विद्यालयमा हुने दादागिरी र वेपरवाह विद्यालय व्यवस्थापन 

सोमबार, असार २, २०८२
Global Ime Bank

विद्यालय नागरिकलाई शिक्षा प्रदान गर्ने थलो हुन् । नागरिकलाई शिक्षित मात्रै होइन, सभ्य, सुसंस्कृत र मूल्य बोधी बनाउने स्थान पनि विद्यालय नै हुन् । एक प्रकारले भन्दा जैविक रूपमा जन्मिएको बच्चालाई सामाजिक र वैचारिक प्राणी बनाउने कार्य पनि विद्यालयले नै गर्छन् । विद्यालय शिक्षा सबल, सफल र प्रभावकारी हुन जरुरी छ । राम्रो शिक्षा पाइन्छ भनेर नै नागरिकहरूले आफ्ना सन्ततिहरूलाई विद्यालय भर्ना गरेका हुन्छन् ।  विद्यालय, जहाँ अक्सर विद्यार्थीहरू ज्ञानको सागर सोचेर पढ्न जान्छन्, केही सिक्न जान्छन् र अझ मन्दिर सरह मान्छन् । विद्यालयमा पक्कै पनि विद्यार्थी झोलामा केही किताब, स्टेशनरी सामान बोकेर दिनको ६–८ घण्टा बिताउन मात्र होइन, सुनौलो भविष्यको सपना समेत लिएर जान्छन् ।
तर जब विद्यालय नै डरको कारण हुन्छ, विद्यार्थी खासै खुल्न सक्दैनन् र आफैंमा हराउँछन् । कल्पना गर्नुस् जहाँ तपाईं भविष्य सोचेर जानु हुन्छ त्यहाँ तपाईंमाथि अनावश्यक कारणमा दादागिरी हुन थाल्छ, तपाईंलाई हपकाइन्छ र तर्साइन्छ १ पक्कै पनि कल्पना मात्रै गर्दा पनि असह्य पीडा हुन्छ । वर्तमान समयमा नेपालमा त्यहीँ हुँदैछ, विद्यालयमा अलि बाठा र शारीरिक रूपमा बलिया विद्यार्थी आफ्नै उमेर समूहका अरू साथीमाथि दमन गर्छन् र दादागिरी देखाउँछन् । अर्को तिर ती संवेदनशील र सोझा विद्यार्थी आफ्नो लागि बोल्न समेत सक्दैनन् । सहयोगको लागि विद्यालय प्रशासनमा गुहार्छन्,  तर विद्यालयमा व्यवसायको निम्ति बसेका कसैले ति कलिला बालकको कुरा सुन्दैनन् । वर्तमान समयमा विद्यालयमा दादागिरी बढ्दो रूपमा देखिन्छ, यसले विद्यार्थीको मानसिक स्वास्थ्यमा सोझै असर गरेको देख्न सकिन्छ। विद्यार्थी आफूसंग भइरहेको ज्यादती बारे कसैलाई भन्न सक्दैनन् किनकि विद्यालय स्वयम् यी कुरामा आँखामा पट्टी बाँधेर बस्छ, अझ विद्यालयको समाजमा प्रतिष्ठा छ भनेर यस्ता घटना  लुकाउन बढी चाहन्छ । जसले उक्त विषयको समाधानमा ध्यानाकर्षण गर्नु पर्ने हो, उनीहरू नै बेपर्वाह छन् । यी कुरामा स्थानीय सरकारको पनि केही हदमा ध्यानाकर्षण हुने हो भने, स्थानीय सरकारको पहलमा यो समस्या सायद केही कम हुने थियो । अभिभावक पनि यस विषयमा सजग हुनु पर्छ कि आफ्ना बालबालिका अध्ययन गरिरहेको विद्यालयमा आफ्ना सन्ततिले कसरी दिन काटिरहेका छन् त्यो कुरा जानकारी लिन सक्नुपर्छ । आफ्ना सन्ततिले राम्रोसँग पढिरहेका छन किन नचाहिँदा तनाव झेलिरहेका छन् त्यसबारे अभिभावक चनाखो हुनुपर्छ । आफ्ना सन्तानले देखाएको व्यवहारबाट पनि विद्यालयको वातावरण नियल्न सकिन्छ ।  आफ्ना सन्तति पढिरहेका विद्यालय बाल मैत्री छ कि छैन, बालबालिकाको सर्वाङ्गीण विकासका लागि उत्तरदायी छन कि छैनन,  विद्यार्थीको बौद्धिक, शारीरिक, सांस्कृतिक क्षमता उजागर गर्ने र देश प्रेम एवम् सदाचार र अनुशासनका लागि संवेदनशील छन कि छैनन भन्ने कुरा अभिभावकले जानकारी राख्नुपर्छ । 
विद्यार्थीको बालमनोविज्ञान र स्वच्छतालाई उच्च प्राथमिकता दिइएको छ कि छैन भन्ने कुरा अभिभाकले ख्यान गर्ने हो भने आफ्ना सन्ततिहरूमाथि हुने गरेका मानसिक यातना कम हुनेछ । 

 


 

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १२:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार