सोसल मिडिया
Contact Us
युनिकोड
मालिका पार्क (गुल्मी) । ललितपुर महानगरपालिकासँग भगिनी सम्बन्ध कायम गरेको गुल्मी जिल्लाको मालिका गाउँपालिकाले आफ्नो गाउँपालिकामा रहेको मालिका मन्दिर निर्माण सम्पन्न गरेको छ । ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा मालिका पार्कमा निर्माण भएको उक्त मन्दिरको महानगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरे । मन्दिर उद्घाटनसहित दुई पालिकाबीच भएका असल अभ्यासहरूबारे छलफल गर्न गुल्मी आएका उनले दुर दराजमा रहेको मालिका गाउँपालिकामा ललितपुरको संस्कृति र कला झल्कने मन्दिर निर्माण गर्न पाउँदा खुशी लागेको बताए । उनले भने, ‘यो मन्दिर हाम्रो मित्रताको चिनो हो ।’ नेपालकै जेठो र नाम कहलिएको पालिकाले विकासको अघि सर्दै गरेको पालिकालाई सहयोग गर्नु दायित्व र कतव्र्य भएको महर्जनले बताए । महानगरले भगिनी सम्बन्ध कायम भएका पालिकाहरुलाई ललितपुरको जस्तै कला, संस्कृति झल्कने सम्पदा निर्माण, खुल्ला ठाउँ संरक्षण र पार्क निर्माणको लागि आयोजनाहरु मार्फत सहयोग गर्दै आएको छ ।
मालिका गाउँपालिकाको हरियाली र स्वच्छ हावाबाट आफू प्रभावित भएको बताउँदै भगवानको वरदान पाएर गुल्मीको सुन्दर भएको महानगर प्रमुखले टिप्पणी गरे । मालिका गाउँपालिकका अध्यक्ष देवीराम अर्यालले महानगर र मालिका गाउँपालिकाको साझेदारीमा उक्त मन्दिर निर्माण गरिएको जानकारी दिए । महानगरले मन्दिर निर्माणको लागि ७० लाख उपलब्ध गराएको थियो । गाउँपालिका अध्यक्षले भने, ‘पालिकाले २० प्रतिशत रकम थपेर मन्दिर सहित वरिपरिको संरचना निर्माण गर्यौँ ।’ दुरदराजमा रहेको पालिकासँग भगिनी सम्बन्ध कायम गरेर त्यो पालिकाको विकासको ललितपुर महानगरपालिका साझेदार बनेकोमा उनले खुशी व्यक्त गरे । पालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालले ललितपुर महानगरले भगिनी सम्बन्ध कायम गरेर सहयोग गरेकोमा धन्यवाद दिए । मुलुककै समृद्ध पालिका ललितपुर महानगरबाट अबका दिनमा प्राविधिक सल्लाह र सुझावको समेत उनले अपेक्षा गरेको बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले भगिनी सम्बन्धले दुई पालिकाबीचको सम्बन्ध बलियो बनाएको बताए । यसैबीच महानगर प्रमुख चिरीबाबु महर्जनले मालिका गाउँपालिकाको पञ्चवर्षीय गाउँ शिक्षा योजनासम्बन्धमा आयोजना गरिएको छलफल कार्यक्रमको समेत उद्घाटन गरेका थिए ।