लकडाउनमा हजार मिटरभन्दा टाढा गए कारवाही 

परदेशका नेपालीको कोरोना अनुभव
शनिबार, पुस ११, २०७७

१३ वर्ष अघि इजरायल आएकी म एक सय २ वर्षकी आमालाई केयर गिभरको रूपमा हेरचाह गरिरहेको छु । यहाँ मेरो २४ घण्टाकै ड्युटी हुन्छ । आमा अल्जाइमर रोगबाट पीडित हुनुहुन्छ, त्यसैले उहाँलाई कुरा नबुझ्ने साना केटाकेटीलाई जस्तै गरी स्याहार गर्नुपर्छ । खुवाउने, दिसा पिसाबको व्यवस्थापन, मधुमेह, रक्तचाप परीक्षणलगायत सबै काम समय तालिकामा गर्नुपर्छ । अरू बेलामा पनि बाहिर निस्कन घुम्न त्यति फुर्सद् हुँदैन थियो । त्यसैले लकडाउनले मेरो व्यक्तिगत जीवनमा खासै फरक पारेको छैन । नर्सिङ स्टेसनको नर्सले जस्तै गरी आमाको हेरचाह गर्छु । वृद्धवृद्धालाई कोरोना भाइरसको संक्रमण छिटो हुन सक्ने भएकाले म बाहिर निस्केको छैन । आमाका ‘छोराछोरी’ पनि आउनु भएको छैन । संक्रमण भित्रन सक्ने खतराका कारण यस्तो गरेका हौं । यो हामीले आमाको सुरक्षाका लागि अपनाएको सतर्ककता हो । आवश्यक पर्ने सामानहरू आनलाइनमार्फत् आमाका छोराछोरी (इम्प्लोयर) ले मगाई दिनुहुन्छ, त्यसैले बाहिर जानु आवश्यक छैन मलाई । यहाँका वृद्धाश्रमहरूले पनि केयर गिभरको रूपमा नयाँ मान्छेलाई नियुक्त गरेको छैन । आफन्त वा छोराछोरीलाई पनि केही समय भेट्न नदिने नियम बनाएका छन् । इजरायल सरकारले वृद्धवृद्धाका लागि राम्रो व्यवस्था गरेको छ । बुढेसकालमा अपहेलित भएर बस्नु पर्दैन । छोराछोरीलाई जिम्मेवार बनाएको छ, सरकारले । कामका कारण देशमा नबसेका, फुर्सद् नभएका छोराछोरीले केयर गिभर राखेर स्याहार सुसार गर्नुपर्ने नियम छ । 

 अघिल्लो लकडाउनका बेला सुनसान बनेको सडक । 

तेस्रो चरणको पुनः लकडाउन 
कोरोना भाइरसको महामारी थप फैलिन नदिन इजरायलमा तेस्रो चरणको पूर्ण लकडाउन भोलि देखि सुरु हुँदैछ । आइतबार साँझ ५ बजेदेखि सुरु हुने लकडाउन देशव्यापी हुनेछ । प्रधानमन्त्रीको कार्यालय र स्वास्थ्य मन्त्रालयद्वारा जारी संयुक्त वक्तव्यमा अहिले दुई साताका लागि तय गरिएको लकडाउन आवश्यकता अनुसार लम्ब्याउन सकिने उल्लेख छ । इजरायलमा दैनिक चार हजारभन्दा बढी नयाँ संक्रमित थपिने गरेका छन् । दैनिक संक्रमितको संख्या एक हजारभन्दा तल नझर्दासम्म लकडाउन नहटाउने बताइएको छ । 
लकडाउनअन्तर्गत घरदेखि एक हजार मिटरभन्दा टाढा जान पाइने छैन । एक ठाउँबाट अर्को ठाउँमा गएर बस्न पनि प्रतिवन्ध लगाइएको छ । सवै व्यवसायिक तथा व्यापारिक कार्यालयहरू बन्द गरिने भएपनि अत्यावश्यक सेवाका कार्यालय खुल्नेछन् । घरबाटै काम गर्न आग्रह गरिएको छ । सार्वजनिक स्थलमा भिडभाड गर्न पाइने छैन । सार्वजनिक सवारी साधनहरूमा आधा मात्रै यात्रु राख्न पाइने व्यवस्था गरिएको छ । सधैं लकडाउनले मात्रै हुँदैन, सुरक्षा सतर्कताका उपायहरु अपनाउँदै लकडाउन खुलाउनु पर्छ भन्ने भएपछि यसअघिको लकडाउन खुलाइएको थियो । तर क्रिसमस तथा नया वर्षका कार्यक्रममा भीड भाड भइ कोरोना संक्रमणको दर उच्च हुन सक्ने आकलन गरी लकडाउन गरिएको हो ।
सरकारले नागरिकलाई घरबाट बाहिर निस्कँदा मोवाइल बोक्न अनिवार्य गरेको छ । मोवाइल अनिवार्य गर्नुको कारण व्यक्तिको ‘मोबिलिटी’ ट्रयाकिङ गर्न सजिलो होस् भन्ने रहेछ । यसअघिको लकडाउनमा मास्क नलगाई हिँड्नेलाई इजरायल सरकारले जरिवाना गरेको थियो । 
यसअघि गरिएका लकडाउनका बेला यहाँ धेरै अप्ठ्यारो भएको थिएन् । तैपनि अप्ठ्यारोमा कोही नेपाली हुनुहन्छ कि भनेर बुझेँ । भेटिन । त्यसैले व्यक्तिगत रूपमा साइप्रसमा सहयोग गरेँ । मेरो घर बुटबल रूपन्देही हो । त्यहाँको देवदह नगरपालिकालाई सहयोग गरेँ । सबैतिर गरेर एक महिनाको तलब सहयोगमा खर्चिएँ । इजरायलमा कोरोना भाइरसविरुद्ध खोप लगाउन सुरु भए पछि सबैभन्दा खुसी लागेको छ । चरणबद्ध रुपमा लगाउनु पर्ने रहेछ यो खोप । 

