवारी पनि दिइएको छ । जलपा माविका स्काउट विद्यार्थी, महिला समूहका पदाधिकारी, नगर प्रहरी तथा सुरक्षाकर्मीको सहयोगमा मेला व्यवस्थापन गरिने ललितपुर महानगर २४ नं वडाका वडाध्यक्ष पाण्डेले बताउनुभयो । यसपटकको नागपञ्चमी मेला वडा कार्यालयको संयोजनमै हुँदैछ । मन्दिर सजावट, बजार व्यवस्थान, भजनकिर्तनसहितका अलग अलग विषयका लागि अलग अलग जिम्मेवारी दिइएको छ । आजको छलफलमा वडाअध्यक्ष पाण्डेसहित वडासदस्यहरू निशा मालबुल, उद्धब बस्नेत, हरिकृष्ण महर्जन, वडास्तरीय महिला सञ्जालका पदाधिकारी, महिला समूहका पदाधिकारी, समाज सेवामा क्रियाशील संघ संस्थाका पदाधिकारी, समाजसेवी एवम् स्थानीयको सहभागिता रहेको थियो ।