संसद् विघटनपछिको घटनाक्रमप्रति चिनियाँ चासो

चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधिमण्डल काठमाडौंमा
आइतबार, पुस १२, २०७७

काठमाडौं । संघीय संसद्को तल्लो सदन विघटन भएपछि नेपालमा विकसित राजनीतिक घटनाक्रमका माझ एक चिनियाँ प्रतिनिधिमण्डल आइतवार काठमाडौं उत्रिएको छ । चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी ओलीसँग आइतवार साँझ नै भेटघाट गरिसकेको छ । चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गो इन्झो र महानिर्देशक सहितको प्रतिनिधिमण्डलले चारदिने भ्रमणका क्रममा पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई भेट्ने निश्चित भइसकेको छ । नेकपाको प्रचण्ड–नेपाल समूहका नेता विष्णु रिजालले भने, ‘यो भ्रमणको तय नेपालमा पछिल्लो राजनीतिक घटनाक्रम विकसित भएपछि भएको हो ।’ चीनमा पार्टीले नै सरकार चलाउने भएकाले सीपीसीको भूमिकालाई महत्वपूर्ण मानिन्छ ।

भ्रमणको अर्थ
नेपाली कांग्रेसका नेता समेत रहेका पूर्वराजदूत दीपकुमार उपाध्यायले ‘नेपाल अदृश्य सङ्कटको बाटोमा गइसकेको’ भन्दै त्यस्तो बेला विदेशी शक्तिहरूले आफ्नो स्वार्थ सुरक्षित गर्ने प्रयास गर्नुलाई अस्वाभाविक ठान्दैनन् । ‘दक्षिणतर्फ खुला सीमा छ र उत्तरलाई तिब्बतको संवेदनशीलताको चिन्ता छ । त्यसमाथि बदलिएको विश्व परिदृश्यमा दुवैले आफ्नो सुरक्षा चासो त हेर्छन् नै’ पूर्वराजदूत उपाध्यायले भने । ‘समस्या हामीले निम्त्याएको हो । हामीले अनुमति दिएरै विदेशीहरू आउने हुन् । नेपाल आफैले आफ्नो गन्तव्य तय गर्ने विषयमा फेरि पनि चुक्दै छ’ उनले भने । उपाध्यायले नेपालको पछिल्लो राजनीतिक विकासक्रममा अन्य मुलुकहरू जोडिनु भनेको देश असफल हुने बाटोमा जाने प्रारम्भिक संकेत रहेको ठान्छन् । ‘नेपाल आफू कमजोर हुनु कुनै पनि छिमेकीलाई फाइदाको विषय होइन । र देशलाई कूटनीतिक स्वार्थको क्रिडास्थल बनाउँदा यसले द्वन्द्वहरू बढाउँछ’ उनले भने ।

चीनले के चाहेको छ ?
चीनले नेपालमा आर्थिक रूपमा लगानी बढाउनका लागि केही वर्षयता राजनीतिक स्थिरतामा जोड दिँदै आएको उनीहरूका सार्वजनिक अभिव्यक्तिबाटै देखिन्थ्यो । नेकपालाई एक बनाउन र त्यसलाई जोगाइराख्न बेइजिङले थुप्रै प्रयासहरू गरेको भन्ने समेत एक थरीको विश्लेषण पाइन्छ । यसबीच नेकपामा सीपीसीले सैद्धान्तिक प्रशिक्षण समेत चलाएको थियो जसलाई नेपाली नेताहरूले ‘अनुभव आदानप्रदान’को रूपमा अथ्र्याउने गरेका थिए । चीन अध्ययन केन्द्रका अध्यक्ष सुन्दरनाथ भट्टराईले दुई ठूला कम्युनिस्ट मिलेर जाँदा हासिल गर्न सकिने उपलब्धिलाई पार्टी फुट हुँदाको अवस्थाले बिथोल्ने सोचेर चिनियाँहरू चिन्तित भएको ठान्छन् । ‘बिग्रिएको यस अवस्थालाई कतिसम्म जोगाउन सकिन्छ वा थप बिग्रन नदिन के गर्न सकिन्छ भन्ने बुझ्न सीपीसीको टोली आएको हुनसक्छ’ भट्टराई भन्छन्, ‘कम्तीमा चुनाव नै हुने अवस्थामा पनि अझै मिलेर जाउन् भन्ने अन्तिम प्रयास चीनले गर्न सक्छ ।’

भूराजनीतिक प्रतिस्पर्धा
संसद् विघटन भएपछि नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपाको एउटा समूहका अध्यक्षद्वय प्रचण्ड र नेपाललाई भेटेकी थिइन् । पार्टीमा सङ्कट देखा परेको यसअघिका अवस्थामा समेत राजदूतले प्रधानमन्त्री र अन्य नेताहरूसँग गर्ने भेटघाटलाई पार्टी एकतामा चीनको जोड रहेको रूपमा हेर्ने गरिन्थ्यो । यो भ्रमणको समय र सन्दर्भलाई राजनीतिशास्त्री प्राध्यापक कृष्ण खनालले नेपालको राजनीतिमा ‘चिनियाँहरू प्रत्यक्ष रूपमा संलग्न रहेको’ देखाउने ठान्छन् । ‘हिजो एउटा मात्र देशको हस्तक्षेप थियो भने आज दुई वटाकै भएको छ । चीन र भारत दुवैको नेपाली समाजमा गहिरो प्रभाव छ । त्यसमै देशहरू खेल्न थाले भने नेपाली समाज नै विभाजित हुने जोखिम छ’, प्राध्यापक खनाल भन्छन्, ‘अति संवेदनशील भूमानचित्रमा रहेको हामीमा दुइटा छिमेकीले प्रतिस्पर्धा गर्दा यहाँ धेरै कुरा विभाजित हुनसक्छ । त्यसले अफ्रिकी मुलुकहरूमा जस्तो द्वन्द्वको अवस्था सिर्जना नहोला भन्न सकिन्न ।’–बीबीसी
 

प्रकाशित मिति: आइतबार, पुस १२, २०७७  २१:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार