सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै प्रचण्ड–माधव नेपाल समूहका सांसदहरूले आइतबार प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । मुख्यमन्त्री राई प्रधानमन्त्री केपी ओली पक्षका हुन् । प्रचण्ड–नेपाल समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको सांसद लक्ष्मण तिवारीले बताए । सत्तारुढ नेकपाभित्रको आन्तरिक कलह चर्कंदै जाँदा त्यसको असर प्रदेश सरकारमा पर्न थालेपछि दर्ता भएको यो दोस्रो अविश्वासको प्रस्ताव हो । अविश्वासको प्रस्तावमा नेकपाका ३७ जना सांसदले हस्ताक्षर गरेका छन् । आचार्य नेकपाका प्रदेश १ इन्चार्ज हुन् । आचार्य झन्डै तीन वर्षअघि प्रदेश १ मा मुख्यमन्त्रीका लागि भएको नेकपाको संसदीय दलको निर्वाचनमा राईसँग दुई मतले पराजित भएका थिए । यसअघि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध पनि प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुअघि प्रदेश सरकारका तीनजना मन्त्रीले राजीनामा गरेका थिए । राजीनामा दिनेमा सामाजिक विकासमन्त्री जीवन घिमिरे, राज्यमन्त्रीहरू जसमाया गजमेर र विजयकुमार विश्वास रहेका छन् । आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने सुइँको थाहा पाएपछि शनिवार साँझ मुख्यमन्त्री राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आंबोलाई पदमुक्त गरेका थिए । सामना गर्न तयार मुख्यमन्त्री राई निकट मानिएका प्रदेश सांसद एवम् प्रदेशसभामा नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले हिम्मतका साथ उक्त प्रस्तावको सामना गर्ने बताएका छन् । उनले भने, ‘प्रदेशसभाको बैठक बोलाउने तयारी भैसकेको छ । हामी त्यहाँ त्यसबारे छलफल गर्न तयार छौँ । अविश्वास प्रस्ताव आउँदैमा डराउने कुरा हुँदैन ।’
प्रदेशसभामा कति सांसद ? प्रदेश १ मा प्रदेशसभामा ९३ जना सदस्य छन् । नेकपाका ६७ जना सांसदमध्ये प्रचण्ड–नेपाल समूहले आफ्नो पक्षमा बहुमत रहेको दाबी गरेका छन् । नेपाली काँग्रेसका २१, जनता समाजवादीका तीन, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका एक एक जना प्रदेश सांसद छन् ।