सोसल मिडिया
Contact Us
युनिकोड
रामेछाप । रामेछाप नगरपालिकाले यस आर्थिक वर्षमा सञ्चालन गरेको गतिविधिको सार्वजनिक सुनुवाइ कार्यक्रम शनिबार रामेछापमा आयोजना गरेको छ । नगरपालिका प्रमुख लवश्री न्यौपानेको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईँले यस आर्थिक वर्षमा सञ्चालित कार्यक्रम र त्यसको प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख न्यौपानेले जल, जङ्गल र जमिनको अधिकार स्थानीय तहलाई दिनु पर्ने बताए । उनले रामेछाप बजारलाई व्यवस्थित गर्न केही समस्या भएको बताउँदै त्यो समस्या समाधानको लागि साझा पहल आवश्यक रहेको बताए । रामेछाप एतिहासिक तथा सांस्कृतिक महत्वको नगरपालिका भएका बताउँदै त्यसको विकासको लागि आफूहरूले काम गरिरहेको उनले जानकारी दिए । पशुपालन, गेडागुडी उत्पादन लगायतका कृषिका क्षेत्र विकासको लागि योजनाबद्ध रूपमा काम गरिरहेको उनले जानकारी दिए । विरोध गरेर भन्दा पनि सबैले मिलेर विकास गर्न सकिने भन्दै उनले विकासमा सहकार्य गर्न आग्रह गरे । कार्यक्रममा यस वर्षको प्रगीत प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत चापागाईँले ८३. ०५ प्रतिशत बजेट नगरले यस वर्ष खर्च गरेको बताए । यस वर्षको लागि ७६ करोड ८८ लाख ६९ हजार रुपैयाँ बजेट खर्च अनुमान गरिएकोमा ६३ करोड ८७ लाख ६१ हजार रुपैयाँ खर्च भएको उनले बताए । यस वर्ष चालु तर्फ ८७.४८ र पुँजीगत तर्फ ७४.६५ प्रतिशत बजेट खर्च भएको पनि उनले जानकारी दिए । चालु तर्फ ५० करोड ५० लाख ४३ हजार रुपैयाँ खर्च अनुमान गरिएकोमा ४४ करोड १८ लाख रुपैयाँ खर्च भएको छ । त्यस्तै पुँजीगत तर्फ २६ करोड ३८ लाख ५९ हजार रुपैयाँ खर्च अनुमान गरिएकोमा १९ करोड ६९ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ । आन्तरिक राजस्व १ करोड १२ लाख रुपैँया उठ्ने अनुमान गरिएकामा १ करोड १४ लाख रुपैयाँ सङ्कलन भएको उनले बताए । आन्तरिक राजश्व अति कम उठ्ने भएका कारण धेरै विकासका काम गर्न नसकिएको उनले जानकारी दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले यस्ता कार्यक्रमले कामको पारदर्शिता कायम हुने र नागरिकको विश्वास बढ्ने बताए । सुशासन प्रवर्धनको लागि यसले सहयोग पुग्ने उनले धारणा राखे । कार्यक्रममा नागरिकहरूले उठाएका प्रश्नको नगरपालिका प्रमुख लवश्री न्यौपाने, उपप्रमुख बाला कार्की, प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईँ, वडाध्यक्षहरू लगायतले जवाफ दिएका थिए । कार्यक्रममा स्थानीय नागरिक अगुवा तथा पत्रकारहरूले नगरपालिकाको कामका बारेमा प्रश्न उठाएका थिए । सार्वजनिक सुनुवाई कार्यक्रमको अन्तिममा नगरस्तरका राजनीतिक दलका नेताहरूले आफ्नो धारणा राख्दै नगरका कामलाई थप प्रभावकारी बनाउन सुझाव दिएका थिए ।