सोसल मिडिया
Contact Us
युनिकोड
हेटौंडा । चालु आर्थिक वर्ष २०८१/८२ मा जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी इकाइहरूले अपराध नियन्त्रण, लागुऔषध रोकथाम, भन्सार छलि नियन्त्रण र ट्राफिक व्यवस्थापनमा उल्लेखनीय कार्यसम्पादन गरेका छन् । प्रहरीको सार्वजनिक विवरणअनुसार, एक वर्षको अवधिमा एक हजार ७५ वटा मुद्दा दर्ता भएका छन् भने नौं सय २८ जना अभियुक्त पक्राउ परेका छन् । लागुऔषधसम्बन्धी १८८ वटा मुद्दा दर्ता गर्दै २८९ जना पक्राउ गरिएको छ। यस क्रममा छ हजार ००४ किलो गाँजा, ५१ किलो ७१० ग्राम चरेश, २६ किलो ८८० ग्राम अफिम, ६२८ बोतल कोरेक्स, ९५,२७१ थान नाइट्राभेट/ट्रामाडोल, २,७५७ एम्पुल डाइजेपाम र ४७६ ग्राम ४३३ मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ। साथै, ५५ वटा सवारीसाधन समेत नियन्त्रणमा लिइएका छन् । प्रहरीले १२० बिगाहा ४ कठ्ठा क्षेत्रफलमा फैलिएको गाँजाको खेती र ३९ बिगाहा १४ कठ्ठा क्षेत्रफलमा रहेको अफिम खेती फडानी गरेको छ। उक्त अभियानमा ४२१ जना प्रहरी परिचालित भएका थिए । अबैध भन्सार छली नियन्त्रणका क्रममा प्रहरीले १६ करोड १७ लाख ७४ हजार रुपैयाँ बराबरको सामान र मुद्रा बरामद गरेको छ। बरामदमा ८ किलो ७३५ ग्राम सुन, २ किलो १९६ ग्राम चाँदी, १० थान सवारीसाधन, ३२ हजार अमेरिकी डलर र १४ हजार यूरो विदेशी मुद्रा समावेश छन् । फरार १८३ जना अभियुक्त पक्राउ गरी ९९ वर्ष ११ महिना २३ दिनको कैद सजाय कार्यान्वयन गरिएको छ। साथै, १ करोड २१ लाख ७३ हजारभन्दा बढी जरिवाना असुल गरिएको छ । अबैध उत्खनन् विरुद्ध १९५ वटा सवारीसाधन नियन्त्रणमा लिइएका छन्, जसबाट ११ लाख १५ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ । एक वर्षमा ४०७ वटा सवारी दुर्घटना हुँदा ५० जनाको मृत्यु, १६३ जना गम्भीर घाइते र ८०२ जना सामान्य घाइते भएका छन् । ट्राफिक उल्लंघनमा ३० हजार ३४ कारबाहीबाट २ करोड ४१ लाख ४५ हजारभन्दा बढी राजस्व संकलन भएको छ । मापसेमा ८४४ चालक कारबाहीमा परेका छन् भने लागुऔषध सेवन गरी सवारी चलाउने २१ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । सामाजिक सुरक्षा र जनचेतनाका लागि २,६१६ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ, जसमा १ लाख ४५ हजारभन्दा बढी सर्वसाधारण सहभागी भएका थिए।