सरकारका प्रवक्ताको प्रतिप्रश्न : कर्मचारी पक्राउ पर्दा गृहमन्त्रीले राजीनामा दिनुपर्छ र ?

आइतबार, जेठ ११, २०८२

काठमाडौं । सञ्चार, सूचना एवं प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एक कर्मचारी पक्राउ हुँदैमा गृहमन्त्री रमेश लेखेकले राजीनामा दिनु नपर्ने बताएका छन् । आइतबार भद्रकालीमा आयोजित फोटो प्रदर्शनी कार्यक्रममा सहभागी हुन जाने क्रममा उनले यस्तो बताएका हुन् । सरकारका प्रवक्ता समेत रहेका गुरुङले सुरुमा छानबिन हुन दिनु पर्ने बताए । ‘अध्यागमन (इमिग्रेसन) मा जे खालको अनियमितता भयो भनेर छानबिन भएको छ, छानबिन हुन दिनुहोस्,’ उनले भने । गृहमन्त्रीको राजीनामा माग भइरहेको सन्दर्भमा सञ्चारकर्मीले सोधेको प्रश्नमा गुरुङले प्रतिप्रश्न गरे, ‘एउटा तीर्थ भट्टराई पक्राउ पर्छ, गृहमन्त्रीले राजीनामा दिनुपर्ने भन्ने हुन्छ र ?’ साथै उनले कुरा र भाषणले मात्र समृद्धि नआउने भएकाले अब कम बोल्ने धेरै काम गर्ने संस्कृतिको थालनी गर्नुपर्ने बताए । ‘हामीले कम बोल्ने र धेरै काम गर्ने संस्कृति थालनी गर्नुपर्छ,’ उनले भने । थोरै लगानीमा धेरै उपलब्धि हासिल गर्न सकिने क्षेत्र पर्यटन हो । मन्त्री गुरुङले पर्यटन देशको समृद्धिका लागि महत्त्वपूर्ण क्षेत्र रहेको बताउँदै इमानदार भएर यसको प्रवर्द्धनमा काम गर्न समेत आग्रह गरे । उनले राष्ट्रिय समाचार समितिले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको फोटो प्रदर्शनीले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १६:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार