व्यापारीलाई कमाउन पाए पुग्ने, मानिसहरू जानाजानी आफैं आफ्नो ज्यान सिध्याउँदै !

आइतबार, असार १, २०८२
शारदा नगरपालिकाको विज्ञपान
Global Ime Bank

केही समययता मानिसहरू बिरामी हुने क्रम बढेको छ । कोही बिरामी भएर अस्पतालमा उपचाररत छन् भने कोही घरमै थला परेका छन् । यसरी बिरामी बढ्दै जानुमा जार तथा बोतलका पानी प्रमुख कारण रहेको पाइएको छ । जार र बोतलका पानी प्रशोधित भनिए पनि त्यो पानीले नै रोग निम्त्याइरहेको छ ।  खोला, नदी, जमिन मुनिको फोहोर पानी निकालिन्छ । अनि केमिकल मिसाएर प्रशोधित भन्दै बेचिन्छ । बजारमा एक जार पानीको ६० रुपैयाँदेखि सय रुपैयाँसम्म पर्छ । यस्तै, मिनिरल वाटरको ठाउँअनुसार २० रुपैयाँदेखि डेढ सय रुपैयाँसम्म असुलिन्छ । बाहिर घुमफिर गर्न निस्किँदा मानिसहरू मिनिरल वाटर किनेर पिउँछन् ।  यति महँगोमा पानी किने पनि गुणस्तरहीन हुन्छ । त्यही पानी पिउँदा कतिपयलाई झाडा पखाला, हैजासम्म हुने गर्छ । काठमाडौंमा खानेपानीको अभाव छ । घरघरमा जारका पानीको प्रयोग गरिन्छ । जारको पानी प्रशोधित भनिए पनि त्यसमा केमिकल मिसाएर मात्र सफा र राम्रो देखाउने गरिएको छ । अनि त्यही पानीले मानिसहरूलाई रोगी बनाइरहेको छ ।  पछिल्लो समय काठमाडौं महानगरपालिकाकै अनुगमन र परीक्षणबाट जार र बोतलका पानी गुणस्तरहीन भेटिएको छ । जारका पानीमा अखाद्य वस्तु पाइएको छ । जसले मानिसलाई रोगी बनाउने काम गरिरहेको छ । यता, होटल, रेस्टुरेन्टु, मिठाई पसलहरू बाहिरबाट देख्दा निकै आकर्षित देखिन्छन् । तर, त्यहाँ गएर खाएकै खानेकुराले पनि रोग फैलाइरहेको छ ।  होटल, रेस्टुरेन्ट, मिठाई पसलहरूमा बाहिर ताजा र राम्रो खानेकुरा देखाइन्छ । अनि अर्डर गर्दा वा खान जाँदा चाँहि पाँच दिनदेखि महिनौंसम्मको बासी दिइन्छ । बाहिर भएकै दिएको होला भनेर ग्राहकले खानेकुरा त खान्छन् । त्यो खाएपछि उनीहरू अस्पताल भर्ना हुनुपरेको छ । हुन त यहाँ मानिस आफैंंले आफू र अरुलाई समेत रोगी बनाइरहेका छन् ।  मानिसहरू कोही भोको भएमा एक पोका बिस्कुट किनेर दिँदैनन् । तर, चुरोट, रक्सी खान र खुवाउन चाँहि उनीहरू सक्छन् । पछिल्लो समय नेपालीहरूमा विशेषगरी तीनवटा रोग देखिएको छ । पहिलो क्यान्सर, दोस्रो मिर्गौला र तेस्रो कलेजो, मुटु तथा फोक्सो पीडित । गाउँदेखि शहरसम्म यी रोगी भेटिन्छन् । अस्पतालमा यो रोगका बिरामीको चाप थेगिनसक्नु छ ।  हामीले पिइरहेको पानीदेखि कोक, फन्टा, जुसलगायतमा केमिकल मिसाइएको छ । हरेक खानेकुरामा केमिकल मिसाइएको छ । मिठाई देख्दा मुखबाट पानी निस्किन्छ । तर, त्यही मिठाईले मानिसलाई मृत्युको मुखसम्म पुर्‍याइरहेको छ । किनकि मिठाईमा विभिन्न अखाद्य रंगहरू प्रयोग गरिएको हुन्छ । यतिसम्म होइन, यहाँ त दूध, दहीसमेत नक्कली पाइन्छ । पाउडरको दूध बनाइन्छ । दहीलाई राम्रो बनाउन केमिकल मिसाइन्छ ।  शिल प्याक मदिरामा पनि केमिकल मिसाइएको हुन्छ । घरेलु मदिरा त देशी मल, भैंसीको हड्डी, पुरानो कपडा तथा जुत्ता, सख्खरलगायतको बनाइन्छ । यो मदिरा पिएपछि कलेजो, फोक्सो, मिर्गौला सजिलै सिद्धिन्छ । चुरोट, खैनी, गुट्खाजस्ता सूर्तीजन्य पदार्थले पनि मानव शरीरको निकै महत्वपूर्ण र संवेदनशील अंगलाई गम्भीर असर पुर्‍याउँछ । यसको असर शुरुमै नदेखिए पनि विस्तारै विस्तारै मानिसको ज्यानैसमेत लिन्छ ।  सुपाडी अधिकांशलाई मन पर्छ । धेरैजसो मानिसले सुपाडी चपाउँछन् । तर, सुपाडीले मानिसको स्वास्थ्यसँगै दाँतमा समेत असर पुर्‍याउँछ । सुपाडी खाने मानिसको चाँडै दाँत सिद्धिन्छ । दाँत दुखेपछि मानिसहरू डेण्टल पुग्छन् । त्यहाँ मानिसको स्वास्थ्यमा कमाऊ धन्दा चलाइन्छ । सामान्य सफा गरेर पुग्ने दाँतलाई समेत कामै नलाग्ने भएको भन्दै निकाल्न लगाइन्छ ।  किनकि नयाँ दाँत हालेपछि डेण्टललाई फाइल हुन्छ । एउटै नक्कली दाँत पाँच हजारदेखि दुई लाख रुपैयाँसम्म पर्छ । जति महँगो, उत्तिकै राम्रो भन्दै प्रसार गरिन्छ । बिरामीले पनि होला त भनेर लाखौं खर्चिएर दाँत हाल्छन् । तर, दाँत हालेकै केही दिनमा निस्किन्छ भने त्यो दाँत हाल्दा र निकाल्दा अरु दाँतमा समेत असर पुग्छ ।  नहलिएको दाँत भने हलिन्छ भने पहिले निकालेको दाँत सफाई गर्दा अरु दाँतको आधा भाग नै सकिएको हुन्छ । जसले गर्दा पहिला एउटा दाँतमा मात्र समस्या थियो भने डेण्टल पुगेपछि अधिकांश दाँत उपचार गर्नुपर्ने अवस्था आउँछ । पछिल्लो समय ट्याटु खोप्ने बढ्दो छन् । भर्खरका युवायुवतीले शरीरभरि ट्याटु खोपेका छन् ।  ट्याटु खोपेपछि विदेश जान र सरकारी जागिर खान त पाइँदैन नै सँगै क्यान्सरसमेत निम्त्याउँछ । ट्याटु खोपेका अधिकांशमा क्यान्सर देखिन थालेको छ । यो मात्र होइन, कपाल राम्रो देखाउन अनेक रंग हालिन्छ । त्यसले पनि मानिसको स्वास्थ्यमाथि असर पुगिरहेको छ । रंगमा केमिकल मिसाइएको छ । जसले क्यान्सर निम्तिन्छ । महिला तथा युवतीहरु राम्री बन्न विभिन्न महँगा किरिमको प्रयोग गर्छन् । मुखमा भएका दाग तथा डण्डीफोर मेसिनको प्रयोग गरेर हटाइन्छ । यसरी बाहिरी रुपमा त राम्री देखिन्छ । तर, भित्रभित्रै त्यसले निम्त्याएको रोगले मानिसको ज्यानैसमेत जान्छ । पछिल्लो समय बजारमा आयुर्वेद पसलहरू छ्यापछ्याप्ती भेटिन्छन् ।  तर, आयुर्वेद व्यापारीहरूले आफ्नो फाइदाका समेत रोग नलागेको व्यक्तिलाई समेत रोग लागेको भन्दै आफ्नो औषधी खुवाएर रोगी बनाउने गरेका छन् । अस्पतालमा पनि केही समययता यस्तै ठगीधन्दा मौलाएको छ । कतिपय अस्पतालले चेकजाँच गर्न आएका व्यक्तिलाई रोग नै नभएपनि विभिन्न रोग रहेको बताएर आफ्नो औषधी बेच्छन् ।  अनि त्यो रोगी खाएपनि निरोगीसमेत रोगी बन्न पुग्छन् । आयुर्वेद र अस्पतालले त ठग्यो नै सँगै माता, धामी झाँक्रीका नाममा ठग्ने क्रम अझै रोकिएको छैन । अन्धविश्वासमा परेर मानिसहरु बिरामी हुँदा माता कहाँ पुग्छन् । त्यहाँ पुनेहरुले आफ्नो धनसम्पत्ति उपचार गर्दागर्दै वा मातालाई दिएरै सिध्याउँछन् ।  व्यापारीहरूले आफ्नो फाइदाका निम्ति जनतालाई रोगी बनाए । जनता पनि सचेत भएनन् । हामी जन्मिँदा निरोगी हुन्छौं । तर, बाहिरको खानेकुरा खाएसँगै रोग लाग्छ । शुरुमा सामान्य रोग लागेको हुन्छ । तर, भनिन्छ नि रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम हो । हामी रोग लागेपछि उपचार गर्न जान्छौं । डाक्टर सही परेमा र आफ्नो स्वास्थ्यलाई गम्भीर रुपमा लिएमा उपचारपछि ठिक हुन सकिन्छ ।  तर, डाक्टर गलत भएमा र बाहिरका खानेकुरा खान नछोडेमा त्यो व्यक्ति बच्न सक्दैन । यसैले, मानिसले आफ्नो स्वास्थ्यको आफैं ध्यान राख्नुपर्छ । सरकारले पनि जनतालाई सचेत गराइदिनुपर्यो । मदिरा, सूर्तीजन्य पदार्थ बेचबिखनमा रोक लगाउनुपर्छ । साथै, अभिभावकहरूले पनि आफ्ना छोराछोरीलाई बाहिरी खानेकुरा खान दिनुहुन्न । 
विद्यालयमा शिक्षक शिक्षिकाले विद्यार्थीलाई बाहिरका खानेकुरा खानबाट रोक्नुपर्छ । अहिले त विद्यालयकै बाहिर चट्पटे, पानीपुरी बेच्न राखिएको हुन्छ । त्यो खाएर अधिकांश विद्यार्थी बिरामी भएका छन् । किनकि पानीपुरीको झोल अखाद्य पानी वा पिसाबबाट समेत बनाइने गरेको छ । पहिला पहिला मानिस गरिब हुन्थे ।  च्यातिएको कपडा लगाउँथे । अहिले ठ्याक्कै उल्टो छ । अहिले बाहिरबाट मानिस राम्रो र धनी देखिन्छन् । तर, भित्र रोग नै रोग छ । अनि मानिस जतिसुकै शिक्षित भएर के गर्नु, जब उसले आफ्नै ज्यानको समेत ख्याल गर्न सक्दैन । 

 

प्रकाशित मिति: आइतबार, असार १, २०८२  ०९:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार