सगरमाथा संवादको प्रभावकारितामाथि प्रश्न उठ्यो

बिहीबार, जेठ २, २०८२
मयुर प्लाई

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले भोली(शुक्रबार)बाट सुरू हुने सगरमाथा संवादको प्रभावकारितामा प्रश्न उठेको भन्दै आलोचना गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सम्वादको लागि कुनैपनि देशबाट राष्ट्रप्रमुख, सरकार प्रमुख र विदेशमन्त्रीहरुको सहभागिता नहुने निश्चित् भएकाले यसले कार्यक्रमको गरिमामा प्रश्न उठेको बताएका हुन् । उनले भने, ‘भोलिबाट सगरमाथा संवाद सुरु हुँदैछ, तर संवाद सुरु नहुँदै कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ । विश्वस्तरबाट उच्चस्तरीय सहभागिता हुने भनिएको यस कार्यक्रममा अहिलेसम्म कुनै देशको राष्ट्रप्रमुख वा सरकार प्रमुख वा विदेशमन्त्री कसैको पनि सहभागिता नहुने देखिएको छ । कार्यक्रम मानव जातिको भविष्य सुनिश्चितता, पृथ्वीको भविष्य सुनिश्चितताका लागि र जलवायु परिवर्तनबाट हुने जोखिमबाट न्यूनीकरणको लागि महान उद्देश्यबाट गरिएको हो भने ती सम्बन्धित सरोकारवाला देशलाई पनि यो विषयमा बुझाउन सक्नुपर्दथ्यो । तर आज हामी हेरिरहेका छौं ती देशबाट सहभागिताको सुनिश्चतताको कुरा छैन । समुन्द्रपारीको त कुरा छोडिदिनुहोस, छिमेकी देशका पनि उच्चस्तरको सहभागिता छैन् । न त भारतको उच्चस्तरको सहभागिता देखिन्छ, न त चीनकै देखिन्छ । यतिसम्म कि संयुक्त राष्ट्रसंघका महासचिवको समेत उपस्थिति नहुने भएको छ । तीनसय जना सहभागिता हुने भनिएकोमा अहिले झण्डै १५० जना सहभागिता हुने भन्ने सुनिएको छ । त्यसमा पनि काठमाडौंस्थित नियोगका प्रमुख र दाता निकायका प्रमुहरुको सहभागिताहरुको संख्या जोडेर भनिएकाले कार्यक्रमको औचित्यमाथि गम्भीर प्रश्न उठेको छ ।’ साथै उनले  प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणाको टकराबले गैरआवसीय नेपालीहरुको साझा संस्था एनआरएनए विभाजित गरिएको भन्दै आलोचना गरे । उनले भने,‘एनआरएनएको एउटा समूहलाई प्रधानमन्त्रीले च्यापेर हिँडिरहनुभएको छ, अर्को समूहलाई परराष्ट्रमन्त्रीले च्यापेर हिँड्नुभएको छ । तपाईंहरु कुर्सीमा बस्दा मिलेर बस्ने, मिलेर देशलाई लिड गर्नुभएको छ कि लुट्नुभएको छ, त्यो गर्ने ? तर एनआरएनएलाई तपाईंहरुले दुई चिरा बनाइदिनुभयो । विदेशमा भएका नेपालीहरुलाई विभाजित गरिदिने र उनीहरुलाई दुःखी बनाउने, अनि तपाईंहरु मजाले कुर्सीमा बसेर मजाले एकताबद्ध छौं भनेर देखाइरहने ? यदि तपाइहरुमा मेल छैन भने दुनियाँलाई बताउनुहोस । यदी मेल छ भने एनआरएनए किन फुटाउनुभयो भनेर प्रश्न गर्न चाहन्छु । अभिभावकीय भूमिका हुनुपर्दैन ? जोड्ने हो कि फोड्ने ? ’
 

प्रकाशित मिति: बिहीबार, जेठ २, २०८२  १६:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार