गुह्येश्वरीमा पार्क र खुला व्यायामशाला शुभारम्भ

सोमबार, जेठ १२, २०८२
Global Ime Bank

काठमाडौँ । ‘स्थानीयले चाहना गरे अनुसारका वडा कार्यालयले पार्क बनाउने, खुला व्यायामशाला बनाउने दायित्व पूरा गर्छ । यसको संरक्षण, दिगो उपयोग र सरसफाइको दायित्व स्थानीयले पूरा गर्नुपर्छ ।’ काठमाडौँ महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष आशामान संगत भन्छन्, ‘पार्कलाई अवाञ्छित क्रियाकलाप स्थल हुनबाट रोक्नुपर्छ । यो स्थानीयबासीको सक्रियताबाट मात्र सम्भव हुन्छ ।’ आज गुह्येश्वरीमा नवनिर्मित सार्वजनिक पार्क र खुला व्यायामशालाको शुभारम्भ गर्दै उनले यस्तो धारणा राखेका हुन् । ‘वडाबासीका अपेक्षा हामीले बुझेका छौँ । पूर्वाधार निर्माणमा सडक, खानेपानीको आपूर्ति, ढल निकास जस्ता पक्षमा धेरै आशा छ ।’ स्थानीयबासीले गरेका अपेक्षामा सांस्कृतिक ऐतिहासिक स्थानको संरक्षण, सम्बर्धन र प्रवर्धन, सामाजिक कार्यक्रम, उद्यमशीलताबाट स्थानीय आय वृद्धि हुने क्रियाकलाप सञ्चालन गरिरहेका छौँ ।’ उनले भने, ‘हामीले जसका लागि निर्माणको काम गरेका छौँ । उहाँहरुबाट अपनत्वको अपेक्षा गरेका छौँ ।’पार्क निर्माण भएपछि स्थानीयबासीलाई विहान वेलुका खुला ठाउँमा आएर थकान मेट्ने ठाउँ उपलब्ध भएको बताउँदै वडा सदस्य सलोनी ओडारीले यस्ता ठाउँले निरोगी र शान्त रहन मद्दत गर्ने बताए । पार्क ८४४.८५ वर्गमिटर (करिब १ रोपनी १० आना) क्षेत्रफलमा निर्माण भएको हो । पार्कको वरिपरि पर्खाल लगाइएको छ । भित्र हिँड्नका लागि ब्लक ओछ्याइएको छ । खाली ठाउँमा दुवो रोपिएको छ । खुला व्यायामका लागि सिङ्गल रोअर, सेट अप बोर्ड, एड्बोमिनल फिटनेस, एअर वकर, आउटडोर साइकल, डवल क्रस वकर, थाइ ची स्पिनर, हर्स राइडरसहित १२ प्रकारका सामान राखिएका छन् । पार्क निर्माण र खुला व्यायाशालाका सामान जडान गर्दा करिब २९ लाख ४५ हजार रुपैयाँ लागत लागेको छ । २०८१ वैशाख १ गते सम्झौता भएर पार्क निर्माणको काम थालिएको थियो । यसको म्याद त्यसै वर्षको असार १५ गतेसम्म थियो । त्यसपछि खुला व्यायामशालाका सामान जडान गरेर शुभारम्भ गरिएको हो । वडाले तिलगंगा, पिङ्गलास्थान, जयबागेश्वरी, गुह्येश्वरी मन्दिर अगाडि र आज शुभारम्भ गरिएको स्थान गरी ५ ठाउँमा पार्क बनाएर खुला व्यायामशाला स्थापना गरेको छ । 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  ०९:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार