नेताहरूले छाडेनन् अडान 

कांग्रेसमा विवाद 
शनिबार, कात्तिक २२, २०७७

काठमाडौँ । आन्तरिक विवाद समाधानका लागि बसेको कांग्रेसको अनौपचारिक बैठकमा आ–आफ्नो अडानअनुसार नेताहरूले धारणा राखेका छन् । कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरू रामशरण महत, मीनेन्द्र रिजालले असोज ११ गते पार्टी केन्द्रीय कार्यालयमा दर्ता भएको १६ बुँदे ज्ञापनपत्रकै पक्षमा धारणा राखे । 
संस्थापन पक्षीय सदस्यहरू आनन्द ढुंगाना र एनपी सावदले भने ज्ञापनपत्रमा उठाइएका विषयहरूको प्रतिवाद गरेका थिए । 
संस्थापन इतरपक्षीय केन्द्रीय सदस्यहरूले अन्य राजनीतिक दलबाट कांग्रेस प्रवेश गरेकाहरूको समायोजनका नाममा क्रियाशील सदस्यता वितरण विधान र प्रक्रियाविपरीत गरिएको दाबी गर्दै आएका छन् । उनीहरूले रसुवा, सिन्धुपाल्चोक, सर्लाहीलगायतका जिल्लामा क्रियाशील सदस्यता वितरणमा अनियमितता गरिएको आरोप लगाएका हुन् । तर, संस्थापन पक्षले विधानको प्रावधानअनुसार नै क्रियाशील सदस्यता वितरण गरिएको दाबी गर्दै आएको छ । 
बैठकमा सहभागी सबैले धारणा राखेपछि समझदारीका लागि पहल थालिने संस्थापन पक्षीय एक नेताले बताए । ‘सभापतिजीको पनि समझदारी गरेरै केन्द्रीय कार्यसमितिको बैठकमा जाँदा राम्रो हुन्छ भन्ने धारणा छ,’ ती नेताले भने, ‘बैठकमा सहभागी भएका सबै नेताले बोल्ने क्रम सकिएपछि कसरी सहमति जुटाउने भन्नेबारे सानो संख्यामा बसेर समझदारी बनाउने तयारी भएको छ ।’
पौडेल पक्षले आफूहरूले उठाउँदै आएका माग सम्बोधन नभएसम्म केन्द्रीय कार्यसमितिको बैठकमा अनुपस्थित हुने जनाएपछि सभापति देउवाले अनौपचारिक बैठकमार्फत सहमतिका लागि प्रयास गरेका हुन् । अहिलेसम्म दुवै पक्ष आ–आफ्नो अडानबाट पछि हटेका छैनन् । पौडेल पक्षका नेताहरूका अनुसार संस्थापन पक्षका सबैले ‘हामीले जे गरेका छौं, ठीक गरेका छौं’ भन्ने आएको छ । गल्ती र कमीकमजोरी नसच्याए समझदारी हुने सम्भावना देखिँदैन । ‘सबैले बोलेर सकेपछि सभापतिजीले कस्तो कदम चाल्नु हुन्छ त्यसमा धेरै कुरा निर्भर हुन्छ,’ एक नेताले भने । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबारका लागि बोलाइएको छ ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०७७  १९:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार