प्रदीप खनाललाई ‘प्रतीक ढकाल कीर्तिमान यात्राबर सम्मान २०८२’ प्रदान

बुधबार, जेठ १४, २०८२

काठमाडौं । नेपालका शान्तिमैत्री अभियानकर्मी प्रदीप खनाल सम्मानित भएका छन् । राजधानीमा मंगलबार आयोजित एक समारोहकाबीच खनाललाई सम्मान गरिएको हो । पर्वत्य साहित्य समाज नेपालले ‘प्रतिक ढकाल कीर्तिमान यात्राबर सम्मान-२०८२’ बाट खनाललाई समान गरेको हो । उक्त सम्मानको पहिलो संस्करण ‘आध्यात्मिक यात्रा, अन्तधार्मिक सहकार्य तथा सांस्कृतिक सम्पदाको संरक्षणमा समर्पित’ खनाललाई दिइएको हो । पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ। खनाललाई यो सम्मान हिन्दु, बौद्ध, सिखलगायत धर्महरूको पवित्र तीर्थहरूको दर्शन, साधन र सनातन मूल्यको प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदरस्वरुप प्रदान गरिएको आयोजकले जनाएको छ। उक्त अवसरमा दार्जिलिङका प्रख्यात यात्रा साहित्यकार सालोन कार्थकलाई ‘प्रतीक ढकाल नियात्रा सौरभ पुरस्कार’ को सातौं संस्करण प्रदान गरिएको थियो । उक्त पुरस्कारको राशी ५५ हजार रुपैयाँ रहेको थियो । समारोहका प्रमुख अतिथि वरिष्ठ साहित्यकार घनश्याम राजकर्णिकार थिए भने कार्यक्रमको अध्यक्षता प्रतीक ढकालले गरेका थिए । साथै, त्रिभुवन विश्वविद्यालयका पूर्वनेपाली विभाग प्रमुख प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेल विशेष अतिथि थिए। कार्यक्रममा नेपाल र भारतका वरिष्ठ साहित्यिक, सांस्कृतिक एवम् सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । ‘यो सम्मान प्रदीप खनालको लागि मात्र नभई समग्र समाजको अध्यात्मिक चेतना, सहअस्तित्व र सांस्कृतिक पुनर्जागरणप्रतिको साझा अभियानको प्रेरणास्वरूप स्थापित हो,’ संस्थाका अध्यक्ष ढकालले भने । खनालले वि.सं. २०८० असारदेखि २०८१ असारसम्म गरी भारत, महाराष्ट्र, सिरडीकी विनिता लेप्चा र मध्यप्रदेश, इन्दौरका मङ्गेश भागवतका साथ नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का र तिब्बत, चीनका चार धाम, चार आदिशक्तिपीठ, १८ महाशक्तिपीठ, ५२ शक्तिपीठ १०८ सिद्धपीठ, सप्तपुरी, शिखधर्मका ११ गुरुद्वारा र बौद्धधर्मका १३ तीर्थस्थल भ्रमण, दर्शन, पूजापाठ गरेका थिए । साथै उनले तिब्बतको कैलाश मानसरोवरदेखि  भारतका तामिलनाडुका तीन सागरको सङ्गमस्थल कन्याकुमारी), अरुणाचलको परशुराम कुण्ड तथा पाकिस्तान, बलुचिस्तानस्थित हिङ्गलाज माता मन्दिरको अनिल कुण्डलगायत २३ कुण्ड, तलाउ, नदी र नदीका मुहानमा डुबुल्की पनि लगाएका थिए ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  ०९:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार