सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफ्नोविरुद्ध नियोजित रूपमा झुट्टा प्रचारबाजी भइरहेको आरोप लगाउँदै ती आरोपहरूको खण्डन गरेका छन् । शनिबार प्रेस ब्रिफिङ गर्दै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन सम्बन्धी भिजिट भिसाको विषयलाई लिएर गरिएको आलोचना आधारहीन रहेको दाबी गरे । उनले भने, ‘मेरा विरुद्धमा नियोजित र षडयन्त्रमुलक ढंगबाट झुट्टा प्रचारबाजी भैइरहेको छ । म सबैलाई के आग्रह गर्न चाहन्छु भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अधयागमनको भिजिट भिसाको विषय मात्रै होइन मेरो सार्वजनिक जिवनमा, मेरो राजनीतिक जिवनमा, यदी एउटा मात्रै पनि मैले आर्थिक अनियमितता गरेको प्रमाणित कसैले गर्यो भने, प्रमाणित भयो भने म पदबाट होइन म राजनीतिबाट राजीनामा दिन्छु । अब यो बारेमा विस्तृत कुरा १३ गते प्रतिनिधिसभामा बोल्ने छु ।’ लेखकले आगामी जेठ १३ गते प्रतिनिधिसभामा उपस्थित भएर उक्त विषयमा विस्तृत धारणा राख्ने जानकारी दिए । उनले यथार्थ तथ्य सार्वजनिक गरिने बताउँदै अनावश्यक भ्रममा नपर्न आग्रह समेत गरे । 'भिजिट भिसाबारे धेरै बुझिसकेको छु, चाँडै प्रष्ट पार्नेछु' यसअघि गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेका बेला मन्त्रालयले तुरुन्तै विज्ञप्ति निकाल्ने र त्यसपछि आफू पनि सार्वजनिक रूपमा बोल्ने बताएका थिए । शनिबार धनुषास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा कार्यकर्तासँगको छलफलका क्रममा गृहमन्त्री लेखकले यसबारे पहिलो पटक आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले भने, ‘केही दिनदेखि भिजिट भिसासँग जोडेर मेरो बारेमा सामाजिक सञ्जालमा लेख्ने काम भइरहेको छ । दुई–तीन दिन किन चुप लागेर बसेको थिएँ । यो कहाँबाट, कसरी र किन भइरहेछ भन्ने बुझ्दै थिएँ । अब यसबारे धेरै कुरा थाहा पाइसकेको छु ।’ आजै काठमाडौँ गइसकेपछि मेरो मन्त्रालयले विज्ञप्ति निकाल्छ र दुईरचार दिनमा आफैँ पनि केही कुरा बोल्छु । अनि देशभरका साथीहरूलाई प्रष्ट हुन्छ । त्यसो हुनाले त्यतातिर अहिले धेरै बोल्दिनँ ।’ साथै उनले आफूले जीवनभरी पार्टीको टाउको निहुरिने काम नगर्ने बताए । उनले यस्ता विषयहरुमा कसैले पनि टाउको नदुखाउन आग्रह गरे । गृहमन्त्री लेखकको नाम भिजिट भिसा प्रकरणमा जोडिएपछि उनको आलोचना भइरहेको छ । मन्त्री लेखकको सचिवालयमा कार्यरत एक व्यक्तिमाथि फर्जी कागजात प्रयोग गरी भिजिट भिसामा मानव तस्करीको सेटिङ गरेको गम्भीर आरोप लागेको छ । ७ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख एवं गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएसँगै भिजिट भिसाको नाममा ‘अघोषित मानव तस्करी’ भइरहेको खुलासा भएको थियो । अख्तियारको अनुसन्धानले गृहमन्त्री लेखकका निजी सचिवालयका कर्मचारीहरूसँग भट्टराइको नियमित सम्पर्क देखाएकाले यसमा गृहमन्त्री समेत संलग्न हुनसक्ने टिप्पणी भइरहेको छ ।