केयर गिभिङमा तीन प्रकारका भिसा
केयर गिभर राख्न यहाँको सरकारले आफ्ना अशक्त नागरिकलाई तीन किसिमको भिसा दिन्छ । सरकारी भिसा, प्राइभेट भिसा र स्पेशल भिसा । मेरो सरकारी भिसा हो । केयर टेकर राख्न पाउने नियम अनुसार सरकारी भिसा दिइएको हो । सेनामा हुँदा मृत्यु भएकाको आमाबाबुको हेरचाहका लागि सरकारले प्राइभेट भिसा दिने गर्छ । एक ठाउँमा काम गरिरहेकालाई अर्को ठाउँमा काम गर्न पर्दा सरकारले दिने भिसा स्पेशल भिसा हो । सत्तरी वर्ष माथिका बिरामी वृद्धवृद्धा हेरचाहका लागि सरकारले भिसा दिने नियम बनाएको छ । 
सैनिकहरूको हकमा भने बिरामी नभए पनि सत्तरी वर्ष पुगेपछि उनीहरुको हेरचाहका लागि भिसा दिइन्छ । इजरायल सरकारले केयर गिभरलाई राम्रो सुविधा दिएको छ ।  साताको दुई दिन (शुक्रबार–शनिबार) छट्टी हुन्छ । यीदुई दिनको पकेट मनी ३० डलर दिन्छन् इम्प्लोयरले । शुक्रबार र शनिबार छोरा–छोरी पनि आउन नसक्ने, आमाबाबु पनि छोरा छोरीकोमा जान नसक्ने अवस्थामा ओभर टाइम्म दिइन्छ । 
यो घरमा केयर गिभरको काम गर्नुभन्दा अघि मैले अर्को आमाको स्याहार गरेको थिएँ । उहाँ क्यान्सरबाट बित्नुभयो । त्यसपछि यहाँ काम थालेको हुँ । मेरो स्वभावले पनि होला, यहाँ मलाई सबैले राम्रो मान्नु हुन्छ । म फरासिली छु रे सबैले यस्तै भन्नु हुन्छ । एक वारको जिन्दगीमा के रिसाउनु नि फेरि । हाँसी खुसी व्यवहार गरिदिन्छु । विश्वास दिलाएकी छु । विश्वास सबैभन्दा ठूलो कुरा रहेछ, एकपटक विश्वास गुमायो भने फिर्ता ल्याउन सकिँदैन । यसप्रति म सचेत छु । आमाको स्याहार–सुसार, रेखदेख राम्रोसँग गर्छु । 
आमाका नौजना छोराछोरी  हुनुहुन्छ । एक जनाको केही समयअघि निधन भयो । एकजना अमेरिकामा हुनुहुन्छ । असी वर्षको एकजना छोरा घर निर्माणको काम गर्नुहुन्छ । असी वर्ष हुँदा पनि उहाँ तन्दुरुस्त हुनुहुन्छ । कसैको व्यवसाय छ । कोही सरकारी सेवाबाट निवृत्त हुनुहुन्छ । सबले मलाई ‘कान्छी बहिनी’ भन्नु हुन्छ । मलाई यो घर नेपालकै आफ्नै घर जस्तै लाग्छ । म इजरायल आउँदा भाषा नसिकी आएँ । तर, भाषा सिकेर आउनु पथ्र्यो । व्यक्तिको माध्यमबाट आएकाले ती सबै कुरा थाहै भएन । हिब्रु भाषामा नमस्तेलाई ‘सलोम’ भन्दा रहेछन्, मलाई त्यत्ति पनि भन्न आउँदैन थियो । आएको एक महिनामै चाहिने जति भाषा सिँके । आमाका छोराछोरी जसले मलाई कान्छी बहिनी भन्नुहुन्छ उहाँहरूले मलाई भाषा सिक्न मद्दत गर्नुभयो । आमालाई म नभई हुँदैन । एकहाते भन्छन् नी, हो त्यस्तै हुनु भएको छ । म नहुँदा पानी, खाना केही खानुहुन्न । दुई वर्षअघि म चालिस दिन छुट्टी लिएर नेपाल गएको थिएँ, त्यति बेला चिकित्सकले उहाँलाई स्लाइन लगाउनु परेछ । कमजोर भएर त्यस्तो गर्नु परेको रे । 

उषाको इजरायल यात्रा
जतिबेला उषा भुषाल सुवेदीको इजरायलका लागि भिसा लाग्यो, त्यति बेला उनको सपना ठूलो थिएन । विदेश जाँदा खर्च भएको दुई लाख ऋण तिर्ने र पाँचलाख रुपैयाँ जति कमाउने । सात लाख जति कमाउने सानो सपना बोकेर उनी इजरायल छिरेकी थिइन् । १२ वर्षकी जेठी छोरीलाई दुईवटा बहिनी जिम्मा लगाएर उषा इजरायल लागेकी हुन् । 
उनको त्यो सानो सपना झाँगिदै गयो । जति बेला उनले रोजगारका लागि विदेश जाने निर्णय गरेकी थिइन्, त्यसबेला नेपालमा माओवादी द्वन्द्व उत्कर्षमा पुगेको थियो । उनका श्रीमान् नेपाल प्रहरीमा सइ थिए । द्वन्द्व चर्किएका बेला प्रहरीको जागिर खाइ रहनु उपयुक्त लागेन, त्यसैले उषा दम्पत्तिले प्रहरीको जागिर छाड्ने निश्चय गरे । जागिर छाडेपछि साधारण व्यवसायमा हातहाले । व्यवसाय पनि भने जस्तो भएन । दुबैले वैदेशिक रोजगारमा जाने निधो गरे । उषाको भिसा लागेकै दिन उनका श्रीमान्को पनि दुबईको भिसा लाग्यो । दुबैले निर्णय बदलेनन् । दुबै विदेश यात्रामा निस्किए । उषा आफ्नो बारेमा भन्छिन्, ‘म संर्घष शील नारी हुँ ।’
उषा भारतको मेघालय चेराबन्दीमा जन्मिएकी हुन् । उनी जन्मँदा उनको बाबाको भारतमै जागिर थियो । भारतमा जन्मिए पनि नवलपरासीमा आएर अध्ययन गरिन् । मामा र काका नवलपरासी भएकाले त्यो संभव भएको थियो । तराईमा हुर्किएकी उनको विवाह स्याङजामा भयो । तराईमा हुर्केकी उषालाई पहाडमा घरधन्दा गर्न निकै गाह्रो भयो । पहाडको जनजीवन तराईको भन्दा नौलो थियो । उनको हिम्मत र सहयोगी सासू ससुराका कारणले ती सबै अप्ठ्याराहरु सजिला भए । उषाका सासू ससुराले उनलाई छोरीलाई जस्तै व्यवहार गर्थे । उनी भन्छिन्, ‘विवाहपछि मेरो जीवनको संघर्ष सुरु भयो ।’ पहाड जाँदा नौलो र फरक लाग्यो । सासु ससुरा एकदमै नरम हुनुहुन्थ्यो । छोरीकै व्यवहार पाएँ । उषाका श्रीमान नेपाल प्रहरीमा जागिरे थिए । श्रीमान्को जागिर छुटेपछि फरक प्रकृतिको संघर्षमा होमिइन् उनी ।  विदेश जाने सोचमा उषा थिइनन् । ‘नेपालमा पाँचहजार मात्रै कमाउने अवस्था भएको भए म विदेश आउँदिन थिएँ, उनले त्यति बेलाका दिन सम्झिइन् । विदेशआउने त्यो निर्णयले उनलाई  धेरै कुरा दिएको छ, तीमध्येको एक हो, खुसी । त्यसैले उनी इजरायलाई कर्मभूमि मात्रै होइन, देवभूमि समेत भन्न चाहन्छिन् । आफ्नो जीवन र परिवारलाई फरक स्तरमा पु¥याउन संभव बनाइदियो इजरायलले । सानैदेखि सकारात्मक सोच राख्ने उषालाई ज्येष्ठ नागरिकको सेवा गर्दा खसी मिल्थ्यो । खुसी दिने त्यही क्षेत्रमा उनी रमाइरहेकी छिन् । 
 

प्रकाशित मिति: शनिबार, पुस ११, २०७७  १८:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